शुक्रबार, १४ वैशाख २०८१

बीमा भनेको आफ्नो मूल्य तोक्ने प्रक्रिया पनि हो

मनोजकुमार भट्टराई, सीईओ, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी

समयपोष्ट २०७५ फागुन २४ गते १३:३४

Advertisement

प्राइम लाइफको पछिल्लो अवस्था कस्तो छ ?

विगत चार–साढे चार वर्षदेखि प्राइम लाइफको अवस्था असाध्यै सुधारोन्मुख छ । हाम्रो कम्पनी दश वर्ष पूरा गरेर एघार वर्षमा चलिरहेको छ । विगत ६ वर्षमा हाम्रो व्यवसाय जुन गतिमा विस्तार हुनुपर्ने थियो, त्यो गर्नुपर्ने भन्दा निकै न्यून भइरहेको थियो । अहिले इन्डष्ट्रिजले जुन गतिमा व्यावसायिक सफलता हासिल गर्दै गइरहेको छ, जुन किसिमको बीमा शुल्क सङ्कलन गरिरहेको छ, त्यो लेबलमा हाम्रो कम्पनी पुगेको छ । इन्डष्ट्रिज एभरेजभन्दा माथि अझै जान सकेका छैनन् तर एभरेजमा हामी पुगिसकेका छौँ ।

अर्को, हामीले सातै प्रदेशमा प्रादेशिक कार्यालयहरूको स्थापना गरिसकेका छौँ । हाम्रा शाखा र शाखाअन्तर्गतमा उपशाखाहरू रहेका छन् । केही ठाउँमा हामीले सम्पर्क कार्यालय भनेर पनि राखेका छौँ । शाखा कार्यालयहरूले सबै बीमाका सेवा–सुविधा बीमितलाई त्यहीँबाट दिन्छ । बीमा लेख धितो राखेर कर्जा दिने, दाबी फछ्र्यौट शाखा कार्यालयबाट नै हुन्छ । उपशाखा कार्यालयले नयाँ बीमा योजना जारी गर्ने र नवीकरण बीमा शुल्क लिने काम गर्दछ । सम्पर्क कार्यालयबाट सामान्यता एक अथवा दुई कर्मचारीले त्यस क्षेत्रका मानिसहरूलाई बीमाको जानकारी गराउने, सचेतना गराउने, प्रस्ताव फारम वितरण, सङ्कलन र बीमा शुल्क सङ्कलन गरेर नजिकको शाखा अथवा उपशाखामा लगेर रसिद काट्ने काम गर्छन् । प्रादेशिक कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालय र सम्पर्क कार्यालय गरेर आजको दिनमा १ सय ४४ वटा संस्थापनाहरू  छन् । त्यसलाई जिल्लागत रूपमा भन्नुपर्दा अहिले ७७ जिल्लामध्ये हुम्लाको सिमिकोट र रुकुमपूर्वमा हाम्रो शाखा पुगेका छैनन् । बाँकी सबैमा हामी पुगेका छौँ ।

नयाँ कम्पनी आएसँगै अहिले बिजनेस खोसाखोसको जस्तो अवस्था छ । यसलाई व्यवस्थित गर्न के गर्नुपर्ला ?

