अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु


उद्योग सङ्घ चितवनको आयोजनामा नवौँ अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज यहाँ उद्घाटन गर्नुभयो ।

त्यसअवसरमा प्रमुख दाहालले निजी क्षेत्रसँगको सहकार्यका लागि स्थानीय सरकार तयार रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई चलायमान बनाउन आफू तयार रहेको वताउनुभयो । चितवन उद्योग सङ्घले एकै पटक तीनवटा प्रदर्शनी गर्न लागेको र यसले जिल्लाको अर्थतन्त्रलाई बलियो बनाउने उहाँको भनाइ छ ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले अर्थतन्त्रलाई सहज बनाउने बाटोमा यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताउनुभयो । उद्योग परिसङ्घ बाग्मती प्रदेशका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रलाई तीनै तहका सरकारहरुको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष शङ्कर गिरीलगायतले औद्योगीक क्षेत्रको विकासका लागि सबै एक हुन आवश्यक रहेकोमा जोड दिनुभयो । औद्योगिक प्रदर्शनीमा औद्योगिक मेसिनरी तथा प्रविधि (प्रोसेसिङ, पोल्ट्री, डेरी, फुड एन्ड वेभरेज, चिया), निर्माण उद्योगका मेसिनरी तथा प्रविधि र निर्माण सामग्रीहरु राखिएको छ ।

सङ्घका कार्यवाहक अध्यक्ष मदन घिमिरेले प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने बताउनुभयो । प्रदर्शनीमा भारत र पाकिस्तानसहितका देशका उद्योगहरुसहित २०० भन्दा बढी स्टलहरु छन् । औद्योगीक प्रदर्शनीमा ५० हजार बढी स्वदेशी तथा विदेशीहरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री