शनिबार, ३ साउन २०८२

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणमा स्थानीयको अवरोध, काम ठप्प

समयपोष्ट २०८१ चैत २ गते १३:०१

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम स्थानीय बासिन्दाले ठप्प पारेका छन्। खानेपानीलगायतका माग राख्दै चन्द्रागिरी नगरपालिका–२ का स्थानीयले आइतबारदेखि निर्माण कार्यमा अवरोध सिर्जना गरेका हुन्।

आयोजना व्यवस्थापनका अनुसार हाल काठमाडौं र धादिङ दुवैतर्फको निर्माण कार्य पूर्णरूपमा रोकिएको छ। स्थानीयको बारम्बारको अवरोधका कारण आयोजनाले अपेक्षित गति लिन सकेको छैन। आफ्ना मागहरू पूरा नभएसम्म निर्माण कार्य अघि बढ्न नदिने अडान स्थानीयले लिएका छन्। सुरुङको प्रवेशद्वार अगाडि मागसहितको ब्यानरसमेत झुण्ड्याइएको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले निर्माण कार्य रोकिएको र स्थानीयसँग छलफल गरी समस्याको समाधान खोज्ने प्रयास भइरहेको जानकारी दिए। यसअघि गत फागुन १८ गते धादिङतर्फका स्थानीयले पनि निर्माण कार्यमा अवरोध पुर्‍याएका थिए।

आयोजनाले कुनै अवरोध नभएमा २०८२ असोजभित्र सुरुङमार्गबाट सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखेको छ। तर, पटक-पटकको अवरोधले निर्माण कार्य प्रभावित बन्दै आएको छ। २०७६ कात्तिक ४ गते निर्माण सुरु भएको यो सुरुङमार्गको हालसम्म ८६ प्रतिशत काम सम्पन्न भइसकेको छ। मुख्य सुरुङको लम्बाइ २,६८८ मिटर र आपतकालीन सुरुङको लम्बाइ २,५५७ मिटर रहेको छ। अहिले सुरुङभित्र लाइटिङ, क्रंक्रिट सडक निर्माण र बलम्बुको किसिपिडीमा फ्लाईओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री