नयाँ कम्पनी आउनु राम्रो हो । कतिपय अवस्थामा सप्लाई ड्रिभन मार्केटिङले पनि राम्रो काम गर्छ । मार्केटिङको दुईवटा स्टाइल न हो, या त सप्लाई ड्रिभन या डिमान्ड ड्रिभन । आधारभूत आवश्यकताका कुराहरू गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा डिमान्ड ड्रिभन हुन्छन् । त्यो मान्छेले खोजेरै हिँड्छ । जसरी पनि पुर्याइदिनुपर्यो। त्यसपछि सप्लाई हुन्छ । बीमालाई हामीले अहिलेसम्म डिमान्ड ड्रिभन बनाउन सकेका छैनौँ । हामीले सप्लाईबाट नै बीमा पुर्याउनु पर्नेछ । सप्लाई बढाउँदै जाँदा बिस्तारै त्यसको उपभोग गर्ने मानिसको पनि सङ्ख्या बढ्दै जान्छ । सप्लाई नभएको अवस्थामा खोजेर नगर्ने पनि हुन सक्छ । त्यस कारण धेरै सङ्ख्यामा बीमा कम्पनी आइरहँदा बीमाप्रति मानिसहरूको सचेतना, जागरुकता बढ्दै जान्छ । किनभने धेरै मानिसहरूले एउटै कुरा बढी गर्छन् । एउटाले मात्र कुरा गर्नुभन्दा धेरैले कुरा गर्दा मानिसहरूमा त्योप्रति आकर्षण बढ्दै जान्छ । त्यति हुँदाहुँदै बजारमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्ने सन्दर्भमा मैले अन्य कम्पनीले बिजनेस खोसाखोस गर्यो भन्न मिल्दैन । तर बजारमा त्यस किसिमका थुप्रै कुराहरू आइरहेका छन् । खालि आफ्नो व्यवसाय वृद्धि गराउन गलत सूचना, तथ्याङ्क अथवा गलत प्रलोभन देखाएर बीमा गराएको हो भने यो नियमनकारी निकायले नियन्त्रण गर्नुपर्ने विषय हो । यसका लागि नियमनकारी निकायले तथ्याङ्क सङ्कलन गर्ने, कुनै पनि कम्पनीको व्यवसाय विस्तारलाई हेर्ने र तुलनात्मक रूपमा अध्ययन गर्ने गर्नुपर्छ । दशवटा कम्पनी बजारमा आएका छन् । ती सबैको व्यवसाय एकैनासले विस्तार भएको छ भने भन्ने कुरा आएन तर कुनैको सारै कम, कुनैको सारै बढी, कुनैको औषत भइरहेको छ भने ती विषयमा ध्यान दिन जरुरी छ ।

एकै पटक आएका कम्पनीहरूमा केहीले सारै अपत्यारिलो ढङ्गले पुराना कम्पनीले भन्दा पनि ज्यादै व्यवसाय विस्तार गरेका छन् भने त्यो कसरी सम्भव भयो त ? कि योजना अति आकर्षक हुनुपर्यो, होइन भने हुनै नसक्ने सपना बाँढेर नै त्यसो गरेको हुन सक्छ । यसले कुनै एक कम्पनी विशेषलाई मात्र नभएर पूरै उद्योगलाई नै बद्नाम गर्छ ।

एकै पटक आएका कम्पनीहरूमा केहीले सारै अपत्यारिलो ढङ्गले पुराना कम्पनीले भन्दा पनि ज्यादै व्यवसाय विस्तार गरेका छन् भने त्यो कसरी सम्भव भयो त ? कि योजना अति आकर्षक हुनुपर्यो, होइन भने हुनै नसक्ने सपना बाँढेर नै त्यसो गरेको हुन सक्छ । यसले कुनै एक कम्पनी विशेषलाई मात्र नभएर पूरै उद्योगलाई नै बद्नाम गर्छ । किनभने बीमितले कुनै बीमा कम्पनीको कुरा गर्दैन कि उसले बीमाले झुक्यायो भन्छ । यसले गर्दा समग्र बीमा कम्पनी त्यसमा मुछिन पुग्छ । अर्को, हाम्रो देशमा बीमा कम्पनीको सङ्ख्या नै बढी भयो । भारतमा १ अर्ब ३० करोड जनसङ्ख्या रहेको छ । त्यहाँको आर्थिक वृद्धिदर पनि एकदम राम्रो छ । त्यहाँ जम्मा २४ वटा बीमा कम्पनीहरू छन् । हामी २ करोड ९० लाख जनसङ्ख्या भएको मुलुकमा १९ वटा जीवन बीमा कम्पनीहरू छन् ।

