बिहीबार, ६ वैशाख २०८१

धनी र गरिबको दुरी नबढ्ने गरी विकासको मोडल तय गरेका छौँ : प्रचण्ड

समयपोष्ट २०७४ चैत २२ गते १४:१२

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आर्थिक समृद्धिको लागि धनी र गरिबको दुरी नबढ्ने गरी विकासको मोडल तय गरेको बताउनुभएको छ ।

Advertisement

दोस्रो सहकारी महासम्मेलनको सम्मेलनलाई सोल्टी होटेलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा समाजवादको आधार निर्माण हुने गरी आर्थिक विकासको मोडल तय गरेको बताउनुभयो ।

‘अव राज्य कतातिर जाने हो, हाम्रो विकासको बाट कस्तो हुने हो भनेर हामीले राजनीतिक रुपले संविधानतः स्पष्ट पारेका छौँ अव हामी जाने समाजवादको बाटो हो,’ उहाँले भन्नुभयो – ‘हामीले समाजवाद उन्मुख राज्य र तीनखम्बे नीति अन्तर्गत आजको विश्व परिस्थिति अनुकूल सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा समाजवादको आधार निर्माण हुने गरी धनी र गरिबको दुरी नबढ्ने गरी विकासको मोडल तय गरेका छौँ ।’ यो सबै नेपालीका लागि खुसी र गर्वको कुरा रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

अध्यक्ष प्रचण्डले सहकारी आन्दोलन राज्यलाई एकताको सूत्रमा बाँध्ने आन्दोलन भएको पनि बताउनुभयो । ‘सहकारी आन्दोलनमा विभेद हुँदैन, समाजका विपन्न वर्ग समुदायलाई सम्पन्न गर्ने बाटोको खोजी गर्छ यसर्थमा यो सहकारी आन्दोलन एकताको सूत्रमा बाँध्ने आन्दोलन पनि हो’ उहाँले भन्नुभयो – ‘जति सहकारी आन्दोलन लाई बलियो बनाउँछौ, त्यति राष्ट्रिय एकता बलियो हुन्छ, सामाजिक न्याय स्थापित हुन्छ र त्यति नै समृद्ध र सभ्य समाजको निर्माण गर्न सकिन्छ ।’

अध्यक्ष प्रचण्डले सिङ्गै देशलाई धनी बनाउने, सबै जनतालाई समृद्ध, शिक्षित र सभ्य बनाउने अभियान भनेको पनि सहकारीताको अभियान भएकोले राज्यको तर्फबाट यसमा पुरै सहयोग हुनुपर्ने बताउनुभयो । ‘राजनीतिक नेतृत्वको तर्फबाट यसमा पूरै सहयोग हुनुपर्दछ,’ उहाँले भन्नुभयो – ‘यो आन्दोललाई सामाजिक न्यायको आन्दोलन, सभ्य समाज निर्माणको आन्दोलन, आर्थिक अभिबृद्धिको मौलिक आन्दोलनको रुपमा, हाम्रो संस्कृति र परम्परालाई विकसित गर्ने आन्दोलका रुपमा लिईनुपर्दछ ।’

अध्यक्ष प्रचण्डले नेपाल सुशासन स्थिरता र विकासको महाअभियानको थालनी सँघारमा रहेकोले अब विकासको नयाँ मोडलमा प्रवेश गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । ‘यसलाई राज्यले, राजनीतिक नेतृत्वले ठीक ढङ्गले आत्मसात गरेर सङ्कल्पको साथ अगाडी जान सक्दा केहि वर्षभित्रमा नै नेपाललाई विकासको एउटा नयाँ मौलिक मोडलसहित नयाँ चरणमा लैजान सकिन्छ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री