आइतबार, २९ असार २०८२

भारत सरकारको आर्थिक सहयोगमा बन्ने सप्तरीस्थित श्री जनता मा.विको भवन शिलान्यास

समयपोष्ट २०८१ चैत १२ गते २२:४६


सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको शिलान्यास आज एक विशेष समारोहबीच सम्पन्न भएको छ। शिलान्यास नेपालका युवा तथा खेलकुदमन्त्री तेजु लाल चौधरी, सुरुङ्गा नगरपालिकाका मेयर गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गर्नुभएको हो। उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।

Advertisement

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने यो परियोजनाको कुल लागत नेरु. २.७६ करोड रहेको छ। तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा सुरुङ्गा नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

श्री जनता माध्यमिक विद्यालय सन् १९५१ मा स्थापना भएको ऐतिहासिक शैक्षिक संस्था हो। यहाँ नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुन्छ र करिब ६०० विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ६०% छात्राहरू छन्।

कार्यक्रममा मन्त्री चौधरी, मेयर गीता चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गरे। उनीहरूले यो भवनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र सिकाइको वातावरण सुधार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

भारत सरकारले सन् २००३ यता नेपालमा ५६३ भन्दा बढी एचआइसीडीपी परियोजनाहरू सञ्चालन गरेको छ, जसमध्ये ४९५ सम्पन्न भइसकेका छन्। मधेश प्रदेशमा ८२ परियोजना छन्, जसमा सप्तरीका ९ परियोजना समावेश छन्। यसबाहेक, भारतले नेपाललाई १००९ एम्बुलेन्स र ३०० स्कूल बस उपहार दिएको छ, जसमध्ये मधेश प्रदेशमा २२५ एम्बुलेन्स र ३४ स्कूल बस, र सप्तरीमा २४ एम्बुलेन्स र २ स्कूल बस प्रदान गरिएको छ।

Advertisement

नजिकको छिमेकीको रूपमा भारत र नेपालबीचको सहकार्यले नेपाली जनताको जीवनस्तर उकास्न र प्राथमिकता क्षेत्रमा पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री