सोमबार, ७ साउन २०८१

डिएभी कलेजमा ७ औँ अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन सम्पन्न

समयपोष्ट २०८१ जेठ ३१ गते १३:३७

Advertisement

ललितपुरस्थित डिएभी कलेजमा तिन दिने अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन, काठमाडौँ च्याप्टर–२.० को सातौँ एपिसोड भव्यताका साथ सम्पन्न भएको छ ।
जेठ २६ देखि २८ गते सम्म सञ्चालित सम्मेलनको विषयवस्तु ‘दिगो भविष्यका लागि कृषि, जैविक, वातावरण र जीवन विज्ञानमा विश्वव्यापी दृष्टिकोण’ रहेको थियो ।
हाइब्रिड मोडमा सञ्चालित कन्फ्रेन्समा विश्वका १४ देशका अनुसन्धानकर्ताहरू भौतिक र भर्चुअल रुपमा जोडिएका थिए ।
नार्कका कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले यस्तो आशाजनक अवसरमा मुख्य अतिथिका रूपमा सहभागी हुन पाउनु ठूलो सम्मान र खुशीको कुरा भएको उल्लेख गरे ।
उनले विज्ञान र प्रविधि क्षेत्रका शिक्षाविद्हरूको उत्साह र सहभागिताको प्रशंसा गर्दै सम्मेलनले भावी पुस्ताको सुरक्षा र वर्तमान पुस्ताको आवश्यकता सँग सम्वन्धित प्रस्तुत भएका वैज्ञानिक समाधानका उपायहरूको प्रसंशा गरे ।

डिएभी कलेजका अध्यक्ष अनिल केडियाले कलेज परिसरमा बिज्ञान विषयका विद्वानहरूलाई स्वागत गर्दै दिगो भविष्यका लागि कृषि, जीवविज्ञान, वातावरण र जीवन विज्ञानको क्षेत्रमा काठमाडौँ विज्ञान सम्मेलन कोसेढुङ्गा सावित हुने विचार व्यक्त गरे ।
त्यसैगरी, विश्वव्यापी कृषि र वन्यजन्तु सेसनका लागि प्रस्तुत गरिएका अनुसन्धान पत्रहरूले कृत्रिम बुद्धिमत्ता र डिजिटल कृषि, नानो–सामग्रीको भूमिका, ग्लोबल मिलेट्स (श्री अन्न) कृषि र पशु चिकित्सा विज्ञान र कृषि–व्यवसाय व्यवस्थापन र मार्केटिङ प्रविधि लगायतका मुद्धाहरूलाई उठाएका थिए ।
उक्त सम्मेलन भारतको उत्तर प्रदेशको गाजियाबादस्थित कृषि प्रविधि विकास समाज (एटिडिएस) संयोजकत्वमा र नेपालको ललितपुरस्थित डिएभि कलेज (त्रिभुवन विश्वविद्यालय) को सहायतामा आयोजना गरिएको हो ।


यस सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका विश्वविद्यालय र कलेजहरूसहित कुल १४ वटा सरकारी निकाय, विश्वविद्यालय र अनुसन्धान एकाइहरू सह–आयोजकका भुमिकामा थिए । त्यसैगरी, भारतका विभिन्न राज्यहरूबाट समान सङ्ख्यामा आएका सहयोगी संस्थानहरूले सम्मेलनलाई विश्वभर पु¥याउन सहयोग गरे ।
सबै प्रतिनिधिहरूले अनुसन्धानको उद्देश्य, परिकल्पना, विधि, परिणाम र निहितार्थ स्पष्ट रूपमा उल्लेख गर्दै सैद्धान्तिक दृष्टिकोण देखि वैचारिक र अनुभवजन्य अनुसन्धान पत्रहरू प्रस्तुत गरे ।
यस अनुसन्धान यात्रामा, पाँचवटा जर्नल प्रकाशन गृहहरू पनि संलग्न थिए । यसबाहेक सम्मेलनमा धेरै मौखिक र पोस्टर प्रस्तुत गरियो ।

Advertisement

सम्मेलनमा १६१७ अबधारणा प्रस्तुत गरिएका थिए । करिब १००० जनाको उपस्थिति थियो । ६५० जना भौतिक रुपमै उपस्थित थिए भने बाँकी भर्चुअल रुपमा जोडिएका थिए ।
मौखिक प्रस्तुतिका लागी मात्र ३६५ जनाको भौतिक उपस्थिति र ३८० जनाको भर्चुअल उपस्थिति थियो भने पोस्टर प्रतुतिका लागी २८० जना भौतिक र ४१० जना भर्चुअल रुपमा उपस्थित थिए ।
मौखिक र पोस्टरका विषयवस्तुहरु मुलतः सोईल साइन्स्, एग्रोनोमी, जेनेटिक्स्, प्लान्ट् ब्रिडीङ्ग, माइक्रोबायलोजी, केमेस्ट्री र वायोटेक्नोलोजी संग सम्बन्धित थिए ।
उक्त सम्मेलनको आयोजक कमिटीका अध्यक्ष प्रा.डा.ए.पी. गर्ग, सचिव डा. जोगिन्दर सिंह र डा. एस.पी. विष्ट, कार्यकारी अध्यक्ष र सहसंयोजक, डिएभी कलेजका प्रोग्राम कोर्डिनेटर शशि भुषण चर्तुवेदी सहसंयोजकको भूमिकामा थिए ।
उक्त सम्मेलनका क्रममा कुल २४ विधाका ग्लोबल इन्टरनेशनल कन्फरेन्स अवार्ड (एटिडिएस, २०२४) द्वारा योग्य प्रतिनिधिहरूलाई सम्मान समेत प्रदान गरिएको थियो । लाइफटाइम र स्थायी उपलब्धिदेखि विभिन्न तह र तप्काका वैज्ञानिकहरू, लेखकहरू र शिक्षकहरूलाई ज्ञानका विभिन्न क्षेत्रहरूमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।
विज्ञान र प्रविधिको ज्ञान प्रवाहका लागि लगभग एक सय अग्रणी शिक्षाविद्, प्राध्यापक, विशेषज्ञ, संस्थापक र प्रबन्धकहरू थिए । यसबाहेक सह–संयोजकका रूपमा ३० जना र व्यवस्थापन तथा क्वेरी कमिटीका २० जना व्यक्तिको सहभागिता रहेको थियो ।


आयोजक कमिटीका अध्यक्ष प्रा.डा. अम्मर गर्गले कार्यक्रमलाई भव्य, सभ्य एंव दिव्य रुपमा सम्पन्न गर्न विभिन्न भुमिका र जिम्मेवारीमा रहेका सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै सम्मेलन औपचारिक रुपमा समापन गरेका थिए ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन गर्न रिचा चौधरी, सुदीप अधिकारी, श्रीलता वाग्ले, अन्जना चौधरी र सीमा अधिकारीको उल्लेख्य भूमिका रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री