नियन्त्रणमा आयो मूल्यवृद्धि, उपभोक्ता मूल्य सूचकांक ४.१६ प्रतिशतमा झर्यो

माघ महिनामा देशको समग्र मूल्यवृद्धि नियन्त्रणमा आएको पाइएको छ। पुस मसान्तसम्म ५.४१ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक माघ मसान्तमा घटेर ४.१६ प्रतिशतमा झरेको छ। यो वृद्धिदर गत वर्षको सोही महिनाको तुलनामा कम हो। अघिल्लो वर्ष माघ महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

Advertisement

राष्ट्र बैंकको तथ्यांकअनुसार, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८० प्रतिशत, दाल तथा गेडागुडीको ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ। यद्यपि, मरमसला उपसमूहको मूल्य सूचकांक भने २.९८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्य सूचकांक १०.९१ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ५.३६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.०८ प्रतिशत, यातायातको ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१० प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.०७ प्रतिशतले बढेको छ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको ३.९६ प्रतिशतले बढेको छ।

प्रदेशगत रूपमा, माघ महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत, मधेस प्रदेशको ३.९१ प्रतिशत, बागमती प्रदेशको ३.३५ प्रतिशत, गण्डकी प्रदेशको ३.४० प्रतिशत, लुम्बिनी प्रदेशको ४.१६ प्रतिशत, कर्णाली प्रदेशको ४.०५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.७१ प्रतिशत रहेको छ।

Advertisement

यसैगरी, समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, तराईको ४.२५ प्रतिशत, पहाडको ४.११ प्रतिशत र हिमालको ५.२१ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री