शनिबार, ८ वैशाख २०८१

तामाका भाँडाबाटै जीवन निर्वाह

समयपोष्ट २०७६ वैशाख ११ गते १६:१९

भूपेन्द्रसिंह विष्ट

देशमा रोजगारी नपाएर वर्षेनी हजारौँ युवा विदेश गइरहेका छन् तर, केही व्यक्ति भने आफ्नै पौरखमा देशमा कुनै न कुनै पेशा अपनाएर जीवन धानिरहेका छन् । यस्तै एक उदाहरण हो – शिवन ताम्राकार ।

Advertisement

डडेल्धुराको अमरगढी–६ दुमडाका शिवनले परम्परागत शीपको प्रयोग गरी तामाका भाँडाकुँडा बनाएर पाँच जनाको परिवार धान्दै आएका छन् । विसं २०३२ कात्तिक १५ गते डडेल्धुराको अमरगढी नगरपालिका–६ दुमडामा जन्मेका शिवन जिल्ला सदरमुकाम खलङ्गामा आरन व्यवसाय गर्छन् । उमेरले ४३ पुगेका उनी विगत लामो समयदेखि आफ्नै आरनमा तामाका सामग्री बनाउने काम गर्छन् ।

परिवारका सदस्यलाई अहिलेकै परिवेश अनुसारको रहनसहन, खानपिन र व्यक्तित्व विकास गर्न उनको पेशा सहयोगी बनेको छ । सडक छेउमै खुल्ला आकाशमुनि आरन राखी तामाका सामान बनाउन थालेपछि उनको जीवनशैलीमा परिवर्तन आएको हो । उनका दुुई छोरा र एक छोरी छन् । उनीहरु विद्यालय पढ्छन् । भाँडाकुँडा बिक्री गरेर आएको आम्दानीबाट वर्षभरिका लागि पुग्ने गरी अन्न, लत्ताकपडा खरिदका साथै औषधोपचार र बालबालिकालाई विद्यालय पठाउने खर्च व्यहोर्दै आएका छन् उनले ।

आफू बाल्यकालदेखि नै यस पेशामा आवद्ध भएको उनी बताउँछन् । काम नपाएर बेरोजगार भएका बेला केही समयका लागि उनी भारतको गडवाल पुगेका थिए । त्यहाँ पनि उनले तामाका भाँडा बनाउने काम नै गरे । त्यहाँ काम गर्दा मालिकले नेपाली कामदारमाथि गर्ने व्यवहार उनलाई मन परेन । र, उनी स्वदेश फर्किए । बेरोजगारीका कारण भारतको गडवाल गएको र केही समय त्यहीँ काम गरेर घर फर्केको बताउने उनले अर्काको देशमा जति काम गरेर रगत पसिना बगाउँदा पनि मालिकले हेप्ने होच्याउने कार्य नछोड्ने गरेकाले असह्य भएर आफ्नै देश फर्केको दुःखेसो पोखे । अरुको देशमा रगत पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गर्छु भन्ने अठोटसहित उनी आफ्नै गाउँ फर्केका हुन् । “म यही छिमेकी देश भारतको गडवाल गएको थिएँ, त्यहाँ पनि यही काम गरें,” उनले भने – “त्यहाँ त्यति राम्रो लागेन । त्यही भएर आफ्नै देशमा केही गरौँ भनेर आएको छुँ ।”

आरनमा तामाका माना, पाथी, ताउली, दियो, विभिन्न किसिमका बाजा र मूर्तिहरू ताम्राकारले बनाउँदै आएका छन् । बजार क्षेत्र र जिल्लाका विभिन्न गाउँमा तामाबाट निर्मित सामग्री सहजै बिक्री हुने गरेका छन् । आफ्नो कामलाई सबैले मन पराउने गरेकाले स्थानीय बासिन्दाले घरबाटै तामाका भाँडाकुँडा बनाइदिन आग्रह गर्ने गरेको उनले सुनाए । विवाहको समयमा तामाका भाँडाकुँडा कन्या (बेहुली) लाई दान दिइने भएकाले राम्रै कमाइ हुने उनको भनाइ छ ।

एक किलो तामा एक हजार ३०० रुपैयाँमा बेच्ने र ठूल्ठूला ताउलीहरु पाँच हजारदेखि छ हजारसम्म बेच्ने गरेको उनले सुनाए । यस्ता सामग्री बेचेर उनलाई मासिक २० हजारदेखि ३० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको छ । उनले गाउँ घरमा गई पुराना तामाका भाँडाकुँडा बटुल्ने अनि त्यसलाई मर्मत गरेर बिक्री गर्ने पनि गरेका छन् ।

देश सङ्घीय संरचनामा गएपछि तीन वटा सरकार सञ्चालनमा छन् । तर, आरन पेशा–व्यवसायलाई माथि उकास्न अहिलेसम्म कतैबाट पनि सहयोग नपाएको उनको गुनासो छ । “अहिलेसम्म कुनै ठाउँबाट पनि सहयोग पाइएको छैन,” उनले भने – “यो पेशा–व्यवसाय बढाउन केही आर्थिक सहयोग पाए राम्रो हुन्थ्यो ।” सरकारले सहयोग गरेमा आफ्नो व्यवसायलाई अझै विस्तार गर्ने योजना उनको छ ।

गाउँघरको सरकारका रुपमा रहेको स्थानीय सरकारले पनि आफूहरुलाई नहेरेको उनको आरोप छ । लोप हुँदै गइरहेको आरन पेशालाई लोप हुन नदिन स्थानीय सरकारले विभिन्न किसिमका तालीमहरु दिनुपर्ने उनी बताउँछन् । अहिले तामाका भाँडाकुँडा बनाउने पेशा सङ्कटमा परिसकेको दुःखेसो पोख्ने उनले आफ्नो पेशालाई संरक्षण गरिदिन सम्बन्धित निकायमा आग्रह समेत गरेका छन् ।

विदेश जानुभन्दा पनि आफ्नै देशमा पसिना बगाउन सके यही मनग्य आम्दानी हुने उनी ठान्छन् । आधुनिक तरीकाले विभिन्न व्यवसाय गर्न सकिए युवा विदेश पलायन हुनु नपर्ने उनको निष्कर्ष छ । तर जे काम गरे पनि राम्रोसँग बुझेर र लगनशील भएर गर्नुपर्ने उनको सुझाव छ ।

पढे लेखेका युवा देशमा खान लाउन नपुग्ने भएकाले भारतलगायत विभिन्न खाडी मुलुकमा जान्छन् । सरकारले उनीहरुका लागि केही आर्थिक वा भौतिक सहयोग जुटाइदिए वा शीपमूलक तालीमको व्यवस्था गरिदिए विदेश पलायन रोकिने ताम्राकारको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री