शनिबार, ८ वैशाख २०८१

८ वर्षीय बालिका बलात्कार, हिन्दू मन्दीरमा लगेर नसालु औषधी खुवाइयो

समयपोष्ट २०७५ वैशाख २ गते १२:३१

भारतको कठुआ बलात्कार हत्याकाण्डको चर्चा विश्वभर भइरहेको छ । यहाँसम्म कि यसबारेमा संयुक्तर राष्ट्र संघसमेत मुख खोल्न बाध्य भएको छ। संयुक्त राष्ट्र संघका महासचिवले समेत शनिबार यस घटनाको निन्दा गरेका छन् ।

Advertisement

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले आठ वर्षीया बालिकाको बलात्कार र हत्याको घटनालाई डरलाग्दो भनेका छन् । उनले यस घटनामा भारत सरकारले न्यायको सुनिश्चितता गर्ने कुरामा समेत उनले विश्वास व्यक्त गरेका छन् ।

पत्रकारको तर्फबाट यस घटनाबारे संयुक्त राष्ट्र संघका महासचिवको प्रतिक्रियाबारे सोधेपछि गुटेरेसका प्रवक्ता स्टिफन डुजारिकले भने, ‘हामीले यी बालिकामाथि भएको यौन हिंसा र हत्याबारेको डरलाग्दो मिडिया रिपोर्ट हेरिसकेका छौँ । हामीलाई विश्वास छ भारत सरकार र त्यहाँको प्रशासनले यो अपराधमा संलग्नलाई दण्डित गर्नेछन् । भारत सरकाले दोषीलाई कानुनी दायरामा ल्याएर बालिकाको बलात्कार र हत्यामा जिम्मेवार बनाउनैपर्छ ।’

जनवरीमा जम्मु–कश्मिरस्थित कठुआमा भएको यस घटनापछि अहिलेसम्म आठजना युवा गिरफ्तार भइसकेका छन् । जसमा चार पुलिसकर्मी पनि सामेल छन् । पक्राउ परेका पुलिसमाथि सबुत प्रमाण मेटाएको आरोप लगाइएको छ ।

यो मामिलाले जब विश्वव्यापी चर्चा पायो तब हालै मात्र हिन्दु एकता मञ्च नामको संगठनले अभियुक्तको पक्षमा झण्डा र्‍याली निकाल्यो । यस कार्यक्रममा जम्मु–कश्मिरका बीजेपी–पीडीपी सरकारमा सामेल दुई भाजपाका मन्त्री पनि थिए ।

यी दुई मन्त्रीले सार्वजनिकरुपमा अभियुक्तको पक्षमा निकालिएको यस र्‍यालीको समर्थन गरेका थिए । शनिवार दुवै मन्त्रीले आफ्नो राजीनामा पार्टी अध्यक्षलाई बुझाइसकेका छन् ।

बकरवाल मुस्लिम समुदायसँग जोडिएकी आठ वर्षीया बालिका १० जनवरीमा आफ्नो घर नजिकैबाट हराएकी थिइन् । एक सातापछि नजिकैको जं‌गलमा उनको शव बरामद भएको थियो ।

पीडित पक्षले गाउँकै एक हिन्दू धर्मस्थलमा छ जनाले बालिकालाई बन्धक बनाएर उनलाई सामुहिक बलात्कार गरेको आरोप लगाएका थिए । शव मुचुल्का जाँचपछि बालिकालाई नशालु औषधि पनि खुवाइएको खुलेको छ ।

यो घटनापछि जब अभियुक्तको पक्षमा र्‍याली निस्कियो तब यो घटनामा राष्ट्रव्यापी रोष प्रकट भयो । त्यसपछि यो घटनाले अन्तर्राष्ट्रिय रुप ग्रहण गर्‍यो ।

घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बहुप्रतीक्षित बयान शनिवार दिएका छन् । उनले यसलाई शर्मनाक बताउँदै भने, ‘म कुनै पनि अपराधीलाई माफी या उन्मुक्ति नदिइने कुरामा तपाईँहरुलाई विश्वास दिलाउँछु । र, हाम्री छोरीलाई न्याय मिल्ने कुरामा पनि ढुक्क हुनुस ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री