आइतबार, ४ जेठ २०८२

एशियन लाइफ इन्स्योरेन्स अठारौं वर्षमा प्रवेश, उत्कृष्ट सेवा दिने प्रतिबद्धता

समयपोष्ट २०८१ चैत २१ गते ११:१३

Advertisement

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको सत्रौं वर्ष पूरा गरी अठारौं वर्षमा प्रवेश गरेको छ। कम्पनीले २०६४ चैत्र २१ गतेदेखि कारोबार सुरु गरेको थियो। अठारौं वर्ष प्रवेशको उपलक्ष्यमा २०८१ चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्।

रक्तदान कार्यक्रम
वार्षिकोत्सवको अवसरमा “रक्तदान जीवन दान” भन्ने नारालाई आत्मसात् गर्दै २०८१ चैत्र २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाडौं उपत्यकाभित्रका शाखा र उपशाखाका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिसहित ७४ जनाले रक्तदान गरेका छन्।

मैत्रीपूर्ण फुटसल प्रतियोगिता
यसैगरी, चैत्र १८ गते काठमाडौं उपत्यकाभित्रका कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो। प्रतियोगिताले कर्मचारीहरूबीच आपसी सम्बन्ध र सहकार्यलाई प्रोत्साहन गरेको कम्पनीले जनाएको छ।

सामाजिक सहयोग
देशभरका ८६ वटा शाखा र उपशाखा कार्यालयहरूमार्फत वृद्धाश्रम, सामुदायिक विद्यालय, अनाथालय तथा सामाजिक संघसंस्थाहरूलाई शैक्षिक सामग्री, खाद्यान्न र फर्निचरलगायत करिब १० लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको छ।

Advertisement

शुभकामना आदानप्रदान
प्रधान कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठले एशियन लाइफ इन्स्योरेन्सको व्यवसायिक यात्रामा सत्र वर्षदेखि निरन्तर सहयोग पुर्‍याउने सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले कम्पनी बीमित र शेयरधनीहरूलाई उत्कृष्ट सेवा र उच्च प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

कम्पनीको प्रगति
चालू आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म कम्पनीको जीवन बीमाकोष ४४ अर्ब ६८ करोड रुपैयाँ र कुल बीमाशुल्क ५७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यस्तै, कुल लगानी ४९ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने सोही अवधिमा ५ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीका १६ लाख ४२ हजार सक्रिय बीमालेख छन्। कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ रहेको छ।

एशियन लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि उत्कृष्ट बीमा सेवा प्रदान गर्दै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री