एउटा कम्पनीले आफ्नो कम्पनीको बोनस दरबारे न्यूनतम यति, अधिकतम यति भनेर विज्ञापन गरिरहेको छ । तर उसको न्यूनतम त्योभन्दा कम छ । उसले तीन–तीन महिनामा प्रकाशन गर्ने आर्थिक विवरणमा कम दरकै बोनस निकाल्छ ।

यदि सही ढङ्गले काम गर्ने हो भने सङ्ख्याले पनि केही फरक पार्दैन थियो । एउटै कम्पनीले धेरै व्यवसाय गर्नुभन्दा धेरै कम्पनीले ठिक्क–ठिक्क गथ्र्यो । त्यस कारण यसमा नियमनकारी निकायले नै बुझेर के गर्दा सही हुन्छ, त्यहीअनुसार उपाय अपनाउनुपर्ने हुन्छ । केही कुराहरूमा नियन्त्रण गर्नुपर्ने हुन सक्छ । केही योजनाहरूमा त्यस्ता झुक्याउन सक्नेखालका प्रावधानहरू छन् भने त्यसमा पनि ध्यान दिन जरुरी छ । जस्तो– एउटा कम्पनीले आफ्नो कम्पनीको बोनस दरबारे न्यूनतम यति, अधिकतम यति भनेर विज्ञापन गरिरहेको छ । तर उसको न्यूनतम त्योभन्दा कम छ । उसले तीन–तीन महिनामा प्रकाशन गर्ने आर्थिक विवरणमा कम दरकै बोनस निकाल्छ । किनकि त्यहाँ त सही सूचना दिनुपर्यो । यता, विज्ञापनमा त्योभन्दा बढीलाई न्यूनतम भनेर निकालिरहेको अवस्था छ । त्यो चिजलाई हामीले भन्दा डाहा गर्यो भन्ला । तर यो कुरालाई नियमनकारी निकायले त हेर्नुपर्यो ।

नियमनकारी निकायले गलत हुन दिँदैन भन्ने मान्यताले नै हामीले काम गरिरहेका हौं । हामी पनि उहाँहरूप्रति पूर्णरूपमा आश्रित छौँ । कम्पनीले गलत गरे नियामक निकाय छ है भन्ने आश बीमितलाई पनि छ । त्यस कारण ती कुरालाई नियमनकारी निकायले अलि राम्रोसँग हेरिदिनुपर्छ ।

अझै पनि बीमाको आवश्यकता महसुस गर्नेको सङ्ख्या न्यून छ, यसलाई बढाउन के गर्नुपर्ला ?

सही जानकारी दिएर बीमाको सचेतना नै बढाउनुपर्छ । बीमा गरे पनि हुन्छ, नगरे पनि हुन्छ भन्नुभन्दा पनि बीमा भनेको जीवनशैली र जीवन प्रक्रिया नै हो । जसरी हाम्रो दैनिक जीवनयापनको लागि विविध कुराहरूको आवश्यकता पर्छ, त्यसमध्ये बीमा पनि एक हो भन्ने कुराको शिक्षा नै दिएर जानुपर्छ । त्यसको लागि बीमासम्बन्धी सही सूचना र तालिम दिने बेग्लै संस्थाको व्यवस्था हुनुपर्छ भनेर हामीले भन्दै आएका थियौँ । बीमा समितिले भर्खरै मात्र बीमा तालिम केन्द्रको सुरुवात गरेको छ । त्यसलाई कम्पनीमा दर्ता गरेर जाने क्रम पनि सुरु भएको छ । यो भनेको बीमा क्षेत्रमा जानेले मात्र तालिम लिने भए तर अन्य सर्वसाधारण यो आईटीआईभित्र आउने कुरा रहेन । त्यसको लागि विद्यालयस्तरदेखि नै निम्नमाध्यमिक तहभन्दा माथि पाठ्यक्रममा नै बीमासम्बन्धी सामग्रीहरू राखेर जानुपर्छ । यति भएपछि सानै बेलादेखि मानिसले बीमा भन्ने शब्द कमसेकम सुन्छ । पछि बीमा भनेको के रहेछ भनेर त्यो बच्चामा उत्सुकता जाग्छ । सोधखोज गर्छ र त्यसमा अघि बढ्न सक्छ । त्यस कारण बीमा शिक्षा र बीमा सचेतना बढाउन अति जरुरी छ ।

