शनिबार, १५ वैशाख २०८१

‘बाचुञ्जेल रक्तदान र मरेपछि अङ्ग दान’

समयपोष्ट २०७५ फागुन ३० गते १९:०९

Advertisement

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन्।

विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य स् जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशौं नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उपप्रधानमन्त्री यादवले अङ्ग दान गर्ने घोषणा गरेका हुन्।

सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरे । उनीहरुलाई मरणोपरान्त काम लाग्ने सबै अङ्ग दान गरेको कार्ड कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रदान गरे ।

उपप्रधानमन्त्री यादवले सरकारले देशभरका विभिन्न भागमा जनशक्ति र प्रविधिसहितको मानव अङ्ग प्रत्यारोपण केन्द्रको पहुँच पु¥याउने तयारी गरेको बताए ।

मिर्गौला रोगीका लागि डायलायसिसभन्दा प्रत्यारोपण प्रभावकारी हुने उनको  भनाइ थियो । वर्तमान विश्वमा नसर्ने रोग मृत्युको मुख्य कारण बनेकाले उनले नसर्ने रोग र अङ्ग फेल हुने रोगबाट बच्न बचाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए। स्वास्थ्य राज्यमन्त्री डा यादवले मिर्गौला प्रत्यारोपीहरु अरू स्वस्थ्य व्यक्तिसरह स्वस्थ्य र सक्षम जीवन बिताउन सकेको बताए । उनले दुर्घटनालगायत विभिन्न कारणले मृत्यु हुने बिरामीका अङ्ग दान गर्न सके धेरै बिरामीले नयाँ जीवन पाउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

कलाकारद्वय श्रेष्ठ र आचार्य, नेपालका लागि कोरियाली राजदूत योङ, अष्ट्रेलियाका राजदूत पिटर वर्ड, केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ, डा राकेशकुमार वर्मालगायतले मानव अङ्ग दान गर्नेबारे आम नागरिकलाई जानकारी दिनुपर्नेमा जोड दिएका थिए ।

‘बाचुञ्जेल रक्तदान र मरेपछि अङ्ग दान’ गर्नेबारे जनचेतना फैलाउनुपर्ने उनीहरुले बताए । विश्व मिर्गौला दिवसका अवसरमा साताव्यापी रुपमा आयोजना गरेको ब्याडमिन्टन, दौड, मिर्गौला दान गरेका र प्रत्यारोपण गरेका बिरामी तथा केन्द्रका चिकित्सकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगितासमेत आयोजना गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । गायक दीपक बज्राचार्यले साङ्गीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री