
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका युवा नेताहरुले निर्वाचन आयोगमा राजनीतिक दल दर्ताको लागि निवेदन दिएका छन् ।
अनेरास्ववियूका पूर्व विद्यार्थी नेता जीवन राई अध्यक्ष रहेको सो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ । “हामीले एक महिना अगाडि नै दर्ताको निवेदन दिएका थियौँ । अहिले माधवकुमार नेपाल समूह अप्ठ्यारोमा परेकाले चर्चा भयो होला । तर, पार्टी दर्ता उहाँहरूसँग सरसल्लाह गरेर गरेको होइन,” राईको भनाइ छ ।
२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, बिनोद कुमार खुलाल महासचिव, ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् ।
राईले चुनाव चिन्ह कलम राखेको जानकारी दिए । राईले कतिपयले एमालेको माधव नेपाल समुहको निर्देशनमा पार्टी दर्ता गरेको भनेर आशंका गरेपनि आफुले स्वतन्त्र ढंगले गरेको दावी गरे ।
‘म अनेरास्ववियुबाट विदा भएपछि पार्टीले जिम्मेवारी दिएको थिएन । त्यसैले खाली बस्नुभन्दा पार्टी दर्ता गरौ भन्ने सोचेर दर्ता प्रक्रियामा गएको हुँ । माधव नेपालसँग यसबारे जोड्न जरुरी नै छैन’, राईको भनाइ छ ।










प्रतिक्रिया