हामी बीमा कम्पनीहरूले पनि यसलाई खालि आफ्नो व्यवसाय बढाउने रूपमा मात्र नहेरेर यो एउटा सामाजिक अभियान पनि हो । हामीले सामाजिक सुरक्षा दिन खोजेका हौँ ।

हामी बीमा कम्पनीहरूले पनि यसलाई खालि आफ्नो व्यवसाय बढाउने रूपमा मात्र नहेरेर यो एउटा सामाजिक अभियान पनि हो । हामीले सामाजिक सुरक्षा दिन खोजेका हौँ । बीमित र बीमितमा आश्रित परिवारको समग्र हितका लागि आर्थिक सहायता र आर्थिक क्षतिपूर्ति दिने कार्यक्रम भएको हुनाले हामीले पनि सही सूचना दिएर सही ढङ्गले अघि बढेर जाँदा मान्छेमा विश्वसनीयता र जानकारी बढेर जान्छ । बीमामा संलग्न हुनेको सङ्ख्या पनि बढ्दै जान्छ र विस्तारितरूपमा अघि बढ्छ ।

बीमा भन्नेबित्तिकै दुर्घटना, ध्वंश, क्षति, मृत्यु भन्ने मानिसको बुझाइ छ । यसले गर्दा पनि समस्या परेको हो कि ?

एक प्रकारले हो । तर सत्यसँग त हामी भाग्न सक्दैनौँ । बीमा भनेकै मृत्यु र क्षतिसँग सम्बन्धित कुरा हो । क्षति भएपछि क्षतिपूर्ति गर्ने प्रक्रिया हो । क्षति हुने सम्भावना प्रसस्त छ । जोखिम जताततै छ । त्यही जोखिमलाई न्यूनीकरण गर्नका लागि अथवा त्यही जोखिमलाई केही न केही आर्थिक क्षतिपूर्ति गरेर भएको नोक्सानी कम गरिदिने अथवा नोक्सानीको भरपाई बीमाले गरिदिन्छ । नोक्सानी हुने कुरा नै नगरी बीमा गर्ने कुरा आएन ।
त्यस कारण नोक्सानी हुने भन्ने कुरालाई पनि कसरी भन्ने ? सीधै मृत्यु भए पैसा पाइन्छ भन्दा मरेपछि पैसा किन चाहियो भन्ने कुरा आउँछ । त्यसलाई सही ढङ्गले पिन्च नहुने किसिमले प्रस्तुत गर्न सक्यो भने यो त्यस्तो होइन ।
हामी त सधैँ तालिममा पनि भन्ने गर्छौं, बीमा भनेको जीवनको निरन्तरताको लागि हो । यहाँ मृत्यु भयो भने भन्नुपरेन । कसको जीवनको निरन्तरता भन्दा या त बीमित आफैँको या उसमा आश्रित परिवारको । बीमित आफैँ बीमा परिपक्व हुने बेलासम्म जीवित रहेको अवस्थामा इन्स्टलमेन्ट पोलिसी लिएको छ भने उसले बीमा गरेको पैसा फिर्ता पाउँछ । बीमा शुल्क तिरेको भन्दा बढी पाउँछ । एक प्रकारले भन्दा बाँचुञ्जेल उसको सित्तैमा जोखिम वहन भइरह्यो । सामान्यतया मानिसको बीमा ७० वर्ष उमेरसम्मको भएको हुन्छ । ७० वर्षको उमेरसम्म ऊ जीवित हुँदा आर्थिक क्रियाकलापका लागि ऊ असक्षम जस्तै हुन्छ । त्यस बेला ऊ आर्थिक रूपमा अरूमा निर्भर हुनुपरेन । बीचमा उसलाई केही भइहाले उसले तिरेको भन्दा दोब्बर कम्पनीले उसका परिवारलाई दिने भयो । त्यस कारण बीमा भनेको जीवनको निरन्तरताको लागि हो । मृत्यु भनेको त त्योभित्र पर्ने सम्भावित जोखिम हो । त्यो अवश्यम्भावी हो, त्यो हुन्छ नै । खालि कहिले, कहाँ र कसरी भन्ने थाहा नभएको अवस्था न हो । त्यही अनिश्चिततालाई केही हदसम्म बीमा कम्पनीले आर्थिक क्षतिपूर्ति गरिदिन्छ भनेर निश्चितता दिएको हो ।

