शुक्रबार, १४ वैशाख २०८१

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र १० औं वर्षमा, ८४० जनाको मिर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण

समयपोष्ट २०७९ वैशाख १२ गते ७:३१

Advertisement

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० औं वार्षिकोत्सव मनाएको छ । केन्द्रले आईतवार राजधानीमा एक समारोहको आयोजना गरी १० औं वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै केन्द्रका कार्यकारी निर्देशक डा.पुरकारचन्द्र श्रेष्ठले केन्द्रले १० वर्षको अवधिमा ८४० जनाको मिर्गौला र ८ जनाको कलेजो सफल प्रत्यारोपण गरेको जानकारी दिए । उनले केन्द्रबाट गरिएका प्रत्यारोपण ९९ प्रतिशत सफल रहेको पनि दाबी गरे ।

‘मिर्गौला प्रत्यारोपण वार्षिक रुपमा २ सय जनाको हुने गरेको छ,’ उनले भने, ‘तर, माग ३ हजारको छ ।’ उनका अनुसार केन्द्रले ६ वर्षदेखि हप्तामा ६ देखि ८ जनाको मिर्गौला प्रत्यारोपण गर्दै आएको छ । प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणका लागि ४०० जनाले नाम टिपाएको जानकारी दिंदै डा श्रेष्ठले भने ‘अहिलेको क्षमताअनुसार सबैको पालो आउन २ वर्ष लाग्छ, त्यसैले केन्द्रको क्षमता विस्तार गर्न आवश्यक छ ।’

राष्ट्रिय प्रत्यारोपण केन्द्रले धान्न नसक्ने भएकाले प्रदेशस्तरमा प्रत्यारोपण सेवा विस्तार गर्नुपर्नेमा उनले जोड दिंदै उनले भने ‘अहिलेको अवस्थामा सबै बिरामीको मिर्गौला प्रत्यारोपण गर्न र सहज सुविधा दिनका लागि ७ वटै प्रदेशमा कम्तिमा पनि १ वटा प्रत्यारोपण केन्द्र आवश्यक छ।’

डा. श्रेष्ठले भारतमा गएर मिर्गौला प्रत्यारोपण गर्दा कम्तिमा ५० लाख लाग्ने तथ्य पेश गर्दै केन्द्रले वार्षिक २०० जनाको मिर्गौला प्रत्यारोपण गर्दा १ अर्ब विदेशिनबाट रोकिने बताए । मिर्गौला प्रत्यारोपणमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्वका विकसित मुलकमा भएजत्तिकै स्तरीय सेवा दिएको दावी गर्दै उच्चपदस्थ व्यक्तिहरू प्रत्यारोपणका लागि विदेश जाने गरेकोमा उनले दु:ख व्यक्त गरे । उच्च पदस्थ व्यक्ति विदेशमा गई महंगो उपचार गर्दा राष्ट्रको स्रोतको दुरुपयोग भएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाख खापुङले राष्ट्रिय प्रत्यारोण केन्द्रले छोरो अवधिमा उत्कृष्ट सेवा दिएको भन्दै डा. पुकार र केन्द्रको टिमलाई धन्यवाद दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाँईले केन्द्रले छोटो अवधिमा सीमित स्रोत, साधनको उपलब्धतामा निकै उदारणीय काम गरेको भन्दै केन्द्रको प्रसंशा गरिन् । ‘केन्द्रको काम निकै उदाहरणीय छ, तपाईहरु यस्तै काम गर्दै जानुहोस्, हामी बजेटको कमी हुन दिने छैनौं’ -उनले भनिन् ।

वार्षिकाउत्सव समारोहमा प्रत्यारोपण केन्द्रले प्रकाशन गरेको स्मारिका बिमोचन गरिएको थियो । वर्षभरिमा केन्द्रमा उत्कृष्ट काम गर्ने डाक्टर, नर्स तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

