यस्ता पनि वडाअध्यक्ष !
रामहरि श्रेष्ठ
ओखलढुंगा । नवनिर्वाचित जनप्रतिनिधिहरुले सरकारी बजेटबाट आफ्ना लागि बिलासी सामाग्रीहरु किनेको समाचार बेलाबेला आउने गरेका छन् । महङ्गो मोबाइलदेखि विलासी गाडी किन्न उनीहरुको होडबाजी नै हुने गरेको छ ।
तर, ओखलढुंगामा एक वडा अध्यक्षले भने आफ्ना लागि मोटरसाइकल खरिदका लागी छुट्याएको बजेटले स्वास्थ केन्द्र जाने बाटो निर्माण गरेका छन् ।
चम्पादेवी गाउँपालिका ७ का वडा अध्यक्ष शुरेश थापाले वडा कार्यालयलाई मोटरसाइक खरिदका लागी बिनियोजन गरेको बजेटबाट स्वास्थ्य केन्द्रसम्म जाने बाटो निर्माण गरेका हुन् ।
वडा अध्यक्षको सहजताका लागी गाउँपालिकाले मोटरसाइकल किन्न पाँच लाख रुपैयाँ बजेट दिएको थियो । तर, उनले सो बजेटबाट आफ्नो वडामा रहेको स्वास्थ्य केन्द्र सम्म पुग्ने बाटो निर्माण गरेका हुन् ।
‘मोटर साइकलभन्दा सर्वसाधारणको स्वास्थ्य ठूलो कुरा हो । स्वास्थ्य केन्द्रसम्म पुग्ने बाटो थिएन त्यसैले मोटरसाइकलको बजेट बाटोमै खर्चिए ’वडा अध्यक्ष थापाले भने ।
साविकको फुलबारी गाविस हाल दुई वटा वडा भएकाले आफ्नो वडामा स्वास्थ्य चौकी नपरेपछि स्वास्थ्य केन्द्र स्थापना गर्न समेत थापाले जग्गा व्यवस्थापन र भवन निर्माणका काममा अगुवाइ गरेका थिए । अन्य वडाले उक्त रकम सवारी साधन खरिदमा खर्च गरेका छन् ।
कोही अख्तियार धाउँदै, कोही जनसेवा गर्दै
यता, चम्पादेवी गाउँपालिकाका प्रमुख सहित केही कर्मचारी तथा जनप्रतिधी भने भ्रष्टाचारको आरोप खेपिरहेका छन् । स्थानीय बासिन्दाले भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिका प्रमुख नबराज केसी सहित प्रशासकीय अधिकृत, लेखापाल तथा केही वडा अध्यक्ष विरुद्ध जिल्ला प्रशासन कार्यालय र अख्तियारमा समेत उजुरी गरेका छन् ।
केहि दिन अघि मात्रै वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर खत्री मादक पदार्थ सेवन गरी सेवाग्राही तथा कर्मचारीलाई लागीगलौज गर्दा २४ घण्टा प्रहरी हिरासतमा बसेका थिए ।
प्रतिक्रिया