दैलेखमा भारतको सहयोगमा बन्ने श्री नेपाल राष्ट्रिय माविको भवन शिलान्यास
दैलेखको दुल्लू नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास आज एक समारोहबीच सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह र दुल्लू नगरपालिकाका मेयर भरत प्रसाद रिजालले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो। कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ता, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।
‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने यो परियोजनाको लागत नेरु. ३.९ करोड रहेको छ। साढे तीन तल्ले यो भवनमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लू राज्यसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र र अन्य आवश्यक सुविधाहरू समावेश हुनेछन्। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा दुल्लू नगरपालिका मार्फत कार्यान्वयन गरिनेछ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री भण्डारी, दुल्लू नगरपालिकाका मेयर रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपालका लागि भारत सरकारको विकास सहयोगको प्रशंसा गरे। उनीहरूले यो भवनले विद्यार्थी र स्थानीय समुदायलाई दुल्लूको इतिहास र संस्कृतिबारे जानकारी दिनुका साथै शिक्षाको लागि उपयुक्त वातावरण सिर्जना गरी कर्णाली प्रदेशको शिक्षा र संस्कृति क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
सन् २००३ यता भारत सरकारले नेपालमा ५६३ भन्दा बढी एचआइसीडीपी परियोजनाहरू सञ्चालन गरेको छ । जसमध्ये ४९५ परियोजना सम्पन्न भइसकेका छन्। कर्णाली प्रदेशमा मात्र १५ वटा यस्ता परियोजना कार्यान्वयन भएका छन्। यसबाहेक, भारत सरकारले नेपालका विभिन्न स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरूलाई १००९ एम्बुलेन्स र ३०० स्कूल बस उपहारस्वरूप प्रदान गरेको छ, जसमध्ये कर्णाली प्रदेशमा ५० एम्बुलेन्स र ८ स्कूल बस वितरण गरिएको छ।
भारत र नेपालबीचको घनिष्ठ सम्बन्धलाई प्रतिबिम्बित गर्दै यो परियोजनाले नेपाली जनताको उत्थान र नेपाल सरकारको प्राथमिकता क्षेत्रमा पूर्वाधार विस्तारमा सहयोग पुर्याउने भारत सरकारको प्रतिबद्धता झल्काएको छ।
प्रतिक्रिया