अधिकारीको स्वास्थावस्थाबारे नेकपा नेताहरुको चासो

स्थानीय धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थितिबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले जानकारी लिएका छन् ।

Advertisement

नेकपाका नेता अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको खबर सार्वजनिक भएपछि नेतहरुले उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएको नेकपाका केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रम रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले अधिकारीको स्वास्थ्यस्थितिबारे चिकित्सकसँग जानकारी लिए ।

मुटु र फोक्सोमा समस्या भएपछि उपचाररत उनलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्तका अनुसार उनको रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपरेको छ भने शरीरका महत्वपूर्ण अङ्गले काम गर्न छाडेका छन् ।

बितेका २४ घण्टादेखि पिसाब बन्द भएको छ । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनःभर्ना गरिएको थियो । अधिकारीका स्वकीय सचिव महेश विष्टका अनुसार ह्याम्स अस्पतालमा उनको उपचारमा डा भगवान् कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायत संलग्न छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री