बीमा भनेको जीवनको निरन्तरताको लागि हो । यहाँ मृत्यु भयो भने भन्नुपरेन । कसको जीवनको निरन्तरता भन्दा या त बीमित आफैँको या उसमा आश्रित परिवारको ।

हरेक कुराको मूल्य हुन्छ तर मानिसको जीवनको मूल्य हुँदैन । बीमा भनेको आफ्नो मूल्य तोक्ने प्रक्रिया पनि हो । मसँग एउटा सम्पन्न व्यक्ति हुनका लागि आवश्यक पर्ने सबै चिज छ, सँगै बीमा पनि छ भने म पूर्णरूपले नै सम्पन्न हो । तर मैले बीमा गरेको छैन भने म सम्पन्न र सफल मान्छे होइन । अब यसरी जानुपर्छ भनेर हामीले अभिकर्ता साथीहरूलाई भनिरहेका छौँ ।

कतिपय फेक पोलिसीका कारण समग्र बीमा उद्योगलाई नै प्रभाव पारिरहेको छ, यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ?

हामी दुई प्रकारको बीमा योजनामा काम गरिरहेका छौँ । एउटा आवधिक जीवन बीमा र अर्को नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेहरूले विदेश जानुअघि बीमा गर्नै पर्ने भनेको छ, जसलाई म्यादी जीवन बीमा भनिन्छ । म्यादी जीवन बीमामा कामदारको दुर्घटना अथवा मृत्यु भइहाले मात्र उसको परिवारले पाउँछ, नभए पाउँदैन । साह्रै कम पैसा तिरेर धेरै रकमको बीमा हुने योजना म्यादी जीवन बीमा हो । अहिले यो दुई किसिमको बीमा नेपालमा भएका बीमा कम्पनीहरूले गर्दै आएका छन् ।

आवधिक बीमा सीधै कम्पनीले अभिकर्ताहरू नियुक्त गरेर त्यो अभिकर्ताको माध्यमबाट जारी गरिन्छ । कुनै एक व्यक्तिको बीमा गर्दा उसको सम्पूर्ण व्यक्तिगत विवरण लिएर त्यसलाई केलाएर हेरेपछि उसको बीमा गर्न हुन्छ भन्ने भएपछि मात्र बीमा गरिन्छ । त्यसमा फेक पोलिसी भन्ने कुराको सम्भावना नै रहँदैन ।

एकै दिनमा सोह्र–सत्र सयको बीमा भइरहने हुनाले त्यहाँ बिचौलियाहरूको पनि चलखेल हुन्छ । यो गर्ने क्रममा जुन म्यानपावर बीमा गराउन आउँछ, एउटा कम्प्युटरमा नाम लेख्यो अनि बीमा भयो भनेर पैसा खाइदिएको अवस्था पनि छ । बीमा कम्पनीमै आएर नक्कली भएको होइन ।

