शुक्रबार, ७ वैशाख २०८१

सिरियामा बल्झियो युद्ध, अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रूपमा हवाई आक्रमण

समयपोष्ट २०७५ वैशाख २ गते १:१४

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रूपमा हवाई आक्रमण शुरु गरेका छन् । शनिबार सिरियाको राजधानी शहर दमास्कस र यसको वरपरका क्षेत्रमा आक्रमणका आवाज सुनिन थालेका छन् ।सैन्य आक्रमणले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रलाई लक्ष्य बनाएको छ ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डौमामा सिरियाले रासायनिक आक्रमण गरिरहेकाले त्यो रोक्न आफूहरूले आक्रमण गरेको दाबी गरेका छन् । रूसले रासायनिक आक्रमण रोक्न नसकेकाले आफूहरूले आक्रमण गर्नुपरेको उनको दाबी छ ।

उनले डौमामा रासायनिक हतियारको भण्डारण रहेको बाएका छन् । आक्रमण विस्तृत क्षति र विवरण प्राप्त भइसकेको छैन । दमास्कस वरपर सुनिएको ठूलो आवाज र आकाशमा धुवाँको मुस्लोका कारण त्यहाँ भीषण क्षति भएको अनुमान छ ।

अमेरिकी रक्षा मन्त्रालयले सिरियाली प्रशासनविरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दाबी गरेको छ । रूसले दर्जनौँ क्षेप्यास्त्रलाई बीचमा अवरोध गरेको तर हवाई आक्रमणका निशाना सही रहेको पेन्टागनका प्रवक्ता डाना ह्वाइटले बताएका छन् । ‘हामी सिरियामा युद्ध चाहन्नौँ तर आफ्नै नागरिकविरुद्ध लक्षित गरी बसर अल असद प्रशासनले गरेको रासायनिक हतियार आक्रमणबाट भएको घटनालाई बेवास्ता गरिरहन पनि सक्दैनौं’, ह्वाइटले पेन्टागनमा सञ्चारकर्मीसँग भने । आक्रमणको निशाना सही रहेको र हमलाको औचित्य कानुनत: पुष्टि भएको उनले दाबी गरे ।

लेफ्टिनेन्ट जनरल केनेथ म्याककेन्जीले सिरियाली प्रशासनको रासायनिक हतियार संरचनाका लागि प्रयोग हुँदै आएका तीन ठाउँमा हमला गरिएको र निशाना सही पुष्टि भएको दाबी गरेका छन् । ‘कारबाही एकदम उचित, सशक्त र प्रभावकारी छ’, म्याककेन्जीले भने । अमेरिकी नेतृत्वमा भएको पछिल्लो संयुक्त कारबाहीले सिरियाको रासायनिक हतियार कार्यक्रम वर्षौं पछि धकेलिने दाबी गरे ।

यसैबीच सिरियाको राजधानी दमास्कसनजिक रहेको पूर्वी घौटा क्षेत्रमा रासायनिक हतियारबाट हमला भएको हुनसक्ने अन्तर्राष्ट्रिय विज्ञहरूले जनाएका छन् ।

विज्ञहरूका अनुसार घौटा र डौमामा पनि यस्ता हतियारबाट आक्रमण भएको अनुमान गरिएका विवरण आएका छन् । यसमा संलग्नलाई कडाभन्दा कडा कारबाहीका लागि संयुक्त राष्ट्रसंघलाई विशेष आग्रह गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो हमला आतंककारी सरह भएको बताउँदै यस्तो अविवेकी हमलाका लागि सिरियाली राष्ट्रपति बसर अल असद जिम्मेवार रहेको आरोप लगाएका छन् । यसका साथै ट्रम्पले सिरियाली सरकारका साझेदार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरान पनि यसमा दोषी रहेको बताएका छन् । यस्तो क्रूर कार्यका लागि सिरियासरकार र उसका सहयोगीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी ट्रम्पले दिका छन् । घौटा र डौमाका यी हमलाका कारण सयौँ मानिसको ज्यान गएको छ । ती क्षेत्रमा ठूलो संख्यामा बालबालिका पनि आक्रमणको शिकार बनेका छन् ।

अन्तर्राष्ट्रिय कानुन उल्लंघन : रूस

मस्को : अमेरिकाले अन्तर्राष्ट्रिय मूल्यमान्यता उल्लंघन गरेर सिरियामा आक्रमण गरेको रूसले आरोप लगाएको छ । फ्रान्स, बेलायतलगायतका देशको सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रूसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो । डौमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले अन्तर्राष्ट्रिय मूल्यमान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको शनिबार बताएका छन्।

अर्का उपाध्यक्ष युरी शभयत्किनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउने गरी आक्रमण भएको टिप्पणी गरेका छन् । संयुक्त आक्रमणले रूससँगको सकारात्मक सम्बन्ध बनाउन कुनै फाइदा नगर्ने उनले स्पष्ट पारेका छन् । रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत सिरियामा भएको आक्रमणको निन्दा गरेका छन् । अमेरिकाका लागि रूसी राजदूत एनातोली एन्तोनोवले भने, ‘एकपटक फेरि हामीलाई धम्काउन खोजिँदै छ । उनीहरूले यसको भीषण परिणाम भुक्तानी गर्नुपर्नेछ । यसको जिम्मेवारी अमेरिका, बेलायत र फ्रान्सले लिनुपर्नेछ ।’ सिरियामा शान्तिवार्ताका पहल भइरहँदा पश्चिमी देशले आक्रमण गरेर वातावरण बिथोलेको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

अपराध : इरान

तेहरान : इरानका सर्वोच्च नेता अयतोल्लाह अलि खमेनीले पश्चिमा शक्तिले सिरियामा गरेको आक्रमणलाई ‘अपराध’को संज्ञा दिएका छन् । ‘म खुलारूपमा घोषणा गर्न चाहन्छु कि अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ । त्यसैले उनीहरू अपराधी हुन्’, खमेनीले भने । आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरूलाई आक्रमण तत्काल रोक्न दबाव दिनुपर्नेमा जोड दिएका छन् ।

चीनद्वारा आलोचना

बेइजिङ : सिरियामा भएको हवाई आक्रमणको चीनले आलोचना गरेको छ ।चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा गरिएको आक्रमणको आलोचना गरेको हो । सिरियाली प्रशासनका विरुद्ध भन्दै गरिएको बल प्रयोगले समस्याको समाधान नगर्ने जनाउँदै चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनको दायरामा फर्किन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नाइङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बलको प्रयोगलाई लगातार विरोध गर्दै आएका छौँ । साथै कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको बताउन चाहन्छौँ ।’आजको अन्नपूर्ण पोष्टमा यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री