शनिबार, १५ वैशाख २०८१

‘एमालेकै सहमतिमा संशोधन प्रस्ताव पारित हुन्छ’

समयपोष्ट २०७४ वैशाख ११ गते १३:१४

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै समर्थनमा परिमार्जनसहितको संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरेका छन् । 
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रिजालले सरकारले हालै अघि सारेको नयाँ संशोधन विद्येयक एमालेकै समर्थनमा संसदबाट पारित हुने दाबी गरेका हुन्  उनले भने,‘एमालेपनि यो प्रस्तावलाई समर्थन गर्छ, मलाई लाग्छ यो प्रस्ताव सर्वसम्मतीले पारित हुन्छ ।’ उनले प्रस्ताव एक हप्ताभित्रै पारित हुनेपनि स्पष्ट पारे । 
नेता रिजालले संशोधन प्रस्तावका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कन्टेन्टमा सहमति भएको जनाए । उनले भने,‘संशोधनको विषयमा ओलीजीसँग कन्टेन्टमा सहमति भएको छ, प्रक्रियामा उहाँको केही असहमति होला ।’
एमाले अध्यक्ष ओलीले बजेट लगत्तै चुनाव गर्ने कुरामा गम्भिर असहमति राखेको विषयमा टिप्पणी गर्दै रिजालले भने,‘चुनावको मिति तय भैसक्यो, अब मिति तलमाथि हुँदैन्, तर बजेटको मिति बरु असार १५ मा पुर्याउन सकिन्छ, यसको लागि दलहरुवीच घनिभुत छलफल तथा सहमति हुन आवश्यक छ।’ बजेटको मिति सार्नको लागि संविधान संशोधन गर्नुपर्ने भएकोले त्यतातर्फ समेत कसरी अघि बढ्न सकिन्छ भनेर दलहरुवीच अहिले गृहकार्य भैरहेको जानकारी दिए । 
त्यस्तै उनले वर्तमान काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन नै कायम रहने पनि बताए । उनले भने,‘काँग्रेस र माओवादीको गठबन्धन नै कायम रहन्छ ।’ प्रचण्ड लगत्तै अब काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनको विश्वास थियो । 
नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अहिले आएको परिमार्जनसहितको संशोधन प्रस्तावले मुलुकलाई निकास दिने ठोकुवा गरे । उनले उक्त प्रस्तावको एमालेले विरोध गर्नुको कुनै तुक नरहेको टिप्पणी समेत गरे । 
नेता रायमाझीले भने,‘यो अन्यन्तै राम्रो प्रस्ताव हो, यसलाई पारित गराउनको लागि हामी सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’ उनले प्रस्तावलाई पारित गराउनको लागि एमालेले पनि सहयोग गर्नुपर्ने बताए । 
उनले मुलुकको निकास र निर्वाचनको लागि यो प्रस्ताव आएकोले सबै प्रमुख दलहरुले यसलाई सदनबाट पारित गराउन साझा दायित्व निर्वाह गर्नुपर्ने बताए । रायमाझीले थपे,‘एमालेकै समर्थनमा यो प्रस्ताव पारित हुन्छ, किनकी यसले मुलुकको निकासको ढोका खोलेको छ, एमालेले विरोध गर्नुको कुनै तुक छैन् ।’
रायमाझीले बजेट र चुनावको कुनै अन्तरसम्बन्ध नरहेको समेत स्पष्ट पारे । उनले भने,‘बजेटपछि चुनाव गर्दा के बिग्रिन्छ ? एमाले आत्तिनुहुँदैन्, किनकी चुनाव ठूलो कुरा हो नि ।’ यद्धपी एमालेले उठाएको यो विषप्रति सरकार गम्भिर रहेको उनको भनाई थियो । 
उनले चुनावपछिपनि अहिलेकै गठबन्धन कायम रहने दाबी गरे । उनले भने,‘प्रधानमन्त्री प्रचण्ड यो गठबन्धन तोड्ने पक्षमा हुनुहुन्न ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता डा.बंशिधर मिश्रले आफ्नो पार्टी अहिले परिमार्जनसहित ल्याईएको संविधान संशोधन प्रस्तावको विपक्षमा नरहेको बताए । 
उनले भने,‘चुनाव हुने शर्तमा हामी संविधान संशोधनको विपक्षमा छैनौं, तर संशोधन प्रस्तावको कन्टेन्टमा हामीसँग छलफल गरिएन्, यो प्रस्ताव हामी सदनमा रोक्दैनौं ।’
उनले बजेटपछि चुनाव भए आफ्नो पार्टीले भाग नलिने समेत चेतावनी दिए । उनले भने,‘कि त बजेट अघि चुनाव हुनुपर्यो होईन भने बजेट लगत्तै चुनाव गरिए एमालेले भाग लिँदैन्।’ 
नेकपा मालेका महासचिव सिपी मैनालीले अहिलेसम्म नयाँ परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव पढ्न नपाएको बताउँदै प्रस्तावको अध्ययन गरेपछिमात्रै प्रतिक्रिया दिने बताए । 
उनले भने,‘प्रस्ताव पढेपछि हामी समिक्षा गर्छौं, अनिमात्रै यसबारेमा हामी निर्णय लिन्छौं ।’ त्यस्तै उनले पछिल्लो समय राष्ट्रियता कमजोर भएको समेत गुनासो पोखे । 
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले ऐतिहासिक लोकतान्त्रिक आन्दोलन भएको आज ११ वर्ष पुगेको बताउँदै दलहरुवीच सहमति, सहकार्य र एकता हुनुपर्ने बताए । उनले प्राप्त उपलब्धिहरुको रक्षाको लागि पनि दलहरु मिल्नुको विकल्प नभएको बताउँदै अहिलेपनि संविधान संशोधन गरेर निर्वाचनमा जानको लागि प्रमुख दलहरुवीच सहकार्य अनिवार्य रहेको बताए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री