मंगलबार, २५ वैशाख २०८१

३७ वर्षपछि निर्माणसम्म भयो सुनथराली विमानस्थल, बैशाखको पहिलो साता परीक्षण उडान

समयपोष्ट २०७९ चैत २६ गते २१:३३

Advertisement

कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा रहेको सुनथराली विमानस्थलमा बैशाखको पहिलो साता परीक्षण उडान हुने भएको छ ।

विसं २०४२ मा सुरु भएको विमानस्थल निर्माण कार्य पूरा भएपछि वैशाखको पहिलो साताबाट परीक्षण उडान हुने भएको हो । विमानस्थल निर्माणको काम पूरा भएको र वैशाख पहिलो हप्तामा नै परीक्षण उडान हुने सुनथराली विमानस्थल आयोजनाका सुपरभाइजर गणेशकुमार विष्टले बताउनुभयो । “नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारीअनुसार परीक्षण उडान गर्ने जानकारी आएको छ”, उहाँले भन्नुभयो, “हामीले त्यहीअनुसार यहाँको तयारी गरेका छौँ ।”

परीक्षण उडान हुने भएकाले विमानस्थलको पूर्व अधेरी खोला, पश्चिममा नुवादेव देवताको मन्दिर, उत्तरमा भेरी सामुदायिक वन र दक्षिणमा लामीडाडा लामपाटा क्षेत्रको भूभागमा पशुचौपाया छाडा नछोडन् र मानिसको आवातजावत बन्द गरिएको सुपरभाइजर विष्टले बताउनुभयो ।

हाल यो विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर, घेराबार र भवनसमेत तयार भइसकेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ । विमानस्थलमा नियमित उडान भएमा पर्यटकीयस्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो । “विमानस्थल नियमित उडान गर्नका लागि र छिटो निर्माण कार्य सम्पन्न गर्नका लागि गाउँपालिकाका तर्फबाट दबाब दिँदै आएका छौँ । विमानस्थल समयमा बनेन”, उहाँले भन्नुभयो, “परीक्षण उडान हुने भएपछि त्यसपछि नियमित उडान गर्ने जानकारी पनि पाएको छु ।”

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री