यस्तो छ नेपाल टेलिकमको प्रगति विवरण
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले नेपाली जनता बसोबास गरेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार अन्र्तक्रिया कार्यक्रममा अधिकारीले कम्पनीले आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व रहेको उल्लेख गरे ।
अधिकारीले आगामी दिनमा समेत देशका जनताको शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा परिवर्तन ल्याउनका लागि कम्पनीले भूमिका खेल्ने बताउँदै उनले छोटो अवधिमै फोरजी सेवालाई देशव्यापी रुपमा विस्तार गर्ने योजनाका साथ कम्पनी अगाडि बढेको बताए ।
टेलिकमले विस्तार गर्न लागेको फोरजी/एलटीई आयोजना, मध्य पहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटीटीएच सेवा विस्तार र गुणस्तर सुधार सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले कम्पनीका विभिन्न आयोजना र हालको प्रगति तथा आगामी कार्ययोजना वारेमा जानकारी दिएकी थिइन् ।
फोरजी/एलटीई आयोजना
देशभर सातै प्रदेशमा सेवा विस्तारको लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो । यस मध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएको छ ।
नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्छन्
सम्झौता अनुसार १२ महिनामा कार्य सम्पन्न गर्नको लागि साइट सर्भेको काम शुरु भइसकेको टेलिकमले बताएको छ । कम्पनीले नेपालमै पहिलो पटक २०७३ पुस १७ (२०१७ जनवरी १) मा काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा शुरु गरेको थियो ।
मोबाइल सेवा विस्तार प्रगति
चालु आर्थिक वर्षको चैत मसान्त सम्म ४ सय वटा थ्रीजी बीटीएसहरुको स्तरोन्नति भएको टेलिकमले जनाएको छ । त्यसैगरी सो अवधिमा ४ सय ७ वटा बीटीएस थप भएको छ । एक करोड लाइन मोबाइल आयोजना अन्तर्गत ग्राहकको माग एवम् प्राविधिक अध्ययन अनुसार आवश्यक देखिएका स्थानहरुमा मोबाइल टावर थप गर्ने कार्य जारी रहेको टेलिकमले बताएको छ ।
सो आयोजना अन्तर्गत प्याकेज ‘बी’ को शतप्रतिशत काम सकिएको छ भने प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएको र चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने टेलिकमको लक्ष्य छ ।
मोबाइल गुणस्तर अभिवृद्धि
नेपाल दूरसञ्चार प्राधिकरणले गत पौष र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वी राजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदन अनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा राम्रो पाइएको छ ।
त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आश्विन ११ देखि २५, २०७५ सम्म काठमाडौमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको अध्ययन प्रतिवेदन अनुसार नेपाल टेलिकमको भ्वाइस सेवाको स्तर सबैभन्दा राम्रो पाइएको छ ।
मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर
मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको छ । सो आयोजनाका लागि ५ मध्ये ४ वटा सम्झौता सम्पन्न भएको टेलिकमले जनाएको छ ।
गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा गरिएको सम्झौता अनुसार प्रदेश १ को ५९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को १०२८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर तथा प्रदेश ३ को ५५५ किलोमिटरको लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ ।
डीडब्ल्यूडीएम इक्विपमेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि केही दिन भित्रै सम्झौता हुने कम्पनीले बताएको छ ।
एफटीटीएच (फाइबर टु द होम) सेवा
हाल एडीएसएल मार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेकोमा विद्यमान एडीएसएलका ग्राहकलाई एफटीटीएचमा रुपान्तरण गर्ने र मुलुकभर एफटीटीएच वितरण गर्ने लक्ष्यका साथ नेटवर्क विस्तारको कार्य टेलिकमको छ ।
इन्टरनेटको साथसाथै आईपीटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको कम्पनीले बताएको छ । हाल देशभर ४० हजार ९६० लाइन एफटीटीएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ र थप नेटवर्क विस्तार कार्य जारी रहेको टेलिकमले बताएको छ ।
प्रतिक्रिया