निरन्तर प्रयासपछि ओली र मोदीबिच बैंककमा भेटघाटको समय निश्चित

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डमा भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, दुई प्रधानमन्त्रीबीच शुक्रबार ४ बजे भेट हुने तय भएको छ। नेपालको निरन्तर प्रयासपछि यो भेट अन्तिम समयमा निश्चित भएको हो।

Advertisement

ओली हिजो थाइल्यान्ड पुगिसकेका छन् भने मोदी भोलि पुग्नेछन्। मोदी त्यहाँबाट अप्रिल ४ मा श्रीलङ्का प्रस्थान गर्नेछन् र ६ मा भारत फर्किनेछन्। ओली भने अप्रिल ५ मा नेपाल फर्किने कार्यक्रम छ।

पछिल्लो समय ओली र मोदीबीच सम्बन्धमा चिसोपना देखिएको छ। ओलीले भारत भ्रमणको इच्छा देखाए पनि निम्तो पाएका छैनन् भने भारतले पनि उनलाई बोलाएको छैन। ओली प्रधानमन्त्री भएपछि पहिले चीन गएर बीआरआईमा हस्ताक्षर गरेपछि भारतसँग दूरी बढेको थियो। परराष्ट्रमन्त्री डा. आरजु राणाले ओलीको भारत भ्रमणका लागि तीन पटक प्रयास गरिन्, तर सफल भएन।

गत असोजमा अमेरिकामा दुई नेताबीच भेट भएको थियो। अहिले बिमस्टेक समिटको साइडलाइनमा थाइल्यान्डमा भेट तय भएको परराष्ट्र प्रवक्ता कृष्णप्रसाद ढकालले बताए। उनले भने, “यो सामान्य कूटनीतिक भेट हो, समय तालिका त्यहीँ मिलाइनेछ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री