तर जति पनि नक्कली जीवन बीमाको कुरा आएको छ, यो वैदेशिक रोजगारी म्यादी जीवन बीमामा आएको छ । यो आउनुको कारण भनेको म्यानपावर कम्पनीले बीमितलाई हामीकहाँ ल्याउँदैन । तीस–चालीस जनाको नाम लिस्ट र पासपोर्टको फोटोकपि लिएर आउँछ । बीमा कम्पनीलाई त्यो मान्छे छ कि छैन भन्ने पनि थाहा हुँदैन । उसले पासपोर्ट ल्याएपछि छ भन्ने मान्यता हो । बीमा नगरी श्रम विभागले श्रम स्वीकृति दिँदैन । बीमा गरेपछि मात्र कामदार श्रम स्वीकृति लिएर विदेश जान्छ ।

कागजमा सय जनाको भिसा हुन्छ, २० जनाको बीमा गरेर ल्याएको हुन्छ । त्यही सय जना देखाएर उसले पाँच सय जनाकोे बीमा गरेको पनि हुन सक्छ । जे पनि हुन सक्छ । एकै दिनमा सोह्र–सत्र सयको बीमा भइरहने हुनाले त्यहाँ बिचौलियाहरूको पनि चलखेल हुन्छ । यो गर्ने क्रममा जुन म्यानपावर बीमा गराउन आउँछ, एउटा कम्प्युटरमा नाम लेख्यो अनि बीमा भयो भनेर पैसा खाइदिएको अवस्था पनि छ । बीमा कम्पनीमै आएर नक्कली भएको होइन । तर त्यस्ता कुरा माघको १ गते देखि पुलमा आइसकेको छ । हाम्रै पहलमा खास गरी मेरै पहलमा विगत नौ वर्षदेखि वैदेशिक रोजगार बीमा एउटै पुलमा बसेर गर्नुपर्छ, विविध कम्पनीले गर्नुहुँदैन, एकै ठाउँमा बसेर काम गरे समस्या आउँदै भन्यौँ । सबै एकै ठाउँमा गर्ने भएपछि बीमा गर्नेले पनि अरूको कुरा मान्दैन । त्यहीँ जाऊ भन्ने भयो । तर त्यहाँ त बीसवटा छन्, कुन सही र कुन गलत कसैलाई थाहा छैन । कसैले प्राइम लाइफ लेखेर त्यस्ता क्रियाकलाप ग¥यो भने पनि हामीलाई थाहा हँुदैन । हामी सधैँ त्यहाँ गएर हेर्ने कुरा आउँदैन । त्यस कारण हामीहरूकै पहलमा बीमा समितिकै निर्देशनबमोजिम माघ १ गतेदेखि पुलमा आइसक्यो । अब एकै ठाउँबाट मात्रै पोलिसी जारी हुन्छ ।

बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । युवाहरूको पहिलो रोजाइ बैङ्क हुने गरेको छ । बीमालाई पहिलो रोजाइ बनाउन के गर्नुपर्ला ?

सबैभन्दा पहिले बीमा व्यवसायलाई मर्यादित व्यवसाय बनाएर जानुपर्छ । बीमामा म करिअर बनाउँछु भन्नुभन्दा अगाडि बीमा क्षेत्र एउटा मर्यादित क्षेत्र हो, यहाँ जथाभावी हुँदैन भन्ने हुनुप¥यो । हुन त बैङ्किङ क्षेत्रमा पनि आजभन्दा दश–पन्ध्र वर्षअगाडिे खाता खोल्यो भने यो उपहार दिन्छु, यति न्यूनतम व्यालेन्स राखे महिनामा चिट्ठा दिन्छु भन्नेखालका गतिविधि हुने गरेका थिए । अहिले पनि बैङ्कहरूले विभिन्न आकर्षक योजना भन्दै ग्राहक तान्न विभिन्न हत्कण्डाहरू अपनाइरहेका छन् । त्यो भनेको याडिस्नल बेनिफिट मात्रै दिएको हो । नहुन सक्ने कुरा गरेर गलत प्रलोभन दिएर बैङ्कहरूले काम गरेका छैनन् । बैङ्कहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्क स्वतन्त्र बडी हो र उसले सही ढङ्गले काम गर्छ भन्ने मान्यता भएको कारणले पनि मानिस त्यता आकर्षित छन् । अलि कम तयारीमा बैङ्कमा नाम निकाल्न पनि सजिलो हुन्छ । मानिसले जे पढेको हो, त्यही प्रश्न सोधिने र काम गर्दा त्यही कुरा लागू पनि हुन्छ ।

