जनकपुरमा पांग्रा छाडेर काठमाडौं अवतरण गर्यो बुद्ध एयरको जहाज


बुद्ध एयरको एटीआर ७२ जहाज जनकपुर विमानस्थलबाट पांग्रा बिना नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको घटना सार्वजनिक भएको छ। बिहीबार दिउँसो ४ बजे जनकपुरबाट काठमाडौंका लागि उडान भरेको उक्त जहाजको अगाडिको एउटा पांग्रा जनकपुरमै छुटेको र यो कुरा काठमाडौं अवतरण गर्ने बेलामा मात्र चालक दललाई थाहा भएको हो।

बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले यो घटनाको पुष्टि गर्दै भने, “हामीलाई पांग्रा जनकपुरमै छुटेको काठमाडौं आएपछि मात्र थाहा भयो। तर, अगाडिको पांग्रा नभए पनि जहाज सुरक्षित रूपमा अवतरण गरिएको छ।” उक्त जहाजको उडान नम्बर युफोर ५०६ रहेको र यो एएनएच नामक एटीआर ७२ जहाज भएको बताइएको छ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार जहाज पार्किङमा पुगेपछि मात्र पांग्रा नभएको थाहा भएको थियो। “हामीले जनकपुर विमानस्थलमा खोजी गर्दा पांग्रा धावनमार्गमै फेला पर्‍यो,” उनले भने। यो घटनाको अनुसन्धान सुरु भइसकेको र उक्त जहाजमा ६२ जना यात्रु सवार रहेको उनले जानकारी दिए।

यो घटनाले विमानको प्राविधिक जाँच र उडान सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ। प्राधिकरणले यसबारे थप विवरण संकलन गरी अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री