शुक्रबार, ७ वैशाख २०८१

१९५० को सन्धि प्रतिस्थापनको विषय टुंगिएन

समयपोष्ट २०७५ वैशाख १ गते १:५७

नेपाल र भारतबीच भएका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजीको आठौ‌ं बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय टुंगिएन।

Advertisement

दिल्लीस्थित ईपीजी सचिवालय रहेको रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए)मा बिहीबार र शुक्रबार करिब आठ घण्टा छलफल भएको थियो।

‘१९५० को सन्धिका विषयमा अझै छलफल गर्नुपर्ने र समान धारणा बनाउनुपर्नेछ, यथास्थितिमा सन्धि नरहने त स्पष्ट छ, तर सन्धिले कुन स्वरूप लिन्छ भन्ने तय हुन बाँकी छ,’ ईपीजीका नेपाल संयोजक डा. भेषबहादुर थापाले दिल्लीबाट टेलिफोनमा भने। उनले यो सन्धि टुंगिएपछि अन्य विषयमा धेरै समस्या नहुने निष्कर्ष पनि सुनाए।

स्रोतका अनुसार नेपालले पेस गरेको सन्धिमा उल्लेखित दुवै देशका नागरिकले पाउने राष्ट्रिय व्यवहारको विषयमा सहमति जुट्न सकेको छैन। आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
यसबारे भारतीय पक्षले मौखिक धारणा मात्रै राखेको र आगामी बैठकमा लिखित रूपमै धारणा ल्याएपछि छलफल गरेर टुंग्याउने सहमति भएको छ।

अर्को बैठक जेठ १८ देखि २० सम्म काठमाडौंमा बस्ने सहमति पनि बैठकले गरेको ईपीजीका सदस्य डा। राजन भट्टराईले जानकारी दिए। ‘१९५० को सन्धिका विषयमा पनि थप प्रगति गरेका छौँ,’ उनले भने, ‘जेठ १८ देखि २० सम्म बस्ने बैठकले सबै विषय टुंग्याएर साझा प्रतिवेदन बुझाउने परिस्थिति बनाउनेछ। आगामी बैठक ईपीजीको अन्तिम बैठक हुनेछ।’ ईपीजीको कार्यकाल आगामी असारमा सकिँदैछ।

संयोजक थापाले आ–आफ्ना विचारधारा लिखित र मौखिक रूपमा राखिएको, दुवै पक्षले त्यसमा थप अध्ययन गर्ने र आगामी बैठकबाट सहमति गर्ने कोसिस हुने पनि बताए। ‘हामी लक्ष्यतिर उन्मुख छौँ, यो कार्यकालभित्रै सरकारलाई प्रतिवेदन दिनेछौँ,’ थापाले भने।

बैठकमा १९५० को सन्धि, नेपाल भारत सीमा व्यवस्थापन, व्यापार, जलस्रोतसम्बन्धी सहकार्यलगायत सबै विषयमा सहमति जुटाउने कोसिस भएको थियो ।
बैठकमा नेपालतर्फका संयोजक थापा तथा सदस्यहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा। राजन भट्टराई सहभागी थिए। भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू जयन्त प्रसाद, महेन्द्र पी लामा र बिसी उप्रेती बैठकमा सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री