मुख्यमन्त्री गुरुङ नाचे खैँजडीको तालमा छमछमी


कृष्ण न्यौपाने
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’ को घोषणा समारोह तनहुँको भिमाद नगरपालिका–९ भानुमतिमा तय भएबमोजिम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शनिबार साँझ नै त्यहाँ आइपुगे ।

मुख्यमन्त्रीको गुरुङको साथमा थिए आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा ।

Advertisement

उनीहरुलाई स्थानीयले फूलमालाले स्वागत गर्दा रात परिसकेको थियो । मुख्यमन्त्री लगायत मन्त्रीहरुलाई स्वागत गरिसकेपछि स्थानीयले सांस्कृतिक कार्यक्रमको तयारी थाले । स्थानीयको तयारीपछि मुख्यमन्त्री गुरुङ लगायत मन्त्रीहरु सांस्कृतिक कार्यक्रमतर्फ अघि बढे ।

लगत्तै स्थानीयले खैँजडीको तालमा मुख्यमन्त्री र मन्त्रीहरुलाई स्वागत गर्दै गीत गाउन शुरु गरे । मुख्यमन्त्रीलगायत तीन मन्त्री गाउँमा आउँदा स्थानीयमा खुशीको सीमा नै थिएन । खुशीलाई स्थानीयले गीतमा यसरी प्रस्तुत गरे –

‘विकास गर्न भनेर मन्त्रीज्यू आएका छन् मनमा सारै खुशी लाको छ’

स्थानीयको स्वागत गीतसँगै मुख्यमन्त्री गुरुङ आफैँले खैजडी बजाउन थाले र गीतको तालमा नाच्न पनि । मुख्यमन्त्रीलाई साथ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री चुमान र भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री थापासमेत नाच्न अगाडि बढे । मुख्यमन्त्री र मन्त्रीहरुलाई यहाँका स्थानीय युवतीले कौरा गीतमा साथ दिए ।

प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रका एक/एक ठाउँलाई नमूना कृषि गाउँको रुपमा छनौट गरे बमोजिम भानुमति पनि नमूना कृषि गाउँको रुपमा छनौट भएको छ ।

Advertisement

नमूना गाउँको रूपमा छनौट भएदेखि नै यहाँका स्थानीय उत्साहित भएका छन् र यस ठाउँलाई नमूना बनाउने दृढता व्यक्त गरेका छन् जसलाई स्थानीयले गीत मार्फत् यसरी प्रस्तुत गरे –

‘सबै जना मिली कम्मर हामी कसे नमूना गाउँ बन्छ अवश्य’

आफ्नै ठाउँमा काम गरे यही सुन फल्छ भन्ने भावना बोकेका यहाँका स्थानीय गाउँलाई नमूना बनाउँदै पर्यटकको आकर्षणको केन्द्रविन्दु बनाउन जुटेका छन् । सबैजना मिलेर अगाडि बढे उक्त लक्ष्य पूरा हुनेमा यहाँका स्थानीय ढुक्क छन् ।

‘सुन फल्छ नि यसै ठाउँमा सबैजना मिली काम गरे गाउँमा’

नमूना गाउँको रूपमा छनौट भएको यस ठाउँमा हालै मात्र पाथर्दी घरबाससमेत सञ्चालनमा आइसकेको छ । यहाँ आउने पाहुनालाई कौरा गीतमार्फत् स्वागत गर्ने गरिएको घरबास सामुदायिक व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले बताए ।

नगरपालिका–९ का अध्यक्ष इमान थापाले यस ठाउँ नमूना कृषि गाउँको रूपमा छनौट हुँदा स्थानीयवासीमा छुट्टै रौनक छाएको बताए । उनले भने, ‘मुख्यमन्त्री र मन्त्रीहरु नै यहाँ आएर स्थानीयको हौसला बढाउन लागे, यसले हामीहरुलाई काम गर्न हौसला प्रदान गरेको छ ।’

कौरा संरक्षणका लागि सहयोग

सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मौलिक कौरा संरक्षणका लागि रु पाँच हजार सहयोग गरे ।

त्यस्तै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले रु पाँच हजार, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले रु दुई हजार, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले रु एक हजार पाँच सय सहयोग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री