नेपाल बिजनेस समिट २०२५: वल्र्डलिंक कम्युनिकेशन्स इन्टरनेट साझेदारको रूपमा सहभागी
नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वल्र्डलिंक कम्युनिकेशन्सले इन्टरनेट साझेदार (ISP Partner) को रूपमा सहभागिता जनाउने भएको छ। आगामी २०८२ साल वैशाख ७ गते (अप्रिल २०, २०२५) काठमाडौंमा आयोजना हुने यो सम्मेलनका लागि वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलिप अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युट (NBI) का कार्यकारी अध्यक्ष विशाल गैरेले शुक्रवार समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अफ कमर्स (NCC) र नेपाल बिजनेस इन्स्टिच्युट (NBI) को संयुक्त आयोजनामा हुने यो सम्मेलनमा विभिन्न मन्त्रालय, स्थानीय तह, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायहरूको सहभागिता रहनेछ।
वल्र्डलिंक कम्युनिकेशन्सका अध्यक्ष दिलिप अग्रवालले स्टार्टअप, नवप्रवर्तन र सूचना प्रविधिको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय स्तरमा आयोजना हुने यस्ता सम्मेलनले सरकारको नीति निर्माणमा सहजीकरण गर्नुका साथै निजी क्षेत्रमैत्री वातावरण बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, नेपाल बिजनेस इन्स्टिच्युट (NBI) का कार्यकारी अध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक विशाल गैरेले सम्मेलनमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वकर्ता, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र उच्च अधिकारी, प्रख्यात उद्योगी एवं व्यवसायी, उदयीमान युवा तथा महिला उद्यमी, नवप्रवर्तन क्षेत्रमा कार्यरत युवा र महिला, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्किएका जनशक्ति र उच्च शिक्षाका विद्यार्थीहरू गरी ५०० भन्दा बढीको सहभागिता रहने जानकारी दिनुभयो।
“Economy for a Sustainable and Resilient Future” भन्ने मूल नाराका साथ आयोजना हुने यो वर्षको सम्मेलन आर्थिक, बैंकिङ, उद्योग, व्यवसाय र उच्च सम्भावना बोकेका क्षेत्रमा देखिएका महत्त्वपूर्ण विषयमा केन्द्रित हुनेछ। सम्मेलनमा स्वदेशी तथा विदेशी प्राज्ञ, विज्ञ, उदयीमान युवा र महिला उद्यमीबीच सघन छलफल, बहस र अन्तरक्रिया गरिनेछ। यी सत्रहरूबाट प्राप्त दिगो महत्त्वका सुझावहरूलाई समेटेर एउटा निष्कर्ष प्रतिवेदन तयार पारिनेछ, जुन तीनै तहका सरकारलाई कार्यान्वयनका लागि हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ।
प्रतिक्रिया