सूर्यज्योति लाइफले ल्यायो दुई नवीन डिजिटल सेवा: केयर्स कार्ड र ई–कर्जा
नेपालको बीमा क्षेत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुई नवीन डिजिटल सेवा सुरु गरेको छ। कम्पनीले सूर्यज्योति केयर्स कार्ड र ई–कर्जा सेवा सार्वजनिक गरेको हो। यी दुवै सेवाको उद्घाटन काठमाडौंमा सोमवार आयोजित एक विशेष समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले गरेका छन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीले यी सेवा बीमित र अभिकर्ताको सुविधाका लागि ल्याइएको बताए। “नेपालको बीमा क्षेत्रमा यी दुवै सेवा सूर्यज्योति लाइफले पहिलोपटक ल्याएको छ,” उनले भने, “यी सुविधाहरू निःशुल्क रूपमा प्रयोग गर्न सकिन्छ।”
सीईओ खत्रीका अनुसार सूर्यज्योति केयर्स कार्डमार्फत बीमित, अभिकर्ता र कर्मचारीले होटल, रेस्टुरेन्ट, मल, फिटनेस सेन्टर, अस्पताल, हवाई टिकट र सिनेमा टिकट खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। “हाल हामीले देशभर ४२ सेवाप्रदायकसँग सम्झौता गरेका छौं,” उनले थपे, “यी सेवाप्रदायकमा गएर क्यूआर कोडमार्फत यो सुविधा लिन सकिन्छ।” यो सुविधा प्राप्त गर्न बीमितको कम्तीमा ५ लाखको बीमांक भएको सक्रिय र नवीकरण गरिएको बीमालेख हुनुपर्ने, अभिकर्ताको सेल्फ कोड ६ लाख र टिम बिजनेस ३० लाखको व्यापार भएको हुनुपर्ने शर्त राखिएको छ।
त्यस्तै, ई–कर्जा सेवामार्फत बीमितले तत्काल कर्जा प्राप्त गर्न सक्नेछन्। “पहिले बीमालेख धितो राखेर कर्जा लिन २–३ दिन लाग्थ्यो,” खत्रीले भने, “तर अब यो सेवाले अनलाइन भुक्तानीमार्फत रियल टाइममा कर्जा उपलब्ध गराउँछ।” ई–कर्जाका लागि बीमालेख ३ वर्ष पूरा भएको र बीमाशुल्क तिरिएको हुनुपर्ने, सरेन्डर भ्यालुको ९० प्रतिशत वा अधिकतम ५० हजारसम्म कर्जा पाइने, केवाईसी अपडेट भएको हुनुपर्ने, निर्धारित ब्याजदर लागू हुने र ५० रुपैयाँ सेवाशुल्क लाग्ने शर्त तोकिएको छ। यो सुविधा खल्ती, ई–सेवा, फोनपे, कनेक्ट आईपीएस र एनआईसी एसिया बैंकमार्फत लिन सकिन्छ।
खत्रीले सूर्यज्योति लाइफले जीवन बीमा क्षेत्रमा धेरै नवप्रवर्तन गरेको दाबी गरे। “हामी ३५ घातक रोगको उपचार सुविधा दिने पहिलो कम्पनी हौं, मर्जर गर्ने पहिलो कम्पनी हौं, आईएसओ प्रमाणित पहिलो जीवन बीमा कम्पनी हौं र बोनसबिनाको प्रिमियम फिर्ता योजना ल्याउने पहिलो कम्पनी पनि हौं,” उनले भने। डिजिटल एपमार्फत बीमित, अभिकर्ता र कर्मचारीले सबै जानकारी पाउने सुविधा पनि सूर्यज्योति लाइफले पहिलोपटक ल्याएको उनको भनाइ छ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले यी प्रविधिमैत्री सेवाले बीमा क्षेत्रमा ठूलो योगदान पुर्याउने बताए। “यी सेवाले बीमालाई तरल बनाउँछ र बीमितलाई तत्काल आवश्यकता परेमा कम्पनीसम्म पुग्नु नपर्ने सन्देश दिन्छ,” उनले भने। उनले अन्य कम्पनीहरूलाई पनि यस्ता सेवा सुरु गर्न सुझाव दिए। “केयर्स कार्डको सफलताका लागि स्टेकहोल्डरलाई सचेत र तालिम दिनु आवश्यक छ,” ओझाले थपे।
सीईओ खत्रीले दाबी भुक्तानीलाई पहिलो प्राथमिकता दिएको बताउँदै ग्राहकको हित र सुविधालाई ध्यानमा राखेर सेवा सञ्चालन गरिएको उल्लेख गरे। कम्पनीले दोस्रो त्रैमासिकसम्म चुक्ता पुँजी ५०० करोड, कुल लगानी ४,३५० करोड, जीवन बीमा कोष ३,७०० करोड, २१ लाख पोलिसी होल्डर, ६,५०० भन्दा बढी अभिकर्ता, १९ करोड ६० लाख नाफा र ७४ शाखामार्फत सेवा दिइरहेको जानकारी दिए। यो आर्थिक वर्षमा ७०० करोड बीमाशुल्क संकलन भएको र आगामी दिनमा १,००० करोड नाघ्ने अपेक्षा उनले व्यक्त गरे।
प्रतिक्रिया