
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि सरकारले दिनरात प्रयत्न गरेको बताएका छन् ।
बिहीबार १५ बुँदे ज्ञापन पत्र बुझाउँन सिंहदरबार पुगेको काँग्रेस सभापति शेर बहादुर देउवासहितको टोलीसंग कुरा गर्दै ओलीले कोरोना नियन्त्रण सरकारले दिनरात काम गरिरहेको बताए ।
सभापति देउवाले खोप किन्ने कुरामा भ्रष्टाचार भयो भन्ने कुरा आयो नि भन्ने प्रश्नमा ओलीले भ्रष्टाचारको आरोप निराधार रहेको बताए । ओलीले भ्रष्टाचारीलाई छेउ पनि पर्न नदिने बताउँदै कोरोना नियन्त्रणका लागि काँग्रेसले दिएको सुझावलाई ग्रहण गर्ने बताए ।
काँग्रेस सभापति शेर बहादुर देउवासहितको टोलीले आज कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ध्यानाकर्षण पत्र ओलीलाई बुझाएको छ । महामारीको खतरा देखिदा पनि सरकारले भीडभाड, तडकभडक र उद्घाटनका कार्यक्रमहरु गरिरहँदा संक्रमण द्रुत गतिमा बढेको आरोप काँग्रेसले लगाएको छ ।
कोरोना महामारीबाट नागरिकको जीवनरक्षा गर्न स्वास्थ्य सामग्री, पीसीआर परीक्षण लगायतको विशेष व्यवस्था गर्न काँग्रेसले विभिन्न सुझाव दिएको छ । काँग्रेसले तेस्रो चरणको संक्रमणबारे समेत सचेत गराएको छ । तेस्रो चरणको संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न खोपको सुनिश्चितता गर्न काँग्रेसले माग राखेको छ । त्यसका लागि कुटनीतिक पहल लिन पनि सरकारलाई सुझाव दिएको छ ।
महामारी फैलिनुको कारण, रोकथाम तथा उपचारबारे सुझाव दिएको काँग्रेसले सरकारबाट भएको भ्रष्टाचारबारे पनि प्रश्न उठाएको छ । पहिलो चरणको महामारीमा देखिएको अनियमितता, भ्रष्टाचारबारे छानविन गरिनुपर्ने माग पनि काँग्रेसले राखेको छ । पहिलो चरण र यसपटकको महामारी नियन्त्रणमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को नेतृत्व क्षमताबारे पनि काँग्रेसले प्रश्न उठाएको छ ।










प्रतिक्रिया