शनिबार, १५ वैशाख २०८१

सरकारले २ अर्ब रुपैयाँ भुक्तानी नदिएसम्म बीमा कम्पनीहरूले अब कृषि बीमा नगर्ने

समयपोष्ट २०८० फागुन २३ गते १५:१२

Advertisement

निर्जीवन बीमा कम्पनीहरूले सरकारले कृषि बीमा वापतको २ अर्ब रुपैयाँ भुक्तानी नदिएपछि कृषि बीमा नगर्ने भएका छन् ।

नेपाल बीमक संघले प्रेस विज्ञप्ती जारी गर्दै कृषि सम्बन्धि बीमालेखको पुरा बीमाशुल्क प्राप्त भएपछि मात्र बीमालेख जारी गर्ने बताएको हो ।

‘बीमा ऐन २०७९ अनुसार बीमालेखहरू उधारोमा जारी गर्न नपाइने भएकोले कृषि मन्त्रालय तथा विभागलाई पटक पटक जानकारी गराईएको हो । चैत्र १ गतेदेखि कृषिसँग सम्बन्धित बीमालेखको पनि बीमाशुल्क पुरा भूक्तान नभएसम्म बीमालेख जारी नहुने सर्वसाधारण तथा सरोकारवाला निकायलाई जानकारी गराउँदछौ,’ बीमक संघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको छ । विगत १० वर्षदेखि बीमा कम्पनीहरूले नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बीमालेख जारी गर्ने, क्षती हुँदा क्षतीको दाबी भूक्तानी गर्ने गरेका छन् । तर, सरकारले तोकेको अनुदान १ वर्षपश्चात् प्राप्त हुने गरेको बीमक संघले बताएको छ ।

सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरूलाई दिन हालसम्म २ अर्ब रुपैयाँ बाँकी रहेको बीमक संघले जनाएको छ । उक्त अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुपछि मन्त्रालय, कृषि विभाग र बीमा प्राधिकरणलाई पटक–पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत नपाएको गुनासो बीमा कम्पनीहरूको छ । उक्त रकम नपाएका कारण बीमा कम्पनीहरू अत्यधिक जोखिममा रहेका उनीहरूको दाबी छ । साथै, बीमक संघले कृषिसँग सम्बन्धित बीमालेख र दाबी भूक्तानी स्थगन गरिएको पत्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री