अब बीमामा पनि विस्तारै आकर्षण बढ्दै गएको छ । हिजोका दिनमा बैङ्कहरूको सङ्ख्या वर्षैपिच्छे बढ्दो थियो । शाखाहरू पनि त्यहीअनुसार विस्तार हुँदै जाँदा त्यहाँ सम्भावना बढी भयो र बैङ्कले जति मान्छे आउँछन्, जागिर दिन्छु भन्ने अवस्था थियो । फेरि बैङ्कमा स्थायी भइसकेपछि त्यहाँको जागिरबाट कसैले निकाल्न सक्दैन । सुरक्षित पनि भयो । तलब सुविधा पनि राम्रो भयो । त्यसले गर्दा सबैको बैङ्कमा आकर्षण भयो । व्यवस्थापन पढ्ने विद्यार्थी पनि धेरै भए । बीमा क्षेत्र पनि त्यस्तै हो । हाम्रो नियामकीय निकाय पनि स्वतन्त्र हुनुपर्छ । अर्थ मन्त्रालयअन्तर्गतको एउटा समिति नभई बेग्लै स्वायत्त तथा दरिलो निकाय हुनुपर्छ भनेर बीमा ऐनमा बीमा समितिलाई प्राधिकरण बनाएर बलियो बनाएर जानुपर्छ भन्ने हाम्रो मान्यता छ । बीमाबारे मानिसलाई राम्रो जानकारी नै छैन । बैङ्क भनेको पैसा राख्ने–झिक्ने, लोन दिने भन्ने मान्छेले बुझेको छ । बैङ्क त्यति जटिल छैन । तर बीमा भनेको त मान्छेलाई के हो के भन्ने छ । जुन किसिमले बैङ्कको विस्तार भएको छ, बीमाको त्यो भएको छैन । इतिहासकै कुरा गर्ने हो भने पनि नेपालको बैङ्किङ इतिहास बीमाको इतिहासभन्दा धेरै लामो छ । नेपाल बैङ्क लिमिटेड आजभन्दा ८० वर्षअगाडि खुलेको हो । २०२४ सालमा बीमा संस्थान खुल्दा हामीलाई नै के हो के भन्ने थियो । बल्ल एलआईसी खुलेपछि मानिसहरूले बीमा भनेर कुरा गर्न थालेका हुन् । त्यस कारण ८० वर्ष इतिहास भएको क्षेत्र र तीस वर्ष इतिहास भएको क्षेत्रमा त भिन्नता छ । त्यस कारणले पनि बीमामा अलिकति आकर्षण नभएको हो । अब त बीमामा नै एमबीए हुन थालेको छ । मानिसले बीमाबारे टेक्निकल ज्ञान पनि लिन थालेका छन् । त्यस कारण बीमामा पनि विस्तारै आकर्षण बढ्दैछ । बीमा कम्पनीहरूको सङ्ख्या बढेको हुनाले जर्बजस्ती पनि मान्छेलाई आकर्षण हुने भयो । बैङ्कमा काम गरिरहेका मानिसहरू अहिले बीमामा गइरहेका उदाहरण पनि धेरै छन् ।

अब त बीमामा नै एमबीए हुन थालेको छ । मानिसले बीमाबारे टेक्निकल ज्ञान पनि लिन थालेका छन् । त्यस कारण बीमामा पनि विस्तारै आकर्षण बढ्दैछ । बीमा कम्पनीहरूको सङ्ख्या बढेको हुनाले जर्बजस्ती पनि मान्छेलाई आकर्षण हुने भयो ।

कम्पनीका आगामी योजनाहरू के छन् ?

