आइतबार, ३ असार २०८१

‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै

समयपोष्ट २०८१ जेठ १० गते २१:१३

Advertisement

कैलालीको मध्य क्षेत्र घोडाघोडी र पहलमानपुर क्षेत्रका किसान ‘आलुचिप्स’ बनाउन उपयुक्त हुने जातको आलु खेती गरेर आम्दानी वृद्धि गर्न थालेका छन् । उत्पादित यो आलु बिक्री गर्न बजारको समस्या नभई उचित मूल्य पनि पाउन थालेपछि किसान यो खेती गरेर आम्दानी वृद्धि गर्न थालेका हुन् । यो जातको आलुको खेतीमा चार हजारभन्दा बढी कृषक संलग्न छन् ।

पहलमानपुरका कृषक शेरबहादुर चौधरीले आफूले पाँच कठ्ठा जग्गामा गरेको आलुखेतीबाट झण्डै २८ क्वीन्टल आलु उत्पादन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक घरपरिवारले कम्तीमा पाँचदेखि बढीमा दुई बिघासम्मको जग्गामा यो जातको आलुखेती गर्ने गरेका छन् । आलु उत्पादन बढ्दा सीमा नाकाबाट भित्रिने आलुको परिमाण घट्दै गएको छ ।”

आलुको चिप्स बनाउन इन्नोभेटर र सजिता जातको आलु उपयुक्त हुने गरेको बताइएको छ । उत्पादित आलु बिक्रीका लागि बुटवलमा रहेको आलु चिप्स उत्पादन गर्ने कम्पनीसँग कृषकले सम्झौता गरेका छन् । भारतको लुधियानाबाट यो आलुको बीउ आयात गर्ने गरिएको छ । बीउका लागि सरकारले किसानलाई ५० प्रतिशत अनुदानको सहयोग उपलब्ध गराएको छ ।

किसान रामबहादुर रावतले कम्पनीसँग उत्पादित आलु बजारको मूल्यभन्दा प्रतिकिलो रु दुई बढी मूल्य दिएर खरिद गरिदिने सम्झौता भएको बताउनुभयो । यसका लागि चाहिने बीउ सोही कम्पनीको समन्वयमा भारतको लुधियानाबाट आयात गरिएको थियो ।

Advertisement

हिँउदेयाममा गरिने यो आलुखेतीमा क्रान्ति ल्याउन आलुबारीमा किसानले हरियो झण्डा टाँग्ने गरेका छन् । रावतले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रमको पहिचानका साथै आलु खेतीमा क्रान्ति ल्याउने सन्देश दिनका लागि आलुबालीमा हरियो झण्डा फहराउने गरिएको बताउनुभयो ।

घोडाघोडी नगरपालिकाको पहलमानपुर गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र बनाइएको छ । यो गाउँमा मात्रै आलु खेती क्षेत्र विस्तार भई हिउँदेयाममा ८० बिघा क्षेत्रफल पुगेको बताइएको छ । आलु उत्पादनको पकेट क्षेत्र बनाइएपछि विगतका वर्षमा गहुँ र मसुरो खेती गरिँदै आएको खेतमा आलु खेती गर्ने गरिएको छ ।
एक्लैले आठ बिघामा आलुखेती गर्नुभएका रावतले भन्नुभयो, “आलु खेतीमा क्रान्ती ल्याउने गरी लागेका छौँ । यसबाहेक खायन आलु र बीउ आलुका लागि थप जग्गामा आलु खेती गर्ने गरिएको छ ।”

चालु वर्षमा सो क्षेत्रको आलु खेतीका लागि प्रदेश सरकारबाट रु ३० लाख अनुदान रकम उपलब्ध गराइएको बताइएको छ । आलुको व्यावसायिक खेती बढ्दै जाँदा भारतबाट आलुको आयात परिमाण घट्दै गएको किसानको भनाइ छ । समन्वय समितिका उपाध्यक्ष खडक बुढाले चिप्स उत्पादन गर्ने कम्पनीले उत्पादित आलु खरिद गरिदिने सम्झौता गर्दा किसानमा आलु खेती गर्न उत्साह जागेको बताउनुभयो ।

यसवर्ष १० कठ्ठा जग्गामा आलुखेती गर्नुभएका उहाँले भन्नुभयो, “धान र गहुँ खेती गर्दा हुने आम्दानीको तुलनामा बढी आम्दानी हुने देखिएपछि किसान आलु खेतीमा लागेका छन् ।” कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले यस वर्ष जिल्लामा पहलमानपुर र सुख्खडमा पहिलो पटक ठूलो क्षेत्रफलमा आलु खेती गरिएको बताउनु भयो । शर्माले भन्नुभयो, “यो कार्यक्रम सफल भएमा तीन वर्षसम्म कार्यक्रममा समेटिएका किसानलाई बीउविजन र अन्य सामग्रीमा ५० प्रतिशत अनुदान सहयोग उपलब्ध गराउने प्रदेश सरकारको नीति छ ।”

चालु वर्षमा सुरु भएको यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुन लागेको छ । जिल्लाभरी छ हजार हेक्टरमा आलु खेती हुने गरेकोमा वार्षिक उत्पादन झण्डै ९० हजार टन हुन्छ । आलु खेती गरिने क्षेत्रफलमध्ये डेढ हजार हेक्टरमा जिल्लाको विषेश पहिचान बोकेको ‘थारु आलु’को उत्पादन हुने गर्छ । किसानले खायनका लागि यो रैथाने जातको थारु आलुको खेती पनि गर्ने गरेका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री