बिहीबार, १३ वैशाख २०८१

कर्णालीलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइन्छ : प्रधानमन्त्री

समयपोष्ट २०७५ वैशाख २ गते ०:४०

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइने बताएका छन् । शनिबार मुगुको राराताल किनारमा ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कर्णाली प्राकृतिक स्रोत र जडीबुटीको धनी छ । अब यो प्रदेशलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइन्छ ।’

Advertisement

उनले रारालाई पुग्नैपर्ने पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताए । त्यसका लागि कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण गरिने र हवाई यातायातलाई नियमित बनाइने उनको भनाइ थियो ।

आजको नयाँ पत्रिकामा प्रकाशित यो समाचार खगेन्द्र भट्टराई र नरजन तामाङले लेखेका छन् मुलुक सधैँ पछाडि रहन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले विकसित बनाउनुपर्ने बताए । त्यसका लागि सबैलाई प्रण गर्न उनले अपिलसमेत गरे । ‘भूगोल जस्तोसुकै भए पनि सबै ठाउ“को महत्व उत्तिकै हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘प्राकृतिक रूपमा सुन्दर छ । जडीबुटी छ । कर्णाली झन् महत्वपूर्ण छ ।’ सरकारले कर्णालीलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले रारा र से–फोक्सुन्डोलाई पर्यटकीय सर्किटमा जोडिने बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने र यो वर्ष विद्यार्थी भर्नाका लागि राष्ट्रिय अभियान सञ्चालन गरिने बताए ।

राष्ट्रका नाममा सम्बोधन

राराताल किनारबाटै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले कर्णाली प्रदेश सामाजिक–आर्थिक रूपान्तरणको पर्खाइमा रहेको बताए । उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को संकल्प बोकेर देश विकासको अभियान कर्णालीबाट थाल्ने उद्घोष गरे । ‘नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौँ, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न पनि हो । ‘समृद्ध नेपाल र सुखी नेपाली’को हाम्रो संकल्पलाई कर्णालीसँगै सिंगो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ,’ प्रधानमन्त्रीले सम्बोधनमा भने ।

प्राकृतिक र सांस्कृतिक सम्पदा, सामाजिक र जैविक विविधता र जीवन्त एवं स्वाभिमानी जनता हुँदाहुँदै पनि अपेक्षाकृत विकास गर्न नसकेको उल्लेख गर्दै उनले अब विकासको अभियान सुरु गरिएको बताए । ‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ,’ प्रधानमन्त्रीले भने, ‘हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो । अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’ उनले २०७४ महत्वपूर्ण राजनीतिक उपलब्धिको वर्ष रहेको बताए ।

विविधता नै सामाजिक सम्पदा

हिंसा र विभेद अन्त्य गरिने
उनले हिंसा र विभेदलाई अन्त्य गरिने बताए । ‘प्रथा र प्रचलनका नाममा हुने गरेका महिलाविरुद्धका केही घटनाहरू स्मरण गरिरहेको छु । जेसुकै तर्क वा कारणबाट होस्, अब महिलाविरुद्ध हुने सबै किसिमका हिंसा र विभेद प्रभावकारी ढंगले अन्त्य गरिनेछ,’ सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘बालविवाह, बहुविवाहलाई पूर्णतः निषेध गरिनेछ । जातीय भेदभाव तथा छुवाछुत पूर्ण रूपमा उन्मूलन गरिनेछ । कर्णालीलगायत दुर्गम प्रदेशका जनतालाई विकासको औसत राष्ट्रियस्तरसम्म पु¥याउन राज्यबाट विशेष कार्यक्रम लागू गरिनेछ । तराई–मधेसमा व्याप्त गरिबी, अभाव र अविकासको समस्यालाई सम्बोधन गरिनेछ ।’

कृषिमा आधुनिकीकरण
प्रधानमन्त्री ओलीले दुईतिहाइ जनताको जीवन जिउने आधारका रूपमा रहेको कृषि निर्वाहमुखी मात्र भएको भन्दै यसको आधुनिकीकरण एवं उत्पादन र उत्पादकत्वको वृद्धिमा जोड दिन सरकार लागिपरेको बताए । उनले कृषि अव्यावसायिक, परम्परागत तथा अनुत्पादक रहनुलाई चुनौतीका रूपमा लिएको उल्लेख गरे । कृषिमा निर्भर दुईतिहाइ जनसंख्यालाई पाँच वर्षभित्र २५ प्रतिशतमा सीमित गर्ने, कृषि उत्पादकत्व पाँच वर्षभित्र चार गुणा वृद्धि गरिने प्रधानमन्त्रीको भनाइ छ ।

हिल्सा नाका अवलोकन
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको हिल्सा नाकाको अवलोकन गरेका छन् । पर्यटन वर्षको उद्घाटनपछि उनी हेलिकोप्टरमार्फत हिल्सा पुगेका हुन् । प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश र संघीय सरकारका मन्त्री तथा विशिष्ट व्यक्तिले हिल्सा नाकाको अवलोकन गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले रारामा र्‍याफ्टिङसमेत गरेका छन् । प्रधानमन्त्रीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, एमाले नेता सुवास नेम्वाङलगायतले रारामा र्‍याफ्टिङ गरेका हुन् ।

मुगुबाट विद्यार्थी भर्ना अभियानको सुरुवात
प्रधानमन्त्री केपी ओलीले मुगुको मुगुन कार्मारोङ गाउँपालिकास्थित बुद्ध माविकी छात्रा थिन्लेसाङ्मु लामालाई भर्ना गरेर विद्यार्थी भर्ना अभियानको सुरुवात गरेका छन् । शनिबारबाटै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु गरिएको हो । प्रधानमन्त्रीले उनलार्ई विद्यालय पोसाक, पाठ्यपुस्तक र झोला वितरण गरेका हुन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शनिबार नै सोही विद्यालयमा कार्मायाङ्जिङ लामालाई भर्ना गरे । त्यस्तै, रक्षामन्त्री ईश्वर पोखरेलले नेरा मावि मुर्मामा सूर्य रोकायालाई र पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पुन्नबहादुर पुलाललाई दुधे निमावि कोटिलामा भर्ना गराए । एमाले नेता सुवासचन्द्र नेम्वाङले विनिता नेपाली र प्रधानमन्त्री पत्नी राधिका शाक्यले छिरिङछोम्तेन लामालाई भर्ना गराए ।

विविधता नै सामाजिक सम्पदा
प्रधानमन्त्री ओलीले सामाजिक विविधतालाई सम्पदाका रूपमा औँल्याए । ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक सामाजिक बनोट हाम्रो विशेषता मात्रै होइन, सामाजिक सम्पदासमेत हो । विविधता, बहुलता, सामाजिक सद्भाव र सांस्कृतिक साहचर्य हाम्रो समाजको विशेष पहिचान हो । यसैमाथि अडेको छ हाम्रो बलियो राष्ट्रिय एकता,’ प्रधानमन्त्री ओलीले भने, ‘सामाजिक सद्भावमाथि आधारित बलियो राष्ट्रिय एकता निर्माण गर्न र शान्ति–सुव्यवस्था कायम गर्नका लागि सरकार दृढ संकल्पित रूपमा प्रस्तुत हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री