मंगलबार, ८ जेठ २०८१

वडाध्यक्षको पारिश्रमिक विपन्नको स्वास्थ्य बिमामा

समयपोष्ट २०८० वैशाख १८ गते ८:२५

Advertisement

चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो भत्ता रकम विपन्न परिवारको बिमा वापतमा लगाउनु हुने भएको छ । उहाँले वडाध्यक्षलाई उपलब्ध गराइएको मोटरसाइकल र पेट्रोल खर्चसमेत लिनुभएको छैन ।

उहाँले भन्नुभयो, “मैले कार्यभार सम्हालेको दिन नै मासिक उपलब्ध हुने पारिश्रमिक सुविधा नलिने घोषणा गरेको हुँ, उक्त रकमले विपन्न परिवारको स्वास्थ्य बिमा गर्दै छु, वडाको सवारी साधन प्रयोग गरेको छैन, म आफ्नै सवारी प्रयोग गर्छु, तेल खर्च पनि लिएको छैन ।”

यसैबीच वडा नम्बर ४ ले वृद्धभत्ता घर–घरमै पुगेर वितरण गर्दै आएको छ । उहाँले भत्ता वितरण गर्न जाँदा लाग्ने खर्चको बिल भर्पाईसमेत कार्यालयमा पेस नगरेको बताउनुभयो । वडाध्यक्ष उप्रेतीले भन्नुभयो, “हामीले घर–घरमा पुगेर वृद्धभत्ता वितरण गरेका छौँ, सोबापत हुने खर्चसमेत कार्यालयमा पेस गरेका छैनौँ, ग्लोबल आइएमई बैंकले टोलटोलमा कर्मचारी खटाएर वृद्धभत्ता वितरण गर्न हामीलाई सहयोग गरेको छ ।”

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आउनु भएका उहाँले असहाय रोगीको उपचारका लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ । साथै उहाँले शिक्षा, खेलकुदलगायतका क्षेत्रमा पनि सहयोग गर्दै आउनुभएको छ ।
आफूले आगामी दिनमा पनि वडाध्यक्षबापत पाउने सेवा सुविधा नलिने बताउनुभयो । “मैले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा सहयोग गर्दै आएको हुँ म आगामी दिनमा पनि सेवा सुविधा लिने छैन, नसक्ने अवस्था भए अर्को कुरा, म सकेको दिन्छु, लिन आएको होइन”, वडाध्यक्ष उप्रेतीले भन्नुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री