शनिबार, १५ वैशाख २०८१

माथिल्लो तामाकोशीले वैशाख महिनाभित्रै उत्पादन थाल्ने, भदौसम्ममा ४५६ मेगावाट विद्युत सिस्टममा

समयपोष्ट २०७८ वैशाख ५ गते १५:४५

Advertisement

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले यसै महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ ।

संसद्को अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने बताए ।

उनले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तीव्र पारिएको बताए । उनले भने, ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’

बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमश उत्पादन थप्दै लगिने बताए । यसरी आगामी भदौ महिना भित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए । उनले भने, ‘हामी वैशाखभित्रमा पहिलो युनिट र लगातार जेठ, असार, साउन, भदौ हुँदै हरेक महिना थप ७६ मेगावाट थप्दै भदौसम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत सिस्टममा ल्याउँछौँ ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन सुरु गर्ने योजना रहेपनि वैशाख ३१ गतै नै पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताए । वैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेपनि एक/दुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको उनले बताए । उनले भने, ‘वैशाख २० गते पहिलो मेसिन घुमाउँछौं । त्यसमा पनि सबै कुराले साथ दियो भने एक/दुई दिन अगाडि आउन सक्छ तर अहिले २० गते भनेका छौं । त्यसपछि उत्पादन सुरु गर्ने त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो ।’

आयोजनाको काममा ढिलाइ भएको भन्ने भएपछि आफू एक दुई दिनअघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि बताए । साउन मसान्तसम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु भइसक्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री