शुक्रबार, १४ वैशाख २०८१

स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्

समयपोष्ट २०८० वैशाख १९ गते ६:२४

Advertisement

दाङका सबै पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आउन सकेका छैनन् । जिल्लाका दश वटै पालिकाले अघिल्लो कार्यकालमा नै सो नीति बनाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ मा जारी गरेको स्वास्थ्य संस्था सञ्चालन सम्बन्धि मापदण्ड अनुसार काम गर्नुपर्ने भएकाले स्थानीय तहले ल्याएका स्वास्थ्य नीति प्रभावकारी कार्यान्वयनमा आउन नसकेको जनाइएको छ ।“संघीय मन्त्रालयले बनाएको कानुनमा टेकेर प्रदेश र स्थानीय तहले कानुन बनाउनु पर्छ । पहिले स्थानीय तहले बनाएको र पछि संघले मापदण्ड संसोधन गरेकाले हामीले बनाएका कानुन अहिले काम लाग्ने अबस्थामा छैनन”,तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले भन्नुभयो ।

संघले बनाएको मापदण्ड अनुसार स्थानीय तहले १५ स्ययासम्मको अस्पताललाई अनुमति दिने र अनुगमन गर्ने जिम्मा छ । तर, लुम्बिनी प्रदेश सरकारले बनाएको प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नती नियमावली २०७७ को दफा ८ को उपदफा २ अनुसार स्वास्थ्य क्लिनिक,निदान केन्द्र,प्रयोगशाला वा रेडियो इमेजिङ सेवा तथा पोलिक्लिनिक स्थापना तथा सञ्चालन अनुमति प्रदेश सरकारले दिने कुरा उल्लेख छ ।

यो कुरा संघसंग बाझिएकाले पनि स्थानीय सरकारको स्वास्थ्य नीति अनुरुप काम गर्न समस्या भएको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताउनुभयो ।“संघले बनाएको कानुनमा प्रदेश सरकारको बाझिएको छ”,उहाँले भन्नुभयो“त्यसले गर्दा पनि हामीले बनाएका नीति अनुरुप हामीले काम गर्न सकेका छैनौं ।’

संघले बनाएको ऐनमा नबाझिनेगरि प्रदेशले कानुन बनाएमा सोही अनुसार स्थानीय तहले कानुन संसोधन गरेर कार्यान्वयन गर्न सकिने दंगीशरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले बताउनुभयो ।

स्थानीय स्वास्थ्य नीति नहुँदा स्वास्थ्य संस्था तथा अनुगमन गर्न समस्या हुने गरेको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले बताउनुभयो ।“माथिबाट कागजात पु¥याएर आएमा हामीले दर्ता त गर्ने गरेका छौं”,उहाँले भन्नुभयो“तर, हामी आफैलाई कागजात हेर्ने अधिकार पनि छैन, अनुगमनको अधिकार पनि छैन ।”

स्वास्थ्य संस्था अनुगमनको अधिकार नहुँदा स्वास्थ्य संस्थाहरु मनोमानी ढंगले चलिरहेका छन् । कोही दर्ता नभएर चलिरहेका छन्, भने कोही नवीकरण छैनन् । केही स्वास्थ्य संस्थाहरुमा फार्माशिष्ट विनानै औषधि वितरण गरिरहेका छन् । स्वास्थ्य संस्थाका भवन पनि मापदण्ड अनुसार छैनन् । अस्पतालका धेरै भवनहरु भुकम्प प्रतिरोधि छैनन् । पोलिक्लिनिकहरुले बेड सञ्चालन गर्न पाउदैनन्, तर, पोलिक्लिनिकहरुले बेड सञ्चालान गरेर उपचार गरिरहेका छन् । यसको अनुगमन गर्न औषधी ब्यबस्था विभागले बर्षमा एक पटक वा दुई पटक मात्रै अनुगमन गर्ने गरेको छ । त्यतिले मात्रै नपुग्ने भएकाले अनुगमनको पाटोलाई प्रभाबकारी बनाउनकालागि स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलास चौधरीले बताउनुभयो ।

अनुगमनकालागि सरकारले कर्मचारी खटाउनु पर्छ । अहिले स्थानीय तहको स्वास्थ्य शाखामा अहेब, अनमी र एकजा कार्यालय सहयोगीको व्यवस्था गरेको छ । यसमा पनि सैद्धान्तिक बेरुजु देखाउने गरेको छ ।“नीतिमा अहेब, अनमी र एक जना कार्यालय सहयोगी भनेको छ, त्यो पनि दरबन्दी सिर्जना भएको छैन”, गढवाका स्वास्थ्य शाखा प्रमुख चौधरीले भन्नुभयो“त्यसले गर्दा पनि सैद्धान्तिक बेरुजु पनि देखाउने गरेको छ ।”स्वास्थ्यमा तीन तहको सरकारको समन्वयकारी भूमिका नहुँदा यसलाई मापदण्डमा ल्याउन पनि समस्या हुने गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री