भारत सरकारको सहयोगमा निर्मित मकवानपुरको जनकल्याण माविको भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा नेपाल-भारत विकास सहकार्यअन्तर्गत ३ करोड नेरुको लागतमा निर्मित मकवानपुरको श्री जनकल्याण माध्यमिक विद्यालयको भवनको उद्घाटन आज भएको छ। मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान र भारतको काठमाडौंस्थित दूतावासका प्रथम सचिव बसिस्ट नन्दनले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा राजनीतिक प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो।
यो विद्यालय भवन र अन्य सुविधाहरूको निर्माण भारत सरकारको ‘नेपाल-भारत विकास सहकार्य’ अनुदानमार्फत सम्पन्न भएको हो। यो परियोजना उच्च प्रभावकारी सामुदायिक विकास परियोजना (HICDP) को रूपमा मकवानपुर जिल्ला समन्वय समितिद्वारा कार्यान्वयन गरिएको थियो।

श्री जनकल्याण माध्यमिक विद्यालय सन् १९६८ मा प्राथमिक तहको रूपमा स्थापना भएको थियो भने सन् १९८५ मा उच्च माध्यमिक तहमा स्तरोन्नति भएको थियो। हाल यो विद्यालयमा करिब ८५० विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ५४% छात्रा रहेका छन्।

जिल्ला समन्वय समितिका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको सराहना गरे। उनीहरूले यो नयाँ संरचनाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, सिकाइ वातावरण सुधार गर्न र क्षेत्रको शैक्षिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

‘नजिकका छिमेकीका रूपमा भारत र नेपाल बहुआयामिक सहकार्यमा संलग्न छन्,’ भारतको काठमाडौंस्थित दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ- ‘HICDP को कार्यान्वयनले प्राथमिकता प्राप्त क्षेत्रमा पूर्वाधार विकास गरी नेपालको जनताको वृद्धि र समृद्धिका लागि भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ।’




























प्रतिक्रिया