शुक्रबार, २७ असार २०८२

म्यानुअल लेजरदेखि डिजिटल युगसम्म

समयपोष्ट २०८१ चैत ३ गते १०:०५

Advertisement

म सन् १९९० देखि बैङ्किङ क्षेत्रमा जोडिएँ । त्यति बेला बैङ्क भनेको पैसा जम्मा गर्ने र निकाल्ने ठाउँजस्तो मात्र लाग्थ्यो । बैङ्कभित्रका काम, कागजात व्यवस्थापन, रेकर्ड राख्ने तरिका, ब्याज गणना र हिसाब मिलाउने प्रक्रियाबारे मलाई थाहा थिएन । हामीले सबै हिसाब हातले गथ्र्यौँ । ब्याज गणना पनि म्यानुअल तरिकाले गथ्र्यौँ, जुन सजिलो र सहज थियो । त्रैमासिक, अर्धवार्षिक र वार्षिक क्लोजिङ हातले लेखेर लेजरमा राखिन्थ्यो । बचत खाताको ब्याज महिनाको अन्तिम दिनको न्यूनतम मौज्दातका आधारमा दिइन्थ्यो ।

बिस्तारै बैङ्किङमा सुधार आयो । कम्प्युटरको प्रयोग सुरू भयो र कोर सिस्टममार्फत निक्षेप र कर्जाको काम हुन थाल्यो । कम्प्युटरले नवीनता ल्यायो । पहिले चेकलाई ‘टर्न अराउन्ड डकुमेन्ट’ भनिन्थ्यो, जुन ग्राहकले बैङ्कलाई फिर्ता गर्ने कागजात थियो । यसको व्यवस्थापन र सुरक्षाका लागि विशेष नियन्त्रण राखिन्थ्यो । चेकमा अक्षर, नम्बर र सुरक्षा विशेषताहरू प्रयोग गरेर नक्कली वा गलत प्रयोग रोक्नुपथ्र्यो । त्यति बेला पासबुक पनि चल्थ्यो । ग्राहकले चेक र पासबुक लिएर बैङ्कमा जान्थे, पासबुक भर्थे र बैङ्कले लेजर म्यानुअल रूपमा अपडेट गथ्र्यो । यो सबै प्रक्रिया हातले नै गरिन्थ्यो ।

म्यानुअलबाट भर्चुअल बैङ्किङसम्म

पहिले बैङ्किङ भन्नाले बैङ्कको भौतिक भवनमा गएर कर्मचारीसँग प्रत्यक्ष कुराकानी गरेर काम गर्नु बुझिन्थ्यो । समयसँगै यो म्यानुअल प्रणाली बिस्तारै परिवर्तन हुँदै गयो । अहिले बैङ्किङ हाम्रो हातमै आइपुगेको छ— मोबाइल र इन्टरनेटबाटै धेरैजसो काम गर्न सकिन्छ । कतिपयले त कहिल्यै बैङ्कको ढोका टेक्नु पनि पर्दैन । तर, पहिलो पटक खाता खोल्दा भने केवाईसी र एन्टि–मनी लन्डरिङ नियम पालना गर्न बैङ्कमै उपस्थित हुनुपर्छ । भर्चुअल माध्यमको प्रयोगले बैङ्किङ क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ । प्रविधिको प्रगतिले विश्व बजार नै तरङ्गित भएको छ । नयाँ पुस्तालाई पासबुक र चेकबुकको कुरा कथाजस्तो लाग्छ ।

Advertisement

पहिले निक्षेप सङ्कलन र कर्जा प्रवाह निकै व्यवस्थित थियो । नेपालको सन्दर्भमा साना तथा मझौला व्यवसायलाई खासै प्राथमिकता दिइएन । त्यति बेला मानिसमा बैङ्कको ऋण जसरी पनि तिर्नुपर्छ भन्ने भावना थियो । तर, अहिले त्यो मानसिकता हराउँदै गएको छ । बैङ्कको पैसा नतिरे पनि हुन्छ भन्ने गलत सोच बढ्दै गएको छ, जुन बैङ्किङ क्षेत्रको लागि विकृति बनेको छ ।

पहिले कर्जा लिन गाह्रो थियो । व्यक्तिको पहिचान प्रमाणित गर्न सहज थिएन । उदाहरणका लागि, ३० वर्षअघि नेपाल बैङ्कमा खाता खोल्न व्यक्ति उपस्थित हुनुपथ्र्यो । चेकबुक पनि तोकिएको ठेगानामा मात्र पठाइन्थ्यो, हातमा दिइन्नथ्यो— ठेगाना प्रमाणीकरणका लागि । पछि निजी बैङ्कहरू आएपछि चेकबुक तुरुन्तै उपलब्ध हुन थाल्यो । पुरानो र नयाँ प्रणाली मिसिँदा केही असङ्गति पनि देखिए ।