यसरी जन्मिएको थियो केन्द्र

२०६५ सालसम्म नेपालमा मृगौला प्रत्यारोपणको अवस्था दयनीय थियो । त्यसभन्दा अगाडि २०६१ सालदेखि वीर अस्पतालमा मृगौला प्रत्यारोपणको काम सुरु भएको भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । त्यसो त २०५५ सालमै एभरेष्ट नर्सिङ होममा मृगौला प्रत्यारोपणको काम सुरु भएको थियो । भारतीय चिकित्सक ल्याएर मृगौला प्रत्यारोपण सुरु गरिएको भए पनि त्यो त्यति प्रभावकारी थिएन ।

तर, सन् २००८ अगष्टमा तत्कालीन औषधी व्यवस्था विभागका पदाधिकारी नवीन श्रेष्ठको नेतृत्वमा अष्ट्रेलियाबाट ट्रान्सप्लान्ट सर्जन ल्याएर त्रि.वि. शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको नयाँ युग सुरु गरिएको थियो । वीर अस्पतालमा डिसेम्बर २००८ बाट विधिवतरुपमा प्रत्यारोपण सुरु भएसँगै मानव अङ्ग प्रत्यारोपणमा नयाँ युगको सुरुवात भएको थियो । वीर अस्पतालका सर्जन डाक्टर पुकारचन्द्र श्रेष्ठ बेलायतमा गएर ६ वर्ष मानव अङ्ग प्रत्यारोपणसम्बन्धी अध्ययन र अभ्यास गरी नेपाल फर्किएपछि सरकारी अस्पतालमै प्रत्यारोपणले गति लिएको थियो । सन् २००८ डिसेम्बरबाट सुरु भएको प्रत्यारोपणको काम सन् २०१२ मा आइपुग्दा जम्मा ९९ वटामात्रै गर्न सकिएको थियो । यद्यपि, ९९ प्रतिशत प्रत्यारोपण सफल भएको थियो ।

जतिबेला वीर अस्पतालमा पुकारको टिमले काम गरिरहेको थियो, त्यतिबेला वीर अस्पतालका नि. निर्देशक थिए डाक्टर प्रविण मिश्र । वीर अस्पतालमा राम्रो ट्रान्सप्लान्ट युनिटसम्म नभएको देखेका मिश्र जब स्वास्थ्य मन्त्रालयको सचिव भए, उनकै पहलमा भक्तपुरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना भयो । भक्तपुर अस्पतालमा गाइनो वार्ड सञ्चालनमा ल्याएको भवनमा गाइनो वार्ड नचलेपछि ४ वर्ष ताला लागेको भवनमा मानव अङ्ग प्रत्यारोपणको काम गर्ने तयारी भयो ।

त्यसका लागि स्वास्थ्य सचिवले विकास समिति बनाउन लगाए र त्यसै मातहत रहने गरी गठन आदेशबाट केन्द्रको स्थापना गराए । केन्द्रको स्थापना भएपछि २०६९ वैशाख १८ गते डाक्टर पुकारचन्द्र श्रेष्ठलाई कार्यकारी निर्देशक बनाएर मृगौला प्रत्यारोपणको काम सुरु भयो । डा. पुकारले डाक्टर कल्पना श्रेष्ठ, डाक्टर ब्रह्मदेव झा, डाक्टर राकेश वर्मा, नर्सिङ स्टाफ इन्दिरा प्रधान लगायतको टोली लगेर केन्द्रलाई सञ्चालनमा ल्याए । र, एक सातामा ८ वटासम्म मृगौला प्रत्यारोपण गरी केन्द्रलाई सफलताको बाटोतर्फ डोहोर्‍याए । आज ९ वर्ष पुरा गर्दा केन्द्रले ८४० जनाको मिर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण गरेको छ । ६ वर्षदेखि हप्तामा ६ देखि ८ जनाको मिर्गौला प्रत्यारोपण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री