तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

बारा र पर्सास्थित औद्योगिक करिडोर तथा उपभोक्ताहरूको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीन सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बाराको अमलेखगन्ज र प्रसौनी तथा पर्साको वीरगन्जमा निर्माणाधीन १३२ केभी क्षमताका यी सबस्टेसनले सो क्षेत्रको विद्युत् माग व्यवस्थापन र भारतसँगको विद्युत् व्यापारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई सबस्टेसन र प्रसारण लाइनको काम सक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएको छ। प्राधिकरणका अनुसार, वीरगन्ज क्षेत्रको बढ्दो विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि यी संरचनाहरू अत्यावश्यक छन्।
अमलेखगन्ज सबस्टेसन : जेठ दोस्रो साताभित्र सञ्चालनमा आउने
पथलैया–सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान गर्न र माग बढ्दै गएको सन्दर्भमा अमलेखगन्जमा १३२/६६ केभी सबस्टेसन निर्माण सम्पन्न हुने चरणमा छ। यो सबस्टेसनमा अधिकांश मुख्य उपकरण जडान भइसकेका छन्। आगामी जेठ दोस्रो साता (मे २०२५) भित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित अन्तिम चरणका कामहरू तीव्र गतिमा भइरहेका छन्।
पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगन्ज सबस्टेसनमा लुप इन र लुप आउट गर्ने काम सम्पन्न भएको छ। त्यस्तै, हेटौंडाबाट सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनका दुवै सर्किटलाई पनि सबस्टेसनमा जोडिएको छ।
हेटौंडाबाट सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा गएको ६६ केभी लाइन लामो र कम क्षमताको भएकाले भोल्टेजको समस्या रहँदै आएको थियो। अब ६६ केभी लाइनको लम्बाइ घट्ने र १३२ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुने भएकाले अमलेखगन्ज सबस्टेसन सञ्चालनमा आएपछि यो क्षेत्रको विद्युत् आपूर्तिमा उल्लेखनीय सुधार हुने प्राधिकरणको दाबी छ।




























प्रतिक्रिया