आइतबार, २९ असार २०८२

भारत सरकारको सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास

समयपोष्ट २०८२ वैशाख ५ गते १९:५९

Advertisement

भारत सरकारको आर्थिक सहयोगमा मोरङको सुन्दरहरैँचा नगरपालिकामा बन्ने श्री पञ्चायत माध्यमिक विद्यालयको भवनको शिलान्यास शुक्रबार एक विशेष समारोहबीच सम्पन्न भएको छ।

शिलान्यास कार्यक्रम कोशी प्रदेशका माननीय सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाई तथा नेपालस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ता, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त परियोजना ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको नेरु २.८१ करोड बराबरको अनुदान सहयोगमा सञ्चालनमा ल्याइएको हो। भारत सरकारको सहयोगमा तीन तल्ले विद्यालय भवन र अन्य आवश्यक पूर्वाधार निर्माण गरिँदैछ। परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) का रूपमा लिइएको छ र यो कार्यान्वयन सुन्दरहरैँचा नगरपालिकामार्फत हुनेछ।


विसं २०२२ (सन् १९६५) मा स्थापना भएको श्री पञ्चायत माध्यमिक विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ। करिब ७५० विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा छात्राहरूको सहभागिता ६० प्रतिशत रहेको छ।

Advertisement

शिलान्यास समारोहमा वक्ताहरूले नेपालमा भारत सरकारबाट प्राप्त सहयोगको खुलेर प्रशंसा गरे। उनीहरूले निर्माणाधीन पूर्वाधारले स्थानीय विद्यार्थीहरूको शैक्षिक अनुभवमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे।

भारत सरकारले सन् २००३ यता नेपालमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूमा कार्य गरेको छ, जसमा ४९५ परियोजना पूरा भइसकेका छन्। कोशी प्रदेशमा मात्रै ९१ परियोजना सञ्चालित छन् भने मोरङ जिल्लामा १६ वटा परियोजनाहरू सम्पन्न भइसकेका छन्। साथै, भारतले नेपालभर १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ। जसमा कोशी प्रदेशमा १४६ एम्बुलेन्स र ४८ स्कूल बस परेका छन्। मोरङमा मात्र २१ एम्बुलेन्स र १५ स्कूल बस प्रदान गरिएका छन्।

भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्धलाई अझ सुदृढ गर्दै, भारत सरकारले नेपाली जनताको प्राथमिकतामा आधारित पूर्वाधार निर्माण र सामाजिक उत्थानमा सहयोग पुर्‍याउँदै आएको कुरा यस परियोजनाले पुनः पुष्टि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री