मंगलबार, ८ जेठ २०८१

मिलन लिम्बु भन्छन् : साग पसल खोल्दै छु

समयपोष्ट २०८१ वैशाख १९ गते १४:४५

Advertisement

इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका मिलन लिम्बु हालै सम्पन्न उपनिर्वाचनमा पराजित हुन पुगे । चुनाव हारेपछि अहिले उनले चुनावअघि बोलेको विषयलाई लिएर ‘ट्रोल’ गरिँदैछ ।

लिम्बुलाई निर्वाचन अगाडि पत्रकारहरूले ‘चुनाव जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ ?’ भनेर प्रश्न गरेका थिए । यसको जवाफमा लिम्बुले ‘सांसद भए सदनमा जनताको आवाज उठाउने छु । नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु’ भन्ने जवाफ दिएका थिए ।

यही विषयलाई लिएर मजाक उडाउन थालेपछि लिम्बुले साँच्चै नै साग पसल खोल्न लागेको जवाफ दिएका हुन् । ‘ जसलाई अनौठो लाग्यो उसलाई श्रम र हाम्रा (इलाम) का सम्भावनाहरू थाहै छैन । जसलाई, श्रम गरेर होइन, अनैतिक आर्जनबाट जीवन धान्न बानी परेको छ । त्यसैले यो विषयलाई ‘ट्रोल’ बनाउने कोसिस भयो । त्यसमा भन्नु केही छैन,’ उनले भनेका छन् ।

‘हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ । यसका आधारभूत कामहरू सुरु भइसकेका छन् । किसानबाट सङ्कलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ । यसका सम्भावित बजारबारे अध्ययन भएको छ । हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ,’ उनले थपेका छन् ।

Advertisement

यस्तो छ लिम्बुको भनाई :
साग पसल खोल्दै छु
निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनु भयो । निर्वाचनमा सहभागी हुनु भएको छ, जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ ?

मेरो जवाफ हुन्थ्यो–
सांसद भए सदनमा जनताको आवाज उठाउने छु । नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु । प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका एउटा उम्मेदवारले साग बेचेरै भए पनि जनताको सेवा गर्छुु भन्दै गर्दा धेरैलाई अनौठो लाग्यो । जसलाई अनौठो लाग्यो उसलाई श्रम र हाम्रा (इलाम) का सम्भावनाहरू थाहै छैन । जसलाई, श्रम गरेर होइन, अनैतिक आर्जनबाट जीवन धान्न बानी परेको छ । त्यसैले यो विषयलाई ‘ट्रोल’ बनाउने कोसिस भयो । त्यसमा भन्नु केही छैन ।

इलाम र कृषि उत्पादन
इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको जिल्ला हो । तर, यहाँको कृषिजन्य उत्पादनले उचित बजार पाएको छैन । उत्पादन बढाउँदै बजारसम्म पुर्‍याएर कृषकको जीवनस्तर उकास्न थोरै भए पनि योगदान गर्नु छ । यो योजना अनुरूप मैले साग बेचेरै भए पनि जनताको सेवा गर्छु भनेको हुँ ।

साग पसल खोल्दै छौँ
हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ । यसका आधारभूत कामहरू सुरु भइसकेका छन् । किसानबाट सङ्कलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ । यसका सम्भावित बजारबारे अध्ययन भएको छ । हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ ।

साग बेचेर के हुन्छ ?
हाम्रो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । त्यसपछि, सोही व्यवसायबाट हामी युवा पनि आत्मनिर्भर हुने छौँ ।

राजनीति पेसा होइन । राजनीतिलाई पेसा बनाउनु हुँदैन । म राजनीतिलाई पेसा बनाउने गलत प्रवृत्तिको पक्षमा छैन । त्यस कारण राजनीति मेरा लागि सेवा हुने छ, जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण मेरो पेसा हुने छ । यसै कर्मबाट नै इलामेली जनताको सेवा गर्ने छु ।

भन्दै आएको थिए–
म अकबरे उम्मेदवार हुँ
म अलैँची उम्मेदवार हुँ
म अम्लिसो उम्मेदवार हुँ
म ओलन उम्मेदवार हुँ
अर्थात् इलामका कृषक र कृषि उत्पादनको उम्मेदवार हुँ ।
र, आज पनि भन्छु- साग बेचेरै भए पनि जनताको सेवा गर्छु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री