ओलीले बादललाई भोट माग्दै भने- पार्टी निर्णयको विपक्षमा मत खसाले क्षम्य हुँदैन

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचमा रामबहादुर थापा (बादल)लाई मतदान गर्न अपिल गरेका छन् ।

Advertisement

बुधबार जारी गरिएको अपिलमा भनिएको छ,‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ ,उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ। उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुयाउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’

ओलीले बादल एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय बिपरीत मतदान नगर्न चेतावनी समेत दिएका छन् । पार्टी उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने अपिलमा उल्लेख छ ।

पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने विषय पार्टीमा कल्पना बाहिरको कुरा भएको भन्दै उनले यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि स्वीकार्य या क्षम्य नुहुँने बताएका छन् ।

एमालेभित्र देखिएको विवाद हल गर्ने प्रक्रियासँग समेत ओलीले बादलको उम्मेद्वारीलाई जोडेका छन् । कार्यदल बनेर काम शुरु भइसकेको अवस्थामा बादलको उम्मेद्वारीलाई चासो साथ हेरिएको उनको भनाइ छ । ‘अहिले पार्टीभित्र देखापरेका समस्याको समधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत शुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कर्तव्य हो’, ओलीले लेखेका छन् ।

Advertisement

नेकपाको बिरासत पनि बादलको उम्मेद्वारीले बोक्ने उल्लेख गरिएको छ । ‘कतिपय नेताका अवसरवादी एवम् विभाजनकारी व्यवहारका कारण भंग नेकपाको विरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ’, अपिलमा लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री