आइतबार, ६ जेठ २०८१

चौराहादेखि गोलपार्कसम्मको सडक सात वर्षमा पनि पूरा भएन, ठेक्का रद्द

समयपोष्ट २०८१ वैशाख २३ गते १८:५९

Advertisement

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा पनि पूरा नभएपछि ठेक्का रद्द गरिएको छ । बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक सात वर्षअघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको थियो । समयमै निर्माण पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय सबै तहका जनप्रतिनिधिको आग्रह र निर्देशनलाई निर्माण व्यवसायीले बेवास्ता गरेपछि आज ठेक्का रद्द गरिएको हो ।

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर दाहालले पटक-पटकको आग्रह र निर्देशनलाई बेवास्ता गरेपछि ठेक्का तोडिएको बताउनुभयो । कार्यालयले छिट्टै नयाँ सहमतिअनुसार अर्को ठेक्का आव्हान गर्ने बताउनुभयो । आर्थिक वर्ष २०७३/७४को तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको आयोजनाको अहिलेसम्म ५० प्रतिशत मात्र सकिएको छ । उक्त आयोजना रु ५३ करोड ९७ लाख ९९ हजारमा ठेक्का लागेको हो ।

सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीलाई पटक–पटक ठेक्का तोड्ने चेतावनी दिँदै समयमा काम सक्न अनुरोध गरे पनि निर्माण व्यवसायी सुवित श्रेष्ठले त्यसलाई बेवास्ता गरेको कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख विसुनदास लामाले काम सम्पन्न गर्नेतर्फ कम्पनीले चासो नदेखाएपछि ठेक्का तोडिएको बताउनुभयो ।

ठेक्का सम्झौताका सर्तबमोजिम दायित्व पूरा नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गर्ने निर्णय गरिएको डिभिजन प्रमुख लामाले बताउनुभयो । निर्माणाधीन सडक अलपत्र हुँदा बुटवल बजार क्षेत्र अस्तव्यस्त छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री