शुक्रबार, १६ चैत २०८०

कञ्चनपुरमा कांग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी

समयपोष्ट २०७९ जेठ ९ गते १४:२३

Advertisement

कञ्चनपुरका नौवटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यसपटक भने तीन पालिकामा समिति रहन पुग्यो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली कांग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ ।

यहाँको भीमदत्त, बेदकोट, कष्णपुर तथा पुनर्वास नपा र बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । अघिल्लो निर्वाचनमा यी चारवटै पालिकामा एमाले विजयी भएको थियो ।

त्यसैगरी एमालेले यहाँको दोधारा–चाँदनी र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकामा जीत हासिल गरेको छ । यसअघि दोधारा र शुक्लाफाँटामा नेपाली कांग्रेसले जितेको थियो भने लालझाडीमा (माओवादी केन्द्र)ले जितेको थियो ।

त्यसैगरी स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले यहाँको बेलौरी नगरपालिका जितेको छ । अघिल्लोमा दुई पालिका जितेको माओवादी यसपटक भने एउटामा समिति रह्यो । उसले लालझाडी गाउँपालिका गुमाएको छ ।

नगरप्रमुखमा भीमदत्तमा नेपाली कांग्रेसका पदम बोगटी, बेदकोटमा कांग्रेसकै भोजराज बोहरा, कृष्णपुरमा कांग्रेसका हेमराज ओझा, पुनर्वासमा तोयराज शर्मा र बेल्डाँडी गाउँपालिकामा कांग्रेसका हरिचन्द्र राना निर्वाचित हुनुभएको छ ।

त्यस्तै दोधारा–चाँदनीमा एमालेका किशोरकुमार लिम्बू, शुक्लाफाँटामा एमालेकै रणबहादुर महरा र लालझाडीमा निर्मल राना नेतृत्वमा पुग्नुभएको छ । त्यसैगरी माओवादीका पोतिलाल चौधरी बेलौरीको नेतृत्वमा दोस्रो पटक पुग्नुभएको हो । यसअघिको निर्वाचनमा पनि उहाँ नगरपालिकाको नगरप्रमुखमा विजयी हुनुभएको थियो ।

जिल्लाका पालिकामा नेकपा माओवादी केन्द्रसित गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको नेकपा (एकीकृत समाजवादी)ले पालिका जित्न सकेन् । केही वडाध्यक्षमा जीत निकालेको समाजवादीले पुनर्वास र बेदकोट नगरपालिकामा जित्नसक्ने आकलन गरेको थियो । बयानब्बे वडा रहेको कञ्चनपुरमा यसपटक दुई वडाध्यक्ष स्वतन्त्रबाट निर्वाचित भएका छन् ।

भीमदत्त–१३ मा रामचन्द्र बोहरा र पुनर्वास श्रवण रानाले बाजी मार्नुभएको छ । त्यसैगरी उपप्रमुखतर्फ नौ पालिकामध्ये सात उपप्रमुख एवं उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । दोधारा–चाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकामा कांग्रेसले उपप्रमुख जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री