मंगलबार, ११ कार्तिक २०८२

प्रडक्टहरूको बजारीकरण गर्न र नयाँ बजार खोज्ने काममा लागिरहेका छौँ : एस. के. तमोटको अन्तर्वार्ता

समयपोष्ट २०७५ फागुन २१ गते १८:१९


एस. के. तमोट
सीईओ, जनरल इन्स्योरेन्स कम्पनी

Advertisement

कम्पनीको पछिल्लो अवस्था कस्तो छ ?

जनरल इन्स्योरेन्स सञ्चलानमा आएको सात महिना मात्र भएको छ । यस अवधिमा हामीले व्यवसाय विस्तार गर्दै अघि बढेका छौँ । अहिले विशेषतः शाखा सञ्जाल विस्तारमा लागेका छौँ । लगभग तीसदेखि बत्तीसवटा जति शाखा हामीले विस्तार गरिसकेका छौँ । हामी अहिले भइरहेका प्रडक्टहरूलाई बजारीकरण कसरी गर्ने र नयाँ बजार कसरी खोज्ने भनेर लागिपरेका छौँ । साथै, उपत्याका मात्र नभई विभिन्न जिल्ला र प्रदेशहरूमा कार्यालय खोलेर अगाडि बढ्ने हाम्रो योजना रहेको छ ।

जनरल इन्स्योरेन्सका विशेषता के छन् ?

निर्जीवन बीमा कम्पनीहरू सबैको काम गर्ने तौरतरिका एउटै नै हो । हाम्रो कम्पनीको जुन कनेक्सन छ, प्रमोटरहरू, बोर्ड र यहाँ जोइन गरेका साथीभाइहरू छन्, उनीहरूको आ–आफ्नै लिङ्क छ । त्यही लिङ्कबाट हामी आफ्नोे बिजनेस गरिरहेका छौँ । हामीले कम्पनीको छुट्टै विशेषता देखाएर केही पनि गरेका छैनौँ ।

Advertisement

पुराना कम्पनीहरूसँग प्रतिस्पर्धात्मक रूपमा जान कस्ता योजनासहित अगाडि बढ्दै हुनुहुन्छ ?

प्रतिस्पर्धाभन्दा पनि जति पनि चिनेजानेका क्लाइन्टहरू छन्, उनीहरूलाई फलोअप गरेर बिजनेस ल्याइरहेका छौँ । प्रतिस्पर्धा भनेर प्रिमियम घटाउन हामी लागेका छैनौँ ।

बीमाको पहुँच बढाउन के गर्नुपर्ला ?

नयाँ कम्पनीहरूलाई लाइसेन्स दिनुको एक मात्र उद्देश्य भनेकै बीमाको पहुँच बढाउन हो । हामीले विभिन्न जिल्लाहरूमा शाखाहरू खोल्यौँ । काठमाडौँमा मात्र हामीले पाँच–सातवटा शाखा खोलिसकेका छौँ । भन्नुको अर्थ घर–घरमा पुगेर हामीले सेवा दिने हो । त्यसमै हामी लागिरहेका छौँ । केही गरी क्षति भइहाले बीमाले बेहोर्छ भन्ने सबैले थाहा पाइसकेका छन् । बीमाले भविष्यामा भैपरी आउने क्षतिलाई न्यूनीकरण गर्नेसम्म न हो ।

केही कम्पनीहरूले समयमा दाबी भुक्तानी नगर्दा त्यसले समग्र बीमाप्रतिको विश्वास घटाएको छ, यसलाई व्यवस्थित गर्न के गर्नुपर्ला ?

दाबी भुक्तानी कुनै पनि कम्पनीले रोक्न पाउँदैन । सामान्य नागरिकहरूले पनि दाबी भुक्तानी हुन्छ भनेर बुझिसकेका छन् । मुख्य कागजपत्र पुर्याउने भन्ने कुरा हो । कम्पनीले दुर्घटना भएपछि यी कागजपत्रहरू चाहिन्छ भनेर जुन भनेको हुन्छ, ती कागजपत्र प्राप्त भएपछि हामी एक हप्ताभित्रै भुक्तानी दिन्छौं ।

बीमा क्षेत्रमा लामो समयदेखि जनशक्तिको अभाव देखिन्छ, दक्ष जनशक्ति उत्पादनका लागि के गर्नुपर्ला ?

एकैपल्ट धेरै कम्पनीहरू खुले । यसले गर्दा एक कम्पनीका कर्मचारी अर्को कम्पनीमा गए । फेरि त्यो स्वाभाविक पनि हो । आर्थिक रूपमा अन्य भन्दा सक्षम बन्ने र आफ्नो क्षमता बढाउने चाहना सबैमा हुन्छ । त्यस कारण रोक्ने कुरा पनि भएन । अर्को, भर्खर १२ पास गरेको मान्छे छ, ऊ समाजमा निकै क्रियाशील छ, गर्न सक्छ । अर्को, मास्टर्स पास गरेको छ तर एकदम निष्क्रिय छ भने मेरो लागि काम गरिदेऊ भनेर उसले गर्न सक्ने अवस्था पनि हुँदैन । उसको एकै ठाउँमा बसेर प्रगति पनि हुँदैन । दक्ष जनशक्ति भन्ने कुरा भनेको प्रयास गर्ने हो । आफैँले तालिम लिएर अगाडि बढ्ने कुरा हुन्छ । त्यो जरुरी पनि छ ।

तपाईंको कम्पनीको पुँजी कति पुग्यो, अलिकति बताइदिनुहोस् न ?

हाम्रो एक अर्बको कम्पनी हो । अहिले नयाँ सबैलाई एक अर्ब पुर्याउनुपर्छ भनेको छ । त्यो मध्ये हाम्रा प्रमोटरहरूबाट ७० करोड जम्मा भएको छ । बाँकी ३० प्रतिशत हामीले एक वर्षको व्यालेन्ससिट तयार गरेर दिइसकेपछि एजीएम हुन्छ । एजीएम भइसकेपछि हामी पब्लिकमा जान्छौँ । नियमअनुसार ३ सय ६५ दिन कम्पनी चलिसकेको हुनुपर्ने, अनि पब्लिकमा जान पाइने भनिएको छ । आउँदो असारमा हाम्रो एक वर्ष पूरा हुन्छ । साउन १ गतेदेखि असारसम्मको व्यालेन्ससिट तयार गर्छौं । एजीएम गरेर फाइनल गरिसकेपछि हामी अर्को वर्ष पौषसम्म आईपीओ जारी गर्छौं । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री