
सरकारले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना आफै बनाउने निर्णय गरेको छ ।
बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी चाईना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा) लाई निकाली आफै बनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार चिनियाँ कम्पनीसँग वार्ता गरेर परियोजना अघि बढाउने गरी यसअघि भएको मन्त्रिपरिषदको निर्णयअनुसार काम हुन नसकेकाले अब स्वदेशी लगानीमा अघि बढाउने गरी निर्णय भएको हो ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा पनि बुढीगण्डकीबाट गेजुवालाई निकालेको थियो । तर पछि केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि आयोजना गेजुवालाई नै दिने निर्णय गरेको थियो ।
१२ सय मेगावाट उत्पादन क्षमताको बुढीगण्डकी पटक–पटकको राजनीतिक विवाद र सरकारैपिच्छे हुने निर्णयहरुको कोपभाजनमा पर्दै आएको छ । आयोजना कहिले आफै बनाउने त, कहिले बिनाप्रतिस्पर्धा गेजुवालाई दिने निर्णय यसअघिका सरकारबाट भएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा बुढीगण्डकी गेजुवालाई दिने निर्णय गरेका थिए । तर, २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यसलाई खारेज गरिदियो । पछि केपी शर्मा ओली नेतृत्वमा बहुमतको सरकार गठन भएपछि आयोजना फेरि गेजुवालाई नै दिने निर्णय भएको थियो ।








प्रतिक्रिया