शुक्रबार, १४ वैशाख २०८१

सदनमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण बहस

समयपोष्ट २०७५ वैशाख ३१ गते ८:४९

सदनमा हालै सम्पन्न भारतीय प्रधानमन्त्रीको नेपालको राजकीय भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, कुराकानी र सहमतिको विषयमा बहस भयो ।

Advertisement

संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तारुढ दलका सांसदले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभएको थियो ।

प्रमुख प्रतिपक्षी दलका सांसदले सदनमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण धार्मिक भ्रमण मात्र भएको टिप्पणी गर्दै नेपाल र भारतबीच विगतका भएका सहमतिलाई कार्यान्वयमा ल्याउन माग गर्नुभयो ।

यस क्रममा सत्तारुढ नेकपा (एमाले)का सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो । उहाँले नेपाल–भारतबीचको सम्बन्ध पारस्परिक हित र समानताका आधारमा समान हैसियतमा अगाडि बढ्नेछ भन्नुभयो ।

एमालेका उपाध्यक्षसमेत रहनुभएका सांसद रावलले नेपालको संविधान विश्वमा नै गर्व गर्न लायक रहेको चर्चा गर्दै संविधानको मर्म विपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको हुँदा सच्याउन माग गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डा अमरेशकुमार सिंहले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि जारी १६ बुँदे संयुक्त विज्ञप्तिमा अपुरो कुरा आएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सदनलाई भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं कुराकानीका विषयमा राख्नुभएको अभिव्यक्ति अधुरो आएको बताउनुभयो ।

नेकाका सांसद सिंहको अभिव्यक्तिप्रति विरोध जनाउँदै एमालेका सांसद विरोध खतिवडाले राष्ट्रियताप्रति सदनमा बहस गर्नु हुँदैन भन्नुभयो ।

सोही पार्टीका सांसद डा मीनेन्द्र रिजालले नेपाली जनताले नाकाबन्दीको पीडालाई बिर्सेर भारतीय प्रधानमन्त्रीको स्वागत गरेको चर्चा गर्दै सरकारमा सहभागी दलले विगतका अभिव्यक्तिलाई अहिले नै बिर्सेकामा चिन्ता व्यक्त गर्नुभयो ।

काँग्रेसकै सांसद भीमसेनदास प्रधानले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

नेकपा (माओवादी)का सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका कुराकानी एवं सहमतिका विषयमा हिजो सदनसमक्ष राख्नुभएको अभिव्यक्ति कार्यान्वयनमा आओस् भन्नुभयो ।

उहाँले भारतीय प्रधानमन्त्रीको भ्रमणका समयमा भारतबाट पनि सुरक्षाकर्मी आएको विषयमा जनतास्तरबाट प्रश्न उठेको चर्चा गर्दै नेपालमा आउने पाहुनालाई सुरक्षा प्रत्याभूति दिन सरकार सक्षम रहेको छ भन्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका सांसद मोहम्मद इस्तियाक राईले नयाँ बजेटले आर्थिक समृद्धिमा ध्यान दिन माग गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाली सञ्चारकर्मीले समेत समाचार संकलन गर्न अप्ठ्यारो परेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले काठमाडौँका हरेक सडकमा हुने जाम, धुवाँ र धुलोबाट जनता आक्रान्त भएको भन्दै सरकारले कहिलेसम्म सडकलाई धुलो, धुवाँमुक्त बनाउँछ भन्ने प्रश्न गर्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण उपलब्धिहीन रहेको बताउनुभयो ।

आक्रमणकारी छिटो पक्राउ गर्न माग

नेकपा (एमाले) सांसद कृष्णगोपाल श्रेष्ठले मध्यपुर ठिमीका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि सङ्घातिक आक्रमण गर्नेमाथि २३ दिन बितिसक्दा पनि अपराधीमाथि किन पक्राउ हुँदैन ? यसका बारेमा गृहमन्त्रीले जवाफ दिन माग गर्नुभयो ।

सोही पार्टीका महेश बस्नेतले कृषिको औद्योगिकीकरण, यान्त्रिकीकरण गर्न आग्रह गर्दै मध्यपुर ठिमीका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि संघातिक आक्रमण गर्नेलाई पक्राउ गर्न माग गर्नुभयो ।

नेकपा (एमाले)का नारदमुनि रानाले हरेक वर्ष आउने बाढीले कैलाली जिल्लालाई आक्रान्त पार्ने हुँदा आगामी बाढीको असरलाई कम गर्न समयमै ध्यान दिन सरकारसित माग गर्नुभयो ।

नेपाली काँग्रेसका गगनकुमार थापाले नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गर्दा नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कुन दृष्टिकोणले सफल भयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “नाकाबन्दीको पीडा कुन नेपालीले बिर्सेका छन् ? आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?”

संघीय समाजवादी फोरम नेपालका सांसद सरिता गिरीले समग्र मधेशको विकासमा सरकारको ध्यान जाओस् भन्नुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री