बुधबार, ५ वैशाख २०८१

आगामी आर्थिक वर्षमा सबै स्थानिय तहमा बैंकका शाखा

समयपोष्ट २०७३ चैत २९ गते १०:५५


आगामी आर्थिक वर्षमा मुलुकका सबै ७४४ स्थानिय तहमा बैंकको शाखा खुल्ने भएका छन् ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानिय तहमा शाखा खोल्ने गरी आवश्यक व्यबस्था गर्न निर्देशन दिए । अर्थ मन्त्रीको निर्देशन अनुसार मन्त्रालयको वित्तिय क्षेत्र ब्यबस्थापन महाशाखाले त्यसको तयारी गरीरहेको छ ।  
नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै स्थानीय जनतालाई सेवा दिने गरी शाखा खोल्नका लागि आवश्यक व्यवस्था गरिएको र प्रक्रियासमेत सुरु भएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्ता शाखा खोल्दा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थालाई नै प्राथमिकता दिनुपर्नेछ । 
सरकारी बैंक तथा वित्तीय संस्थाप्रति जनताको विश्वास बढाउन र सेवा प्रवाहलाई समेत सहज एवम् सरल बनाउन सरकारी बैंक तथा वित्तीय संस्था नै स्थानीय तहमा जानुपर्छ भन्ने मान्यताका साथ प्रक्रिया अगाडि बढाइएको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराका सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए ।
बैंक तथा वित्तीय संस्था खोल्नका लागि मन्त्रालयको बैंक तथा वित्तीय क्षेत्र महाशाखाले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पनि स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने आवश्यक प्रक्रिया अगाडि बढाउन निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री