हामीले हरेक वर्ष नयाँ बीमा योजना ल्याउने गरेका छौं । भइरहेको बीमा योजनामा बीमितहरूलाई थप सुविधा दिँदै गइरहेका छौँ । श्रावणबाट मात्रै हामीले जीवन उपहार बीमा भनेर ल्याएका छौँ । यसमा २५ लाखको बीमा आज गरे सोह्र वर्षपछि उसले न्यूनतम ७० लाख रूपैयाँ पाउँछ । आजकै बोनसदरको हिसाबमा । बोनसदर बढेर गए त्यो पनि बढेर जान्छ । अर्को मुख्य कुरा उसले आज २५ लाखको बीमा गर्यो भने एक वर्षपछि आजकै दिन २५ लाखबराबरको अर्को बीमा म उहाँलाई सित्तैमा दिन्छु भनेपछि २५ लाखको बीमा गर्ने मान्छेको ५० लाखको बीमा हुन्छ । त्यो दुईवटै बीमा योजनामा बोनस पाइन्छ । त्यसले गर्दा बीमा परिपक्व हुँदा उसले कम्तीमा सत्तरी–पचहत्तर लाख पाउँछ । जोखिम मात्र वहन गर्ने कुरा गर्ने हो भने २५ लाखको १ करोड हुन्छ । किनभने त्यहाँ दुर्घटना लाभ पनि लिन पाइन्छ । त्यसमा फेरि एक्काईस–बाईसवटा घातक रोगहरूको पनि १० लाखसम्मको बीमा पनि गरिदिन्छौँ । त्यो लियो भने कुनै पनि किसिमको कडा रोग भयो भने १० लाखसम्मको औषधि खर्च हामी दिन्छौं। त्यो सुविधा पनि त्यसमा छ । त्यस कारण नयाँ किसिमका आकर्षक बीमा योजना ल्याएर बढीभन्दा बढी बीमितको हित हुने काम गर्ने हाम्रो योजना छ ।

बीमितलाई बढीभन्दा बढी सेवा–सुविधा दिन शाखा सञ्जाल धेरै ठाउँमा विस्तार गर्दै जाने र बीमाको पहुँच पुर्याइदिने साथै त्यसको माध्यमबाट बीमा सचेतना र बीमा शिक्षा  कार्यक्रमहरू गर्दै जाने र तालिम दिँदै जाने योजना छ ।

अर्को, हामी अहिले बजारको औषतमा छौँ । औषतबाट माथि उठेर व्यवसाय वृद्धि गर्दै जाने योजना छ । बीमा समितिले न्यूनतम पुँजी २ अर्ब पुर्याउने भनेको छ, त्यो पुगिसक्ने अवस्था छ । हामी एजीएम कुरिरहेका हौँ । हामीसँग सेयर होल्डर फन्डमा प्रसस्त पैसा छ । १ अर्ब ७८ करोड पुगिसकेको छ । अब २१ करोड चानचुन चाहिन्छ । एजीएम हुनेबित्तिकै त्यसलाई पहिले २ अर्ब पुर्याउने र यहाँका लगानीकर्ताहरूलाई पनि प्रतिवर्ष आकर्षक प्रतिफल दिँदै जाने योजना छ । बीमितलाई बढीभन्दा बढी सेवा–सुविधा दिन शाखा सञ्जाल धेरै ठाउँमा विस्तार गर्दै जाने र बीमाको पहुँच पुर्याइदिने साथै त्यसको माध्यमबाट बीमा सचेतना र बीमा शिक्षा कार्यक्रमका लागि कार्यक्रमहरू गर्दै जाने र तालिम दिने । हाम्रा अभिकर्ताहरू, कर्मचारीहरूलाई समयानुकूल परिमार्जित गराउँदै थप नयाँ विषयको तालिम दिँदै जाने योजना छ । हामी वर्षको पाँचवटा विशेष तालिम अभिकर्ताहरूलाई दिन्छौँ । समग्रमा प्राइम लाइफलाई तुलनात्मक रूपमा उत्कृष्ट बीमा कम्पनीको रूपमा स्थापित गराउने हाम्रो योजना छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री