आइतबार, ९ कार्तिक २०८२

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

समयपोष्ट २०८२ कार्तिक ९ गते ७:०४

Advertisement

राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्ड निर्माण नहुँदा हुलाकी सडक अधुरो अवस्थामा छ ।

नारायणपुर–राजपुर सडक निर्माण गर्न निर्देशनालयले केही वर्षअघि नै डिपिआर तयार गरिसके पनि निर्माणकार्य सुरु हुनसकेको छैन । डिपिआरअनुसार यो खण्ड निर्माण गर्न करिब रु ६ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । हुलाकी सडक निर्देशनालय, आयोजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले सो खण्डमा सडक निर्माण नगरिए हुलाकी राजमार्ग अधुरै रहने निष्कर्षसहित निर्माण प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

प्रमुख भण्डारीका अनुसार यो खण्डमा निर्माणकार्य अगाडि बढाउन स्रोत सुनिश्चितका लागि सम्बन्धित निकायमा फाइल पेस गरिसकिएको जनाउँदै केही समयमै स्रोत सुनिश्चित हुने र सोपश्चात ठेक्का व्यवस्थापनको काम अगाडि बढाइने छ । यो खण्डको करिब ३५ किलोमिटर सडक निर्माणको काम सम्पन्न गर्न करिब चार वर्ष समय लाग्ने र सो सडकखण्डमा १५ पुल निर्माण गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

सडकखण्डको ३५ किमी क्षेत्रमध्ये आधाभन्दा बढी अर्थात् १८ किमी जङ्गल क्षेत्र रहेको छ । छोटो दूरी र सहजताका कारण निर्माण सम्पन्न भइसकेको नेपालगञ्जदेखि अगैयासम्मको स्थानमा सर्वसाधारणका सवारीसाधनले हुलाकी सडक नै प्रयोग गर्ने गरेका प्रमुख भण्डारीले बताउनुभयो । बाँकेको नारायणपुरबाट दाङको राजपुरसम्मको करिब ३५ किमी खण्डको स्रोत सुनिश्चित प्राप्त गर्ने अन्तिम अवस्थामा पुगेको छ । नारायणपुर–राजपुर सडकखण्ड निर्माण हुनसके बाँकेको सोनारी क्षेत्रको विकासमा टेवा पुग्ने राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार थारूले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री