
आरुघाट गाउँपालिका अप्रिकका लोकबहादुर गुरुङले १६ वर्षसम्म प्रहरी सेवामा काम गरेको कमाइले गोरखा बजारमा एउटा पक्की घर बनाए। घर बनाउँदा अपुग भएको १५ लाख रुपैयाँ तत्कालीन मनास्लु विकास बैंक (हाल एनएमबी)बाट ऋण लिएका थिए। घातक (खुट्टाको क्यान्सर) रोगबाट थलिएर उनी वीर अस्पतालको शय्यामा पुगेका बेला लगालग तीन किस्ता तिर्न सकेनन्।
बैंकको तारन्तारको ताकेताबाट पार पाउन श्रीमतीले गोरखा बजारका एक सुनचाँदी व्यवसायीसँग सयकडा ३६ रुपैयाँ ब्याज तिर्ने गरी २२ लाख रुपैयाँ ऋण लिइन्। तीन वर्षअघि लिएको २२ लाख रुपैयाँको सावाँ ब्याजबापत उनले हालै ७० लाख रुपैयाँको घर घडेरी गुमाए। अहिले सदरमुकामबाट केही पर डेरामा उनको बास छ।
‘१६ वर्षसम्म जागिर आएको कमाइले बनाएको त्यै एउटा घर थियो, त्यै पनि साहूले आज पनि खाली गरिदे, भोलि पनि खाली गरिदे भनेर हैरान पार्यो। एक महिनाअघि त्यही साहूको नाममा राजीनामा पास गरिदिएँ’, उनले भने, ‘२२ लाख रुपैयाँको सावाँ, ब्याज तीन वर्षमा ७० लाख कसरी भयो ? त्यसमाथि दुई लाख रुपैयाँ नगद पनि दिएको थिएँ। घर पनि गयो, पैसा पनि गयो, सबैथोक गुम्यो। म बरबाद भएको छु।’गोरखा नगरपालिका ६ ढाँडगाउँका जुठे विकको हातमा त्यो लालपुर्जा छ, जसको सबै विवरणहरू रातो मसीले काटिएका छन्। छोराहरूलाई मूर्तिकलाको व्यवसाय गर्न भन्दै गोरखा बजारका एक व्यापारीसँग सयकडा ३६ रुपैयाँ ब्याजमा तीन लाख ५० हजार रुपैयाँ र अर्का साहूसँग चार लाख रुपैयाँ ऋण लिए।
त्यसबापत उनले आफ्नो घरजग्गा उनै साहूको नाममा राजीनामा पास गरेर दिए। पैसा तिरेपछि फिर्ता पाउने भरोसामा अहिले सबै कित्ता नम्बर काटिएको रित्तो लालपुर्जा लिएर बसेका छन्। ‘ऋण तिरेपछि साहूले लालपुर्जा फिर्ता दिन्छु भनेको छ’, उनी भन्छन्, ‘पहिले–पहिले त दृष्टिबन्धक(धितोबन्धक) मात्र राख्ने चलन थियो। अहिले साहू मानेन। राजीनामा पास गरिदिनुपर्छ भन्यो। त्यही भएर राजीनामा पास गरिदिएँ।’ आजको अन्नपूर्ण पोष्ट् दैनिकमा शिव उप्रेतीले यो समाचार लेखेका छन् ।









प्रतिक्रिया