आइतबार, ९ कार्तिक २०८२

नेपाल आज अमेरिकासँग भिड्दै

समयपोष्ट २०८२ कार्तिक ९ गते ७:१८

Advertisement

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान ११:१५ बजे शुरू हुने यो खेलमा नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रनेछ।

हालै टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको नेपालले उत्कृष्ट लय कायम राख्दै अमेरिकालाई कडा चुनौती दिने अपेक्षा गरिएको छ।

लिग-२ मा नेपालले हालसम्म १६ खेल खेल्दा १२ अंक जोडेको छ र सातौं स्थानमा छ। शीर्ष स्थानमा रहेको स्कटल्यान्डले २४ खेलबाट ३० अंक, दोस्रो स्थानको अमेरिकाले २० खेलबाट २८ अंक र तेस्रो स्थानको नेदरल्यान्ड्सले २४ खेलबाट २८ अंक नै जोडेका छन्।

Advertisement

त्यस्तै, ओमान २० खेलबाट २४ अंकसहित चौथो, क्यानडा २४ खेलबाट २१ अंकसहित पाँचौं, नामिबिया २४ खेलबाट १९ अंकसहित छैटौं र युएई ६ अंकसहित आठौं स्थानमा छ। बाँकी खेलहरूमा जित निकाल्न नेपाली टोलीमाथि दबाब छ, किनकि यो सिरिज विश्वकप छनोटका लागि महत्त्वपूर्ण छ।

नेपाली टोली टी-२० विश्वकप छनोट खेलेर ओमानबाट सिधै युएई पुगेको हो। यो सिरिजमा नेपालले अमेरिका र युएईसँग दुई/दुई खेल खेल्नेछ। आज अमेरिकासँगको खेलपछि नेपालले ३० अक्टोबरमा युएई, १ नोभेम्बरमा पुनः अमेरिका र ५ नोभेम्बरमा युएईसँग खेल्नेछ। त्यसपछि टोली स्वदेश फर्कनेछ।

नेपाली एकदिवसीय टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, मो. आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो. आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम र ललित नारायण राजवंशी समावेश छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री