निजी क्षेत्रको प्रवेश

हाम्रो देशमा निजी क्षेत्रका बैङ्कहरूको प्रवेशपछि बैङ्किङ सेवा धेरै सहज र सुलभ भएको छ । कर्जा लिन पनि पहिलेभन्दा सजिलो भएको छ । पहिला बैङ्कहरूले व्यापारिक प्रयोजन वा उत्पादन क्षेत्रका लागि मात्रै कर्जा दिने गर्थे तर उपभोगका लागि कर्जा निकै कम थियो । निजी बैङ्कहरू आएपछि भने उपभोग्य कर्जा पनि उपलब्ध हुन थाल्यो ।

उदाहरणका लागि, घर बनाउन ‘होम लोन’, गाडी किन्न ‘अटो लोन’, र टिकाउ सामानहरू (जस्तै टेलिभिजन, वासिङ मेसिन) का लागि पनि कर्जा दिन थालियो । यसले कर्जाको प्रकार फराकिलो र विविध भएको छ र उपभोक्ता कर्जाको माग पनि बढेको छ । यी परिवर्तनले बैङ्किङ प्रणालीमा ठूलो बदलाव ल्याएको छ । यो प्रभाव कर्जामा मात्र सीमित नभई निक्षेपको क्षेत्रमा पनि देखिएको छ । समग्रमा, बैङ्किङ प्रणाली हरेक दृष्टिकोणले सहज र व्यवस्थित बन्दै गएको छ ।

टेलबाट स्विफ्ट

नेपालको बैङ्किङ प्रणाली बिस्तारै अन्तर्राष्ट्रिय बजारसँग जोडिँदै गयो । सुरुमा अन्तर्राष्ट्रिय कारोबार टेल सिस्टममार्फत हुन्थ्यो, जसमा सन्देश पठाउन सुरक्षा उपायहरू अपनाइन्थ्यो । पछि स्विफ्ट सिस्टमको आगमनसँगै अन्तर्राष्ट्रिय कारोबारमा वृद्धि भयो । नेपालले अन्तर्राष्ट्रिय बजारमा जोडिन लेटर अफ क्रेडिट (एलसी) खोल्नुपथ्र्यो, जसका लागि पहिले लाइसेन्स र स्वीकृति आवश्यक हुन्थ्यो । विदेशी मुद्रा कारोबारमा पनि दुई विनिमय दर तोकिन्थे— व्यापारिक र गैर–व्यापारिक प्रयोजनका लागि, जुन नेपाल राष्ट्र बैङ्कले निर्धारण गथ्र्यो ।

पछि बैङ्कहरू र वित्तीय संस्थाहरूले विदेशी मुद्रा डिलर्स सङ्घ (फेडान) मार्फत दैनिक ब्याजदर तोक्न थाले, जसको औसत नेपाल राष्ट्र बैङ्कले प्रकाशित गथ्र्यो । सुरुमा ब्याजदर नेपाल राष्ट्र बैङ्कको नियन्त्रणमा थियो तर बिस्तारै बजार र बैङ्कहरूलाई यो जिम्मेवारी दिइयो, जसले बैङ्कहरूलाई स्वतन्त्रता प्रदान ग¥यो । यी परिवर्तनले बैङ्किङ नियमहरूमा सुधार भयो र सञ्चालनको दायरा फराकिलो बन्यो ।

पहिले नेपाल राष्ट्र बैङ्कको नीति, कर्जा व्यवस्थापन र मौद्रिक नीतिहरू स्पष्ट र व्यवस्थित थिएनन्, बैङ्कहरूसँग केही स्वतन्त्रता थियो । तर, नियमन र सुधार बिस्तारै बढ्यो । सन् १९९० तिर ‘सीबी पास’ अध्ययनले कमर्सियल बैङ्कका समस्या र प्रणालीको सर्वेक्षण गर्‍यो । त्यसपछि सन् १९९८ मा एकीकृत निर्देशिका (युनिफाइड डाइरेक्टिभ) ल्याइयो, जसले छरिएका निर्देशिकाहरूलाई एकीकृत गरी सुधारको थालनी गर्‍यो ।

बैङ्किङ क्षेत्रमा नयाँ परिवर्तन

नेपाल अन्तर्राष्ट्रिय बजारमा जोडिएपछि सन् २००१ को अमेरिकाको ट्विन टावर घटनाले बैङ्किङ क्षेत्रमा ठूलो परिवर्तन ल्यायो । यसले मनी लन्ड्रिङ (धन शुद्धीकरण) र आतङ्कवादी वित्तपोषण रोक्ने विषयमा विश्वव्यापी ध्यानाकर्षण गरायो, जसको प्रभाव नेपालको बैङ्किङमा पनि पर्‍यो । फलस्वरूप, नेपालको बैङ्किङ प्रणालीले बासेल मापदण्ड र बैङ्क फर इन्टरनेसनल सेटलमेन्टका नियमहरू पालना गर्न थाल्यो, जसले अन्तर्राष्ट्रिय कारोबारमा सक्षमता बढायो ।

नेपाल राष्ट्र बैङ्कले पुँजी पर्याप्तता, जोखिम भार (रिस्क वेटेज) र कर्जा व्यवस्थापनका नियमहरू लागू गर्‍यो । मौद्रिक नीतिमार्फत ब्याजदरलाई नियन्त्रण गर्न बेस रेट प्रणाली सुरू गरियो, जसले पहिलेको स्वतन्त्र ब्याजदरलाई नियन्त्रित बनायो । कर्जा प्रवाहमा पनि सुधार भयो— पहिले वञ्चित क्षेत्रमा मात्र सीमित कर्जा अब उत्पादनमूलक क्षेत्रहरू (जस्तै हाइड्रोपावर र पर्यटन) मा विस्तार गरियो । कर्जालाई निर्देशित (डाइरेक्टेड ल्यान्डिङ) र स्वतन्त्र (फ्री ल्यान्डिङ) गरी दुई भागमा वर्गीकरण गरियो । यी सुधारहरूले नेपालको बैङ्किङ प्रणालीलाई बलियो र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाएको छ ।

डिजिटल बैङ्किङको फड्को

पहिले क्यासबुक र पासबुकमा आधारित बैङ्किङबाट अहिले मोबाइल बैङ्किङको युगमा पुगेका छौँ । तर, नेपालमा वित्तीय साक्षरताको कमीले गर्दा कतिपय व्यक्तिको आफ्नै गल्तीबाट बैङ्कमा भएको पैसा हराइरहेको छ । बैङ्कहरूको कमजोरी खासै देखिँदैन किनभने उनीहरूले आफ्नो आईटी प्रणाली राम्रोसँग व्यवस्थापन गरेका छन् । यद्यपि, ग्राहकमा वित्तीय साक्षरता नहुँदा समस्या भने देखिएका छन् ।

अहिले नेपालको बैङ्किङ क्षेत्र देशको जीडीपीभन्दा ठूलो बनिसकेको छ । बैङ्कका शाखाहरू देशभरि फैलिएका छन् र इन्टरनेटको पहुँच भएको ठाउँमा सबैले सहजै कारोबार गर्न सक्छन् । पहिले कागजी नोट बोकेर हिँड्नुपर्ने अवस्थाबाट प्लास्टिक कार्ड हुँदै अहिले क्यूआर कोडमार्फत भुक्तानी गर्ने चलन आएको छ । यी परिवर्तनले हामीलाई डिजिटल बैङ्किङतर्फ डोर्‍याइरहेका छन् ।

आधुनिक बैङ्किङको बदलिँदो स्वरूप

बैङ्किङ क्षेत्रमा ठूलो परिवर्तन आउँदैछ । म्यानुअल काम क्रमशः हट्दै जाँदा शाखारहित र डिजिटल बैङ्किङको अवधारणा अगाडि बढ्नेछ । मानिसहरूलाई तत्काल सुविधा चाहिएको छ— सोच्नासाथ काम होस् भन्ने अपेक्षा हुन्छ । त्यसैले, बैङ्किङ प्रणाली पनि सोही गतिमा अघि बढ्नुपर्छ । टेक्नोलोजी र फिनटेकले अब बैङ्किङको नेतृत्व गर्नेछन् र बैङ्कहरू बिस्तारै फिनटेक कम्पनीजस्तै बन्नेछन् । जति धेरै प्रविधिको प्रयोग हुन्छ, त्यति नै सहजै कर्जा प्रवाह र कारोबार वृद्धि गर्न सकिन्छ । तर, नेपाल राष्ट्र बैङ्क र नियामक निकायहरूले पनि यसअनुसार नियम बनाउन आवश्यक छ ।

प्रविधिमा आधारित बैङ्किङतर्फ जाँदा बैङ्कहरूले आफैँ सबै प्रविधि विकास गर्दैनन् । यो काम विभिन्न सप्लायर (प्रदायक) हरूबाट लिनुपर्छ । तर, ती सप्लायरको इमानदारी र गुणस्तर कसले जाँच्ने ? नेपालमा यस्तो नियामक संयन्त्र छैन । उदाहरणका लागि, मोबाइल बैङ्किङ एप तेस्रो पक्ष (थर्ड पार्टी) ले बनाएको हुन्छ र इन्टरनेट सेवा पनि अर्को थर्ड पार्टीबाट लिइन्छ । यो प्रक्रियामा धेरै पक्ष जोडिन्छन् । तिनलाई नियमन गर्ने जिम्मा कसको ? यो अझै अस्पष्ट छ । त्यसैले, वित्तीय क्षेत्रको प्राविधिक पक्ष हेर्न छुट्टै प्राधिकरणको आवश्यकता देखिन्छ ।

सूचना प्रविधिमा आधारित बैङ्किङ

नेपाल राष्ट्र बैङ्कले अहिलेसम्म कागजी नोट छापिरहेको छ तर अब बिस्तारै डिजिटल मुद्रातर्फ अघि बढ्दैछ । कतिपयलाई कागजी नोट नदेखे पैसा नै होइन जस्तो लाग्छ । यो भावनात्मक सम्बन्ध समयसँगै कम हुँदै जान्छ तर यसमा समय लाग्छ । त्यसैले, कागजी नोट र डिजिटल मुद्रा दुवै सँगसँगै चलाउनुपर्छ । नियामक निकायले पनि नयाँ तरिकाले नियमन गर्नुपर्छ । पहिले छ महिना वा वर्षमा एक पटक निरीक्षण हुन्थ्यो तर अब रियल टाइम निरीक्षण आवश्यक छ । यो काम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट गर्न सकिन्छ । कारोबार यति छिटो हुन्छ कि कारोबार गर्नेलाई नै थाहा नहुन सक्छ । त्यसको शुद्धता र नियत जाँच्न विशेष रिपोर्टिङ सिस्टम चाहिन्छ । यसरी बैङ्किङ क्षेत्र अब प्रविधि र सूचनामा आधारित भएर अघि बढ्छ ।

पहिले नगदमा बढी जोड थियो तर अब सूचना (इन्फर्मेसन) लाई पनि उत्तिकै महत्व दिनुपर्छ । बैङ्किङ प्रणाली यस्तो बन्दैछ कि हरेक कारोबार एकअर्कासँग जोडिन्छ । उदाहरणका लागि, राष्ट्रिय परिचयपत्र (नेसनल आईडी) जारी गरिएको छ । यो परिचयपत्र सम्भवतः सम्बन्धित निकायले व्यवस्थित गरेको होला, नागरिकता गृह मन्त्रालयबाट र सूचना प्रविधिको काम सञ्चार मन्त्रालयबाट भएको होला । यी मन्त्रालयबीच समन्वय र डाटाको स्वामित्व कसको हुने भन्ने प्रश्न उठ्छ । अहिले ग्राहकको डाटा बैङ्कसँग हुन्छ तर अब यो स्वामित्व व्यक्तिको हुनुपर्छ । व्यक्तिको जानकारी कति दिने र कसले कसलाई दिने भन्ने कुरा महत्वपूर्ण छ ।

उदाहरणका लागि, ग्राहकको जानकारी बैङ्क, राष्ट्रिय परिचयपत्र, मालपोत, स्टक एक्सचेन्ज र डिम्याट खातासँग जोडिँदा एउटा पूर्ण सूची बन्छ । यो जानकारी चुहिए दुरुपयोग हुन सक्छ । हाल बाफियाले डाटाको स्वामित्व बैङ्कलाई दिएको छ र बैङ्कले जानकारी बाहिर दिँदा कानुनी जिम्मेवारी नहुने व्यवस्था छ । तर, अब सबै कुरा जोडिँदा जानकारी आदानप्रदान गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कानुनी नियमहरूमा पनि परिवर्तन आवश्यक छ । यसरी अबको बैङ्किङ प्रणाली प्रविधि र सूचनामा आधारित हुँदै नगदरहिततर्फ अघि बढ्छ । (लेखक पूर्व बैङ्कर तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्डको सीईओ हुनुहुन्छ ।) समयबोध म्यागेजिनबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री