‘धेरै शुल्क बुझाएर मात्र गुणस्तरीय शिक्षा प्राप्त हुँदैन’
भीएस निकेतन स्कुलको नेतृत्व पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण भएको छ । अब यस स्कुललाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
मैले पल्स टु सकाउनेबित्तिकै यस स्कुलमा शिक्षकको रूपमा काम गर्ने अवसर पाएँ । त्यसपछि करिब ८ वर्षअघि भाइस प्रिन्सिपलको रूपमा मैले यस स्कुलमा काम गरेँ । मैले एकै पटक प्रिन्सिपलको जिम्मेवारी सम्हालेको होइन । तल्लो तहबाट नै यस स्कुलको विषयमा पर्याप्त जानकारी हासिल गरेको छु । लगभग दुई–तीन वर्षअगाडि नै मैले यस स्कुलको सम्पूर्ण जिम्मेवारी सम्हालेर अगाडि बढ्न थालेको थिएँ । म यसअघि विद्यालयका सम्पूर्ण सेक्सनहरू आफैँ हेर्ने गर्थें । सायद त्यसैले पनि होला, मलाई प्रिन्सिपलको जिम्मेवारी सम्हालेर काम गर्न खासै गाह्रो महसुस भएको छैन ।
हामीले नेपालका अधिकांश विद्यालयहरू हेर्यौं भने राम्रोसँग पुस्ता हस्तान्तरण भएको पाउँदैनौँ । अहिलेसम्म सबै निजी विद्यालयका प्रिन्सिपलहरू एउटा जेनेरेसनको हुनुहुन्छ । त्यसपछिको जेनेरेसनमा भने सक्सेसन प्लानिङ छैन । तर भीएस निकेतनको हकमा मेरो स्वर्गीय बुबाले त्यो सक्सेसन प्लान पहिले नै गर्नुभएको थियो । सायद त्यही भएर पनि होला, म यसअघि बैङ्किङ क्षेत्रबाट विद्यालयमा प्रवेश गरे पनि विद्यालय सञ्चालन गर्न खासै अप्ठेरो भएको छैन । अब यस स्कुलमा नयाँ–नयाँ विदेशी प्रणालीहरू भित्र्याउने तयारीमा हामी लागेका पनि छौँ ।
नेपालको शिक्षण पद्धति कसरी हेर्नुभएको छ र?
अझै पनि हाम्रोमा परम्परागत शिक्षण पद्धति अवलम्बन गरिरहेको अवस्था छ । हाम्रो शिक्षण पद्धति र विदेशी शिक्षण पद्धतिलाई दाँजेर हेर्ने हो भने हामी केहीमा समानता पाउन सक्दैनौँ । विदेशमा इनोभेटिभ प्राक्टिकल लर्निङ हुन्छ तर हाम्रो उही कन्र्जभेटिभ, कन्भेस्नल, ट्रेडिसनल मेथड युज हुन्छ । उही विद्यार्थीहरूलाई नोट लेखाउने, घोकाउने काम भइरहेको छ । त्यसैले खासै सुधार भएको छ जस्तो लाग्दैन । फेरि समय–समयमा शिक्षा नीति परिवर्तन भइरहँदा अगाडि बढ्न केही असहज हुन्छ ।
विद्यार्थीहरूले पनि हालसम्म शिक्षा क्षेत्रमा केही नवीनपन देखेका छन् जस्तो मलाई लाग्दैन । म विदेशमा धेरै विद्यालयहरू घुमेको छु । त्यहाँ बालबालिकाहरूलाई आफैँ सिर्जना गर्ने अवसर दिइन्छ तर नेपालमा त्यो हुन सकेको छैन । यहाँ त समयमा कोर्ष सकाउने, त्यसपछि परीक्षा दिने । त्यही हिसाबमा चलिरहेको छ । विद्यालय तहको शिक्षामा खासै सुधार नभएको त्यहि भएर हो ।
अहिले नेपालको शिक्षा नीति परिवर्तन हुँदैछ । यो प्रान्तीय सरकारमा जाँदैछ । त्यसले अब्जर्भेसन, मनिटरिङ र इभ्यालुएस राम्रो गर्ने हुँदा हाम्रो शैक्षिक क्षेत्रमा सुधार आउँछ भन्ने आशा गर्न सकिन्छ ।
तपाईंहरूको विद्यालय अन्य विद्यालयभन्दा के कुरामा भिन्न छ ?
यो विद्यालय स्थापना भएको ३९ वर्ष भइसकेको छ । धेरै उतार–चढावहरू बेहोरेर, धेरै माइल स्टोनहरू क्रियट गरेर यो विद्यालय अगाडि आएको छ । हामीले यसअघिको एसएलसीमा पनि शतप्रतिशत नतिजा ल्याउन सफल भएका छौँ । हालको एसईई परीक्षामा पनि हामीले राम्रो रिजल्ट निकाल्न सफल भएका छौँ । सायद यो मात्र त्यस्तो एउटा त्यस्तो विद्यालय होला, जहाँ हरेक कोणबाट र हरेक सेक्सनमा एउटै परिवारको व्यक्तिबाट सक्सेसन प्लान भएको छ । त्यस कारण पनि यो स्कुल टिकिरहन्छ भन्नेमा म विश्वस्त छु । मेरो स्वर्गीय बुबाले देखेको सपना पूरा गर्न पछिल्लो पुस्तासमेत दत्तचित्त भएर लाग्छ ।
हामीले यहाँ विद्यार्थीहरूलाई प्राक्टिकल बेस लर्निङ गराइरहेका छौँ । विद्यार्थीहरूलाई आफैँ सिर्जना गर्ने अवसर प्रदान नगरेसम्म उनीहरूले सिक्न सक्दैनन् । विद्यार्थीहरू सबै विशेष हुन्छन् र उनीहरू सबैमा आफ्नै किसिमका प्रतिभाहरू हुन्छन् । विद्यार्थीभित्र लुकेको त्यही प्रतिभालाई हामी यहाँ प्रष्फुटन गर्ने वातावरण तयारी गरिदिन्छौँ । हाम्रो विद्यालयमा एक वर्षमा एक सय दशवटा त कार्यक्रमहरू मात्र हुन्छन् । हामीले यहाँ पढाइसँगसँगै अतिरिक्त क्रियाकलापहरूलाई पनि सँगसँगै अगाडि लैजाने गरेका छौँ ।
हामीसँग राम्रा भौतिक पूर्वाधारहरू छन् । राम्रो भवन, विद्यार्थी क्षमताअनुसारको कक्षा कोठा, अहिलेको विश्वसँग विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन आवश्यक हरेक कुराहरू यहाँ विद्यार्थीहरूलाई उपलब्ध गराएका छौँ । हाम्रो विद्यालयमा मध्यमवर्गीय परिवारका अभिभावकले तिर्न सक्ने शुल्क निर्धारण गरिएको छ । हामी ‘क’ वर्गमा पर्ने स्कुल भए तापनि यहाँको शुल्क एकदम थोरै छ । यस विद्यालयमा कम शुल्कमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका छौँ । हाम्रो सबैभन्दा सकारात्मक पाटो त्यही नै हो ।
प्रायः नेपाली स्वदेशमा सिकेर त्यसको उपयोग विदेशमा गर्ने गर्छन् या भनौँ उतै पलायन हुने गर्छन् । तर म विदेशमा सिकेर आफ्नै देशमा केही गर्नुपर्छ, यही स्कुललाई नै राम्रोसँग अगाडि बढाउनुपर्छ भनेर कोसिस गर्दैछु ।
अभिभावकहरूले विद्यालय कसरी छान्ने रु यहाँको सुझाव के छ ?
विद्यालय छान्ने कुरा अभिभावकहरूका लागि चुनौती नै हो । अहिले बजारमा स्वच्छ प्रतिस्पर्धा छैन । विद्यार्थीहरूलाई कसरी आकर्षित गराउने भन्नेतिर मात्र विद्यालयहरू केन्द्रित छन् । त्यस कारण आफ्ना बालबालिकाको लागि विद्यालय छान्दा सबैभन्दा पहिले अभिभावकहरूले त्यस विद्यालयको भौतिक पूर्वाधारहरू कस्ता छन्, त्यसमा ध्यान दिन जरुरी छ । त्यसपछि त्यो शिक्षण संस्था कति वर्षदेखि सञ्चालनमा आइरहेको छ, त्यसको सम्पूर्ण पृष्ठभूमिबारे बुझ्ने । अर्को, विद्यालय सञ्चालनमा कति र कस्ता व्यक्तित्वहरू संलग्न छन्, त्यसमा विचार पु¥याउनुपर्छ ।
अहिले प्रायःजसो विद्यालयहरू पार्टनरसिपमा चलेका छन् । सुरुआतमा ६० देखि ७० जनासम्मको पार्टनरसिपमा चल्ने, त्यसपछि अलिकति मनमुटाव हुनेबित्तिकै विद्यालय टुक्रिएर अर्को स्कुल बन्ने परिपाटीको विकास भएको देखिन्छ । जसले गर्दा विद्यालय सञ्चालकको विषयमा अभिभावकले बुझ्नु अति आवश्यक छ । अर्को, विद्यालयको आउटपुट कस्तो छ, बजारमा त्यस विद्यालयका विद्यार्थीहरू कत्तिको बिकेका छन्, यी तीन चिजमा ध्यान दिनु अति जरुरी छ । विद्यालयमा शुल्क मात्र धेरै बुझाएर गुणस्तरीय शिक्षा प्राप्त हुँदैन । विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्दा विद्यालयको जरा कस्तो छ र विद्यालयले उत्पादन गरेका विद्यार्थीहरू के गर्दै छन्, त्यो हेर्न पक्कै पनि जरुरी छ ।
प्रतिक्रिया