
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत आज भएको फाइनल खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै । तस्बिर : किरणराज विष्ट/रासस
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनायो ।
नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए ।
दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् ।
पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छ/छ रन बनाए ।
नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्राण्ड एङ्गलब्रेक्टले समान दुई/दुई विकेट लिए ।








प्